कथा : बैकल्ले

खेमराज पोखरेल
३० मंसिर २०८० ७:३९

त्यसै पनि मान्छे अमेरिका अमेरिका भन्छन् त्यसमाथि अमेरिकाको सबैभन्दा ठूलो राज्य टेक्सासको राजधानी अस्टिनमा नेपालीहरु ओइरो लागेका छन्। ‘लुप वे’ अर्थात् चक्रपथको एउटा कुनामा नेपालीहरु मिलेर खोलेको एउटा नेपाली रेस्टुरेन्ट छ।

नेपाली खानाको लागि त्यो रेस्टुरेन्ट प्रशिद्घ छ। नेपालीहरुले नेपालमा भएका आमाबाबु बिर्से होलान्, देश र परिवेश बिर्से होलान् आफ्नो घर जाने बाटो बिर्से होलान् तर नेपाली दालभातको स्वाद लिन प्रायः हरेक नेपाली त्यो रेस्टुरेन्ट पुगेकै हुन्छ।

नेपाल छोडेपछि पनि त्यसले नेपाल भने सम्झाइरहन्छ। दीपेश कहिलेकाहीँ एक्लै त्यो रेस्टुरेन्ट पुग्छ र आफ्नो जीवनको गमलाई नेपाली दालभातसँग मिसाउँछ। आज ऊ कुनाको टेबुलको कुर्सीमा बसेर खाने कुरा पर्खिरहेको थियो।

एउटा नेपाली केटी सरासर उसको अर्कोतर्फको टेबुलमा पुगी। उसले हेर्‍यो। स्निग्ध, शान्त, सुन्दर र सफा देखिने यो केटी उही अर्चना त होइन?। त्यो केटीले पनि उसलाई टक्क उभिएर हेरी, एकछिन घोरिई र भनिहालीः

‘तपाईँ दीपेश होइन ?’

‘हो अनि तपाईँ अर्चना ?’

‘यस्, बिर्सनु भएको रहेन छ’

‘जीवनलाई त्यति सजिलै बिर्सन कहाँ पाइन्छ र?’

‘अनि तपाईँ एक्लै?’

‘हो, मान्छे एक्लै जन्मन्छ र एक्लै मर्छ पनि। बिचका कुराहरु पानीका फोका जस्ता हुन्’

‘ओ यस्, म तपाईँको टेबुल सेयर गरौं?’

‘सियोर, ह्वाइ नट ?’

‘अनि तपाईँले अमेरिकामै बिहे गर्नु भो त?’

‘…………………………’ दीपेश केही बोलिरहेको थिएन।

‘हेल्लो दीपेशजी, म केही भन्दै छु नि’

‘मैले त बिहे नेपालमै गरेको हो नि, तपाईँले पक्का बिर्सनु भएको छैन होला’

‘मैले त्यो ख्याल ख्याल बिहेको कुरा गरेको होइन। साँच्चिकै बिहेको कुरो सोधेको पो त’

‘तपाईँ सम्झनुस् मैले बिहे गरेको छु’

‘अनि अरु सुनाउनुस्, तपाईँकी श्रीमतीसँग भेट गराउनु हुन्न?’

‘खासमा मैले अर्को बिहे गरेकै छैन, जीवनलाई मिलाउँदा मिलाउँदैमा समय नै मिलेन। अनि तपाईँले ब्वाइ फ्रेन्डसँग बिहे गर्नुभयो?’

‘भो छोड्नुस् यो कुरा। अरु नै कुरा गरौं’

नेपाली खाना भात आइ पुग्न केही समय बाँकी थियो। रेस्टुरेन्टभित्र आइरहेको इन्डियन बासमती चामलको भातको कृत्रिम गन्धले पनि उनीहरु झन् भोकाएका जस्ता देखिन्थे। अहिले दीपेश उठेर हिँडे ‘रेस्ट रुम’तिर गएको छ। अर्चना सोचमग्न भइन्।

०००००००

‘आमा मेरो केटा छ। मेरो ब्वाइफ्रेन्ड छ। म उसैसँग बिहे गर्छु। मेरो जीवन जे होला मै बाँच्छु। हजुरलाई दोष लगाउँदिनँ’ अर्चनाले आफ्नी आमालाई भनेकी थिइन्।

त्यसो त अर्चना आफैँ पनि मानवशास्त्रमा मास्टर सकेर जागिर खोजिरहेकी थिइन्। जीवनमा कुन ठिक कुन बेठिक छुट्याउन सक्ने भएकी थिइन्।

‘छोरी जीवन त्यति सजिलो छैन तिमीले सोचेजस्तो। अहिले अमेरिकाबाट आएको केटो अकबरी छ। मेरी माइजूको सानीमाको छोरो हो। चिने जानेको। विचार गर है’

‘यो पक्का हो आमा म मेरै ब्वाइफ्रेन्डसँग बिहे गर्छु’

‘तिमीले पहिले भनिनौ, मैले त तिम्रो बिहे त्यही अमेरिकाको केटासँग गर्ने भनेर वचन दिइसकेँ’

‘म यो बिहे गर्न सक्तिनँ’

‘समाजमा, आफन्तमा हाम्रो इज्जत जाने भो छोरी। म कसकसलाई के जवाफ दिऊँ? मेरी छोरी त्यो अछामे भाटसँग जाने भई भनूँ?’

‘म आफ्नो स्वतन्त्रतालाई समाजसँग साट्दिनँ आमा । जे भन्नुस् मेरो विचार अटल छ’

आमा निरास भइन्। उनका आँखा रसाएका थिएछन्। आफ्ना बितेका पतिलाई सम्झिन थालिन्ः ‘कम्तिमा उहाँ भएको भए पनि यो समस्या उहाँले आधा बोक्नु हुन्थ्यो’

‘छोरी, त्यो केटासँग बिहे चाहिँ गरिदे। बाँकी तँ बुझ्। छोडपत्र गरिस् भने पनि म केही भन्दिनँ’ यसो भनिरहँदा आमाका आँखाका डिल रसाएका थिए।

अर्चनाको बिहे दीपेशसँग यसरी भएको थियो। धुमधामसँग भएको थियो। सारा समाज, आफन्त तथा साथीभाइले रमाएर बिहेमा रमाइलो गरेका थिए। बिहेपछि अन्भिएर दीपेशको घर पुगेकी अर्चनाले सुहागरातको दिन दीपेशसँग भनिन्ः

‘मलाई नछुनुहोस्, म कसैकी भइसकेकी छु। मेरो ब्वाइफ्रेन्ड छ। म उसैसँग बिहे गर्छु’

‘हो, मलाई थाहा छ। तपाईँ र मेरो यो बिहे ख्याल ख्याल हो। तपाईँकी आमाले मलाई सबै थोक भनिसक्नु भएको छ’

‘अनि किन बिहे गर्न राजी हुनुभएको त? बिहे नै गर्दिनँ भनेको भए त टन्टै खलास हुन्थ्यो नि’ अर्चनाले भनेकी थिइन्।

‘कुरा हो। तर मेरा बुढो हुनु भएका हजुर्बा र हजुरआमाले नाति आउँछ बिहे गर्न भनेर जीवनकै सबैभन्दा ठूलो उच्छ्वास पाल्नु भएको थियो।

बिहेको सबै तयारी भएको थियो। यो सामाजिक अपगाल सहने क्षमता मेरा हजुर बा, हजुरआमा तथा आमा बाबुसँग थिएन। तपाईँकी आमाको आँखाको आँसु पनि मैले देख्न सकिन। तपाईँकी आमा भन्दै हुनुहुन्थ्यो कि नेपाली केटी बिहेपछि ब्वाइ फ्रेन्डलाई बिर्सेर बिहेलाई नै अँगाल्न पुग्छन्। उहाँको झिनो आशा नै सही। त्यसैले तपाईँसँग बिहे गर्न म राजी भएँ’

‘अनि’

‘नडराउनुहोस्, म तपाईँलाई छुन्नँ। तर पार्टीको दिनसम्म पर्खनुहोस्। पाहुना बिदा हुन दिनुहोस्। दुरान फर्काउन दिनुहोस्। सबैकुरा साँच्चैजस्तो यन्त्रवत चल्नुपर्छ। म अमेरिका जाने बेलामा तपाईँलाई छोडपत्र गरेको कागज दिएर जान्छु। जीवनमा दस बिस लाखको के महत्व हुन्छ र?

सबै दोष मलाई नै लगाइ दिनुहोला। त्यसले गर्दा समाजले तपाईँलाई सान्त्वना दिन्छ। मलाई के? म त अमेरिका पुगिहाल्छु। त्यहाँ नाटीकुटी गर्ने फुर्सद कसलाई हुन्छ र? त्यसपछि म स्वतन्त्र। तपाईँ स्वतन्त्र’

०००००००

‘अरे अर्चनाजी, कहाँ हराउनुभयो? अघिदेखि म हेरिरहेको छु, तपाईँ टोलाइरहनु भएको छ’ दीपेशको स्वरले अर्चना ब्युँझिइन्। भात आइपुगेको थियो। भातले सुवास फ्याँकिरहेको थियो। सधैं चुरिफुरी गर्ने अर्चना उदास भएकी थिइन्।

‘अनि अँ अर्चनाजी, तपाईँले त्यो ब्वाइ फ्रेन्डसँग बिहे गर्नुभयो होला। के ऊ पनि अमेरिकामै छ?’
अर्चनाले कुनै जवाफ नदिएर रेस्टरूमतिर गइन्।

०००००००

‘मैले तिमीसँग बिहेभन्दा पहिले नै सल्लाह गरेकी हुँ। त्यसबेला ‘गुड आइडिया’ भन्यौ। अहिले यसो भनेर धर पाउँछौ?’ अर्चनाले ब्वाइ फ्रेन्डसँग भनेकी थिइन्।

‘के गर्ने अर्चना? तिम्रो बिहेभन्दा पहिले त मेरो बाआमा पनि तयार हुनुहुन्थ्यो। अहिले भन्नुहुन्छः अर्काले जुठ्याएकीलाई हामी बुहारी भनेर भित्र्याउँदैनौं। म एक्लो छोरो म त के गर्नु न नगर्नु पो भएँ’

‘तिमी विश्वास गर, उसले मलाई छोएन। म पूर्ववत् पवित्र छु’
‘त्यो कुरा म त पत्याउँछु। आधुनिक युगमा छोएकै भए पनि मलाई त फरक पर्दैन तर म कसकसलाई भनूँ? अर्चना पवित्र छे। आमाबालाई म

कसरी मनाऊँ?, समाजमा कसकसको मुख टालूँ?’

‘के म अपवित्र भएँ ?’

‘होइन तिमी अपवित्र होइनौं। बिहे भएर पनि बिहे नभएकी बैकल्ले भयौं, सामाजिक जीवनबाट मुक्ति पायौ, बैकल्ले मुक्ति’

‘अब के गर्ने त ?’

‘म बरू बिहे नगरी बस्न सक्छु। तर तिमीलाई बिहे गर्न सक्तिनँ’

०००००००

अर्चना रेस्टरूमबाट फर्केकी छिन्। दीपेश उनलाई पर्खेर बसेको छ।

‘अर्चनाजी, चाँडै आउनुहोस्। खाना सेलाएको छ’
‘हुन्छ, अब खाऔँ’

‘भन्नुहोस् न अर्चनाजी, तपाईँले ब्वाइ फ्रेन्डसँग बिहे त गर्नुभयो’

‘अहँ बिहे भएन। तपाईँसँग भएको बिहे, त्यो ख्यालख्याल बिहेले मलाई बैकल्ले बनायो’

‘बैकल्ले भनेको के हो ?’

‘बिहे भएर पनि बिहे नभएकी स्वास्नीमानिसको अवस्था, सामाजिक जीवनबाट मुक्तिको अवस्था, सामाजिक जीवन त्यागको अवस्था’
‘ओ, सरी’

०००००००

अर्चना आफ्नो अतीततिर फर्केकी थिइन्। ब्वाइ फ्रेन्डले धोका दिएपछि उनका जीवनमा सामाजिक अपहेलनाको पहाड खसेको थियो। उनी दीपेशलाई भन्दै थिइन्ः

‘मेरो भर्जिनिटी त्यसै त्यसै गाउँभरि छताछुल्ल भयो। कसकसलाई मात्र भन्नु कि म भर्जिन छु, त्यो बिहे ख्याल ख्याल थियो, सामाजिक विसङ्गतिलाई महत्व दिँदा बिहे भयो। र त्यो निर्णय गलत थियो’

‘हो, हामीले बिहे नगर्नु पथ्र्यो’ दीपेश बोल्यो।

‘हो म भाग्यमानी पनि रहिछु कि मलाई इ.डी.भी. पर्‍यो। सारा समाज, सामाजिक बन्धन, त्यो धोखेवाज ब्वाइ फ्रेन्ड, आमा र परिवार सबैका सबै छोडेर अमेरिका आएँ। र म चाहन्छु कि विगतलाई बिर्सौं’

‘विगतलाई बिर्सन त्यति सजिलो कहाँ हुन्छ र ?’

‘तर म चाहन्छु कि बिर्सूं’

‘यो विगत भन्ने कुरा यति डरलाग्दो हुन्छ कि न यसलाई बिर्सन सकिन्छ, न सम्झेर काम दिन्छ। हेर्नुहोस् त मान्छेहरु बलजफ्ती इतिहास खोज्छन्, नभए पनि हो भन्छन् र रमाउँछन् भने कोही मान्छे भएको पनि बिर्सन चाहन्छन् तर बिर्सन सक्तैनन्’

टेबुलमा वेटर थप अर्डरका लागि आएको थियो। उनीहरुले बिल मागे।

०००००००

‘अनि तपाईँ त लोग्नेमान्छे बिहे किन नगर्नु भएको त ?’ अर्चनाले प्रश्न तेस्र्याइन्।

‘खोइ किन किन, समय नै भएन। सधैं जीवन बाँच्ने दौडमा कुद्दा कुद्दै कहाँ हराइयो पत्तै भएन’

‘अनि जीवन एकलै बित्छ?’

‘खोइ, बित्ला। बितेकै छ’

‘अनि यौन?’

‘यो एउटा सानो समस्या हो। जैविक समस्या। जैविक आवश्यकता त हो तर हावापानी, खानपिनजस्तो अति आवश्यक होइन’

‘अनि बिहे ?’

‘यो त ऐच्छिक हो, मान्छेको स्वतन्त्रताको चेतमा भर पर्छ’

‘यो कुरा महिलालाई पनि लागु हुन्छ?’

‘हो हुन्छ। यौन सम्पर्कबाट मान्छे अपवित्र हुन्न। अस्पर्शी पनि हुन्न। पश्चिमा शास्त्र मात्र होइन, हिन्दु शास्त्र पनि भन्छन् कि जब महिलाको रजस्वला हुन्छ, त्यसपछि उनी स्निग्ध, स्वच्छ र भर्जिन हुन्छिन्। भैरवीतन्त्रले पनि महिलाको गम्यतामाथि प्रकाश पारेको छ। तान्त्रिक विधिले कुनै पनि महिलालाई अस्पृसा र अगम्या मान्दैन। सधैं पवित्र, सधैँ भर्जिन’

‘अनि पूर्वीय दर्शनले त महिलामाथि बन्देज लगाएको छ नि, होइन र?’ अर्चनाले प्रश्न गरिन्।

‘पुरूषले जति गम्य गरे पनि ऊ अपवित्र नहुने र महिलाले आफ्नो सतीत्व वा भर्जिनिटीको प्रमाणपत्र सधैं ‘रिन्यु’ गरिरहनु पर्ने रीति भगवान्ले बनाएका होइनन्। यो त सामन्ती समाजले महिलालाई सम्पत्ति जस्तै निजी बनाएकाले यस्तो भएको हो’ दीपेश आफ्नो भनाइ राखिरहेको थियो।
अर्चनाले उदास हुँदै भनिन्ः ‘यो कुरा सम्झँदा म कहिलेकाहीँ दुःखी हुन्छु, पुरूषबाट मैले नै धोका खाएँ र पनि खोइ महिला मुक्तिका लागि केही गर्न सकिनँ। समाजका विरूद्ध आवाज पनि उठाउन सकिनँ। भागेर अमेरिका आएँ’

‘अहो, तपाईँ पनि दु:खी?, तपाईँले त समाजसँग विद्रोह गर्नुभएको छ। आफ्नो अनुकूल निर्णय गर्नुभएको छ। यो कुरा अलग हो कि तपाईँले गरेका निर्णयहरु तपाईँ अनुकूल भएनन्। मान्छेका जीवनमा उनीहरुले गरेका निर्णयहरु ठिक नै हुनुपर्छ भन्ने छैन नि। अँ दुःखकै कुरा गर्ने हो भने अमेरिकामा भएका प्रायः सबै नेपाली दुःखी छन्। यो दुःख उनीहरुले नेपालबाटै ल्याएका हुन्’

‘कसरी ?’ अर्चना जिज्ञासु बनेकी थिइन्।

‘नेपालको जीवन, सभ्यता र संस्कृति छुट्टै हो, मान्नुस् कि मिठाइ हो। स्वादिलो गुलियो मिठाइ। वर्षौदेखिको पुर्खाको भोगाइबाट निःसृत भएको हो। त्यसैगरी अमेरिकाको जीवन, सभ्यता र संस्कृति पनि छुट्टै हो, मान्नुस् कि मासुको परिकार हो। स्वादिलो परिकार।

नेपालबाट आएको पहिलो वा दोस्रो पुस्ता यही मासु र मिठाइलाई मिसाएर खान खोज्छ। हामी यी दुवै स्वादहरु भोकाएको भिखारीले जस्तो एकैपल्ट खान खोज्छौँ। र भन्नुस् त स्वाद कस्तो हुन्छ? हो त्यही स्वादमा हामी नेपाली अभिशप्त दुःखी भएर बाँचेका छौँ’

‘अब जाऔँ, फेरि भेट्ने है’

‘हो। हुन्छ। तर समय जस्ताको तस्तै दुरूस्त उस्तै कहिल्यै भेटिन्न’

तैपनि वाचा त हो नि’

‘वाचाहरु वाइह्यात हुन्, झुट। के तपाईँको ब्वाइ फ्रेन्डले वाचा निभायो?’

‘ऊ त जाली निस्क्यो’ अर्चनाले मन अमिलो पारिन्।

‘मान्छे जाली छ। उसको चेत जाली छ। मैले पनि त मेरा हजुर बुबा, हजुर आमाका लागि तपाईँलाई बैकल्ले बनाएँ नि होइन र? म जाली भइनँ

र?’

‘अब जाऔँ, मसँग गाडी छ’ अर्चनाले भनिन्।

‘के गर्ने अर्चनाजी, सँगै जाऔँ भने तपाईँसँग आफ्नै गाडी छ, मसँग पनि आफ्नै गाडी छ, तपाईँको आफ्नै ‘म’ छ र मेरो आफ्नै ‘म’ छ। सँगै जान एकको मृत्यु आवश्यक छ’

०००००००
दुइटै गाडी अलग अलग आआफ्नै गन्तव्यतर्फ हुइँकिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *