स्पेनमा कन्सुलर सेवा शिविरबाट ३०० नेपाली लाभान्वित

डिसी नेपाल
१ फागुन २०८० १०:२५

बार्सिलोना। एनआरएनए स्पेनको संयोजनमा म्याड्रिड राजदूतावासले संचालन गरेको दुई दिने कन्सुलर शिविरबाट क्याटालोनिया क्षेत्रमा बस्ने झण्डै तीन सय नेपाली लाभान्वित भएका छन्।

फेब्रअरी १० र ११ मा एनआरएनए स्पेनको कार्यालयमा सम्पन्न शिविरमा २६२ जनाको इलेक्ट्रोनिक बायोमेट्रिक पासपोर्टको आवेदन प्रक्रिया पूरा भएको छ।
११ जना बालबालिकाका लागि पहिलोपटक राहदानी प्रक्रिया र थप १५ जनाले अन्य कन्सुलर सेवा प्राप्त गरेका छन्।

राहदानीको कारण समस्यामा परेका नेपालीका लागि दूतावास र एनआरएन मिलेर सहजीकरण गरिदिँदा उनीहरुले खुशी व्यक्त गरेका छन्। स्पेनका लागि नेपाली राजदूत डा। शर्मिला पराजुली ढकालले पासपोर्टकै कारण विभिन्न समस्या झेलेका नेपालीका लागि सहजीकरण गर्न आफ्नो टोली बार्सिलोना आएको बताइन्।

कन्सुलर सेवा लिइरहेका नेपालीमाँझ शनिबार बोल्दै उनले दुईदिने शिविरबाट बार्सिलोनामा रहेका नेपालीका लागि लाभदायी हुनेमा आँफू आशावादी रहेको बताइन्।
राजदूत ढकालले भनिन्, ‘अहिले दूतावासमा थोरै जनशक्ति छ। तर पनि हामी छुट्टीको दिन शनिबार र आइतबार पनि आराम नगरी यहाँहरुको निरन्तरको अनुरोधलाई स्वीकार गरेर सेवा दिन आएका हौं।’

एनआरएन स्पेनका अध्यक्ष पेशलकुमार कोइरालाले दूतावासको टोली बोलाएर सयौं नेपालीलाई कन्सुलर सेवा दिन पाएकोमा खुशी व्यक्त गरे। ‘झण्डै ३ सय जनाले कन्सुलर सेवा लिनुभएको छ।उहाँहरुले ६ सय किलोमिटर टाढा यात्रा गरेर म्याड्रिड आवाजजावत गर्नुपर्थ्यो,’ अध्यक्ष कोइरालाले भने, ‘एकातिर उहाँहरुको समय वचत भएको छ भने अर्कोतर्फ उहाँहरु आवतजावतमा अनुमानित ३० हजार युरोसम्म खर्च हुनसक्थ्यो। त्यो पनि जोगिएको छ।’

आँफूहरुले प्राथमिकताको आधारमा डकुमेन्ट छुट्टाएर प्रत्येक सेवाग्राहीलाई आउने समयसम्म तोकिदिएको हुँदा कन्सुलर सेवा संचालन गर्न सहज भएको कोइरालाले बताए।

उनले राहदानी फारम भरेका केही अनुपस्थित भएकाहरुलाई आफूहरुसँग सम्पर्कमा आउन र दूतावाससँग समन्वय गरी राहदानी बनाउनका लागि पहल गर्ने प्रतिवद्धता अध्यक्ष कोइरालाले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *