खुट्टामै ढोग्न हुन्छ त ? 

हरिप्रसाद सोडारी
२० पुष २०८० ११:२८
548
Shares

आमाबुबा, गुरु-महात्मा, पूजनीयजन, देवीदेवता आदिलाई बिहानै ढोग्नु हाम्रो संस्कार र कर्तव्य हो। नाताअनुसार पाउ छुने, हात वा खुट्टामा ढोग्ने, नमस्कार गर्ने वैदिक विधिहरू छन्। बिहान पृथ्वीलाई ढोग्दै उठ्ने, सुत्दा देवीदेवतालाई मनसा नमन गर्ने हाम्रो नियम नै छ।

अभिवादनले व्यक्तिलाई अनुशासित, समाजलाई मर्यादित, संस्कृतिलाई संगठित, सम्बन्धलाई प्रगाढ बनाउँछ। उमेर र ज्ञानले जेष्ठ, त्याग र अध्ययनले पूजनीय, नाता र योगदानले श्रेष्ठ, कुनै पनि सभा, सभापतिसहित विशिष्ट व्यक्तिहरूलाई अभिवादन गर्ने आफ्नै सामाजिक, शास्त्रीय एवं स्थानीय नियमहरू छन्।

देवताका राजा इन्द्र सभामा आउँदा सबै उठेको, ठूलाबुबा भए पनि भीष्मपितामहले राजसभामा  धृतराष्ट्र आउँदा उठेर सम्मान गरेको चर्चा ग्रन्थहरूमा पाइन्छन्। देवीदेवता, आमा-बुबा, गुरु-महापुरुष, स्वाहा र स्वधालाई नित्यनियमले नमस्कार गर्नु हाम्रो धार्मिक एवं सांस्कृतिक पहिचान हो।

ऋग्वेद(२।३३।१२) मा बुबा र सज्जनलाई ढोगेको चर्चा छ, बालक, युवा र वृद्धलाई नमस्कार गरेको वर्णन छ। खुट्टामा शिरले ढोग्नु, खुट्टामा हातले छोएर (चरणस्पर्श) शिष्टाचार गर्नु, हातमा ढोगिदिनु, ‘म फलानो हूँ भनी अभिवादन गर्नु, शरीरलाई भूइँमा सुताएर साष्टाङ्ग ढोग्नु यी पाँच प्रकारका ढोग लोकप्रिय छन्। छाती, टाउको, आँखा, मन, वचन, खुट्टा, हात र घुँडा आठ अङ्गलाई पृथ्वीमा छुवाएर समर्पित हुनुलाई साष्टाङ्ग ढोग भनिन्छ ।

परसंस्कृतिग्रहण, पाश्चात्यको प्रभाव, बढ्दो तामसी प्रवृत्तिले पूज्यजनहरूलाई चरणस्पर्श गर्न लजाएको, हिच्किचाएको देखिन्छ। नमस्कारले अरूलाई मात्र सम्मान गर्दैन आफू पनि सम्मानित हुन्छ। अरूलाई सम्मान नगर्ने तर अरूले आफूलाई मान गरिदिएन भनेर चित्त दुःखाउनु भनेको निमको बिरुवा रोपेर अङ्गुर खान खोज्नु जस्तै हो।

इतिहासका केही नमस्कार रोचक र प्रेरणादायी छन्। महादेव आउँदा विष्णु, ब्रम्हालगायतका देवीदेवता उठेर स्वस्ति भनेको, मर्न लागेका रावणलाई लक्ष्मणले नमस्कार गरी ज्ञान लिएको, राजा जनकसमेत गुरुहरू आउँदा उठेको, अभिमन्युको शवलाई कर्णले नमस्कार गरेको, दाहिने हातको बुढीऔँला चढाएर पनि एकलव्यले आचार्य द्रोणलाई नमन गरेको पौराणिक घटनाहरू निकै मार्मिक छन्।

भनिन्छ- दुर्जनं प्रथमं वन्दे सज्जनं तदनन्तरम् अर्थात् पहिले मूर्खलाई वन्दना (नमस्कार) गर्नु त्यसपछि विद्वान्लाई। जागिरका लागि, पदका लागि, स्वार्थका लागि मात्र होइन संस्कृति र इतिहासको संरक्षण गर्दै समाजलाई मर्यादित र सभ्य बनाउन नमस्कार गर्नुपर्छ। नमस्कारले शत्रुलाई पनि हात जोड्न एवं आशीर्वाद दिन बाध्य गराउँछ।

मन्त्री हुँदा नेपाल आएका अटलविहारी वाजपेयीले राजा वीरेन्द्रलाई खुट्टामा ढोगेको समाचारले त्यतिबेला निकै तरंग ल्याएको थियो । भारत र पाकीस्तानको सम्बन्ध तिक्त रहेको समयमा नेपालमा भएको सार्क सम्मेलनमा भाग लिन आएका तात्कालिक भारतका प्रधानमन्त्री अटलविहारी वाजपेयी र पाकिस्तानका राष्ट्रपति परवेज मुसरफले नमस्कार गरी हात मिलाएको विषयले निकै चर्चा पाएको थियो। यस्तै सार्ककै बैठकमा मोदी र नवाज सरिफको नमस्कारको विषय लोकप्रिय भएको थियो।

अभिवादनशीलस्य नित्यं वृद्धोपसेविनः ।
चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशो बलम् ।।
-मनुस्मृति (२।१२१)

अर्थात्, “शिष्ट तरिकाले अभिवादन (नमस्कार) गर्ने, वृद्धवृद्धाहरूको नित्यसेवा गर्नेको आयु, विद्या, यश र बल बढ्दछ।” नमस्कारले शत्रुता घटाउँछ, अहंता हटाउँछ, आत्मीयता बढाउँछ। खराब व्यवहार र चिन्तनलाई उठ्न दिँदैन। श्रेष्ठ, योग्य, दक्ष, त्यागी, तपश्वीमा रहेको पुण्य उहाँहरूलाई नमस्कार गर्दा हामीलाई प्राप्त हुन्छ। विश्वकै प्राचीन शास्त्र ऋग्वेद (१।१।१)ले भनेको छ– अग्निमीडे…, म अग्नि देवताको प्रार्थना गर्दछु।

शुक्लयजुर्वेद (१६।४१)ले भनेको छ-नमः शिवायचशिवतरायच (शिवस्वरूप भगवान्लाई नमन गर्दछु) । आयुर्वेदले भन्छ–ज्येष्ठाय ब्राम्हणे नमः सबैभन्दा जेठो ब्रéलाई नमस्कार गर्दछु। दुर्गासप्तशतीमा भनिएको छ- नमश्चण्डिकायै (चण्डीलाई नमस्कार) ।

मनुले भने-‘ब्रम्हारम्भेवसाने च पादौ ग्राहौ गुरोः सदा वेद अध्ययनको आरम्भ र अन्तमा गुरुलाई नित्य ढोग्नुपर्दछ। हामीलाई संस्कारले मात्र होइन शास्त्रले नै ढोग्न सिकाएको छ। ढोग्नु मानवको पहिचान हो । पशुपंक्षीले ढोग्न र सम्मान गर्न जान्दैनन्, प्रशिक्षित गरायो भने अभिनयमात्र गर्न सक्छन्।

अभिवादनकै संस्कारले मूर्तिमा देवीदेवता, सूर्यमा परमात्मा, गोबर र दुबोमा गणेश, पीपल र तुलसीमा विष्णु, पानीमा वरुण, गाईमा लक्ष्मीलगायतका देवीदेवतालाई दर्शन गर्न सकिन्छ। शिरलाई उचित ठाउँमा झुकाउनेहरूले दुनियाँलाई पाठ पढाउन र बाटो देखाउन सक्छन्।

सिद्धपुरुषहरूका खुट्टाको बुढीऔँला र हत्केलामा अथाहा शक्ति हुन्छ। यहीँबाट उनीहरूले अरूमा शक्ति प्रत्यारोपण गर्दछन्। विवेकानन्दले रामकृष्ण परमहंससँग ईश्वर देखाइदिन अनुरोध गरे। परमहंसले विवेकानन्दलाई खुट्टाको बुढीऔँलाबाट शक्ति प्रत्यारोपण गरी ईश्वर देखाइदिन खोजे।

विवेकानन्दले खुट्टाको बुढीऔँला छोएपछि विस्तारै पृथ्वी घुम्न लागेजस्तै भयो र यो क्रम बढ्दै जाँदा विवेकानन्द आत्तिए। विवेकानन्दलाई यो घटनापछि ईश्वर छ भन्ने विश्वास लाग्यो र रामकृष्णका शिष्य बने। यस्तै घटना कालिञ्चोकबाबाका साथ एक विज्ञानका प्राध्यापकसँग भएको चर्चा कलमीलाई सुन्ने सौभाग्य मिलेको थियो।

अग्रज, विद्वान् एवं साधकहरूको खुट्टा छुनु भनेको दासत्व स्वीकार गर्नु होइन, आशीर्वाद लिनु, शक्ति ग्रहण गर्नु हो। निद्रामा ऐठन हुँदा खुट्टाको बुढीऔँला चलाउन सके यस्ता समस्या रहँदैनन्। हत्केलामा शक्ति हुनेहुँदा उत्तानो परेर सुत्दा हत्केलालाई छातीमाथि राख्न हुँदैन।

साधकहरूले हत्केला शिरमा राखिदिए शक्ति दिन सक्छन्। शक्तिपात (हिलिङ) यसैको एक अंश हो। हत्केलामा विधाताले पूर्वजन्मको आधारमा कर्मफलका रेखा कोर्छन्। अध्ययन र अनुभवले खारिएका हस्तविद्हरूले हातकै रेखाबाट तीनैकालका बारेमा थाहा पाउँछन्।

हत्केलाले जीवन र दैवीशक्तिको रहस्य बोकेको हुन्छ। बुढीऔँलाले मात्रै टेकेर गौरीशंकरहिमालमा साधना गरी विश्वामित्रले गायत्री मन्त्र प्राप्त गरे।  हातले आकाशीय र खुट्टाले पृथ्वीमा अन्तर्निहित शक्ति लिएर अरुलाई दिन सक्छ। उचित रूपमा उपयोग गर्न सके हत्केला र खुट्टाका औँला शक्तिका सुचालक हुन्। यसकारण हत्केला एवं खुट्टामा ढोग्नाले ढ्वाङ, ढर्रा र ढुलमुले बुद्धिको नाश गर्छ।

अयं मे हस्तो भगवानयं मे भगवत्तरः।
अयं मे विश्वभेषजोयं शिवाभिमर्शनः ।।
-ऋग्वेद (१०।६०।१२)

अर्थात्, “यो हात अधिक गुणकारी छ, मेरा हातमा सबै रोगका औषधि छन्, मेरा हात स्पर्श गर्ने आरोग्यवाला हुन्छ।” अकुप्रेशरविज्ञहरूले हातका विभिन्न स्थानमा दबाएर उपचार गर्दछन्।  हातको सम्बन्ध शरीरका विभिन्न अंगसँग हुन्छ ।

नाडीको धड्कन छामेर रोग पत्ता लगाउने एवं हातका विभिन्न स्थानमा थिचेर उपचार गर्ने पद्धति लोकप्रिय थियो। कालक्रमले यी ज्ञानहरू अहिले लोपोन्मुख अवस्थामा छन्। पैतला पानीमा राखी टाउको दुःखाई, रक्तचापलगायतका रोग नियन्त्रण गर्ने विधि एकादेशका कथा बनेका छन्।

खुट्टाले मानिस उभिन्छ, हिँड्छ र गन्तव्यमा पुग्दछ। वामन रूप धारण गरेका विष्णुले बलिसँग जम्मा तीन पाउ जमिन मागे। पहिलो पाउले पृथ्वी, दोस्रोले अन्तरिक्ष ढाकेपछि तेस्रो पाउले शिरमा टेकेर राक्षसराजको अन्त्य गरेका थिए। यसबाट बलिको मुक्ति भएको थियो।

भनिन्छ- “भगवान् विष्णुको चरणामृत पिउनेले फेरि जन्मनुपर्दैन, अकाल मृत्यु हुँदैन र सबै प्रकारका रोगहरूको नाश हुन्छ।” कतिपयले मूर्तिको शिरमा ढोग्छन्, वास्तवमा खुट्टामा ढोग्नुपर्छ। घ्यू, मह, दूघ आदिले स्नान गराएका मूर्तिहरू बलिया र शक्तिशाली हुन्छन्।

मूर्तिकै ऊर्जाले मन्दिरनजिकका नदी पवित्र हुन्छ, माटो र खरानीलाई विभूतिमा रूपान्तरण गर्छन्, बिरुवाहरू ऋषि बन्छन्, बाँदर पनि हनूमान् हुन्छन्, गोरुलाई नन्दीका रूपमा पूजिन्छ, बोकाले भैरवको उपाधि पाउँछ, सर्पलाई नागस्वरूप र जोगीलाई ऋषिका रूप मानिन्छन्।

नेपालका हरेक क्षेत्रमा साधुसन्तको योगदान स्तुत्य छ। राजादेखि रङ्कसम्मले विद्वान् एवं साधुसन्तको खुट्टामा ढोग्ने, मार्गदर्शन माग्ने, आशीर्वाद लिने गर्थे। नमस्कार र ढोग मानिसलाई मात्र होइन जीवजन्तु, वनस्पति र पशुपंक्षीलाई समेत गर्ने चलन छ।

गाईलाई आमाको रूपमा, साँढेलाई पिताका रूपमा, सर्पलाई नाग देवताका रूपमा, कुकुरलाई भैरवका रूपमा, बाँदरलाई हनूमान्का रूपमा, तुलसी र पीपललाई विष्णुका रूपमा, वरलाई महादेवका रूपमा ढोगिन्छ।

आस्था, श्रद्धा, विश्वास, आत्मीयताविनाको देखावटी  नमस्कारले प्रतिफल दिँदैन। भक्तिपूर्वक गरेको नमस्कारलाई अरूले स्वीकार नगरे पनि घाटा हुँदैन, निरर्थक जाँदैन। समयक्रमसँगै त्यो आशीर्वाद बनेर आफ्नै कल्याण गर्छ।

पतितं तोयं यथा गच्छति सागरम्।
सर्वदेवनमस्कारः केशवंप्रति गच्छति।।

अर्थात्, “आकाशबाट पानी जहाँ परे पनि ढिलो चाँडो जसरी सागर (समुद्र)मा पुग्दछ, त्यसरी नै सबै देवीदेवतालाई गरेको नमस्कार अन्तमा केशव (परमात्मा)मा पुग्छ।” नमस्कार स्वीकार नगर्ने व्यक्तिलाई असभ्य र अव्यावहारिक मान्दछन्। कविशिरोमणि लेखनाथ पौडेलले- फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र? भन्नुभएको छ।

बुझेको, जानेको व्यक्ति झुक्छ, अरूलाई शिष्टाचार गर्छ। अग्रजलाई हात नजोड्ने, अभिवादन गर्न नउठ्ने, ढोग गर्दा शिर नझुकाउनेको शिर र हातको गरिमा हुँदैन। परम्परालाई जोगाउन, अरुलाई सिकाउन, सन्ततिलाई पाठ पढाउन पनि ढोग्नुपर्छ।

भनिन्छ- दुर्जनं प्रथमं वन्दे सज्जनं तदनन्तरम् अर्थात् पहिले मूर्खलाई वन्दना (नमस्कार) गर्नु त्यसपछि विद्वान्लाई। जागिरका लागि, पदका लागि, स्वार्थका लागि मात्र होइन संस्कृति र इतिहासको संरक्षण गर्दै समाजलाई मर्यादित र सभ्य बनाउन नमस्कार गर्नुपर्छ। नमस्कारले शत्रुलाई पनि हात जोड्न एवं आशीर्वाद दिन बाध्य गराउँछ।

महाभारतको युद्ध हुनै लाग्दा युधिष्ठिरले आफूलाई मार्न तयार भएका हजुरबुबा भीष्म, गुरु द्रोणाचार्य, कुलगुरु कृपाचार्य र मामा शल्यलाई ढोगेका थिए।  ज्ञान र आशीर्वाद प्राप्त हुनेहुँदा नाताको प्रकृति हेरेर ढोग्नुपर्छ। साधकलाई परमात्मासँग एकाकार गराउन नमस्कारले सहयोग गर्छ। पानी पिउनु छानेर गुरु मान्नु जानेर भनिन्छ।

जागिरे विद्याको रोगले गुरु हराएर माष्टर (सर)हरूमात्र जन्मिएपछि ढोगको इतिहास ओझेलमा परेको हो। जीवनमा गुरु पाइयो भने सौभाग्य सम्झेर चरणस्पर्श गर्नुपर्छ। नमस्कारले आपसी सद्भाव राख्छ, मानवीय सभ्यता र पुर्खाको इतिहासलाई दर्साउन सहयोग गर्दछ। कसले, कसलाई, कसरी ढोग्ने भन्ने नियम तत्तत् धर्म, परम्परा, भूगोल आदिले निर्धारण गर्छन्। नमस्कार गर्नु दासत्व स्वीकार गर्नु होइन, मानवताको प्रदर्शन गर्ने अवसर पनि हो।

दुर्भाग्य  वैदिक धर्म र संस्कृतिको जन्मस्थलमा न त नेपालीशैलीको नमस्कार छ, न त वेदअनुसारको ढोग्छ, न त पुर्खाको सुगन्ध आउने अभिवादन छ, न त मुन्धुम झल्कने प्रणाम छ, न त त्रिपिटकअनुरूपको नमन छ। कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री भइसकेका कम्युनिष्ट पार्टीका नेताबीचको नमस्कारले सबैलाई लज्जित बनायो।

नमस्कारमा नमस्कारकै भाव, विधि र सुगन्ध हुनुपर्छ। दशैँ, तिहार, उधौलीउभौली, ल्होसार, बुद्धपूर्णिमाजस्ता चाडपर्वले नमस्कारका माध्यमबाट बिग्रिएका सम्बन्धलाई बलियो र दरिलो बनाउँछन्।

समाजलाई मर्यादित, आफैँलाई सम्मानित, संस्कृतिलाई जीवन्त बनाउन ऋषिमुनिहरूले जन्माएको औषधि नै ढोग हो। जसलाई ढोग्न आउँदैन त्यो कि त नेपाली होइन, कि त ॐकार परिवारको सन्तान होइन, कि त आर्यावर्तको बिरुवा होइन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *