कथाः भाउजू

खेमराज पोखरेल
१० चैत २०८० ६:५१

उसले मलाई भनेको थियो : ‘हेर रुद्रे, अब म बिहे गर्छु’

ऊ भनेको रञ्जिते हो।

हामी कुरकुरे बैँसका उच्छवासमा रमाएका हुन्थ्यौं। स्वप्नील संसारमा तरङ्गित हुन्थ्यौं। परीको कल्पना गरिरहेका हुन्थ्यौं। एउटा नभोगेको सुखको कल्पनामा डुबुल्की माथ्र्यौं।

ऊ भन्थ्योः ‘केटी अलि डल्ली डल्ली दोहोरा जिउकी हुनु पर्छ। ज्यादै गोरी पनि कफल्ला हुन्छन्। अग्ली टिङ्रिङ्गे त वाइह्यात। अलि काली काली श्यामवर्णका सेक्सी हुन्छन्। म त छानेर बिहे गर्छु। भो बरु मलाई पढेकी चाहिएन, बुझिस्!’

उसले भनेजस्ती एउटी केटी ‘फाइनल’ गर्‍यो।

ऊ सुनाउँथ्यो। अत्यन्त खुसी थियो। ‘भाग्यले पाएँ’ भन्थ्यो। जीवन सार्थक भयो भन्थ्यो। म सुन्थें। कौतूहल हुन्थें। उत्तेजित हुन्थें। रोमाञ्चक हुन्थें।

आखिर मेरो पनि बिहे भयो मेरा बाबुआमाले खोजिदिएकीसँग। मेरी केटी मलाई मन त परेको थिएन। पटक्कै मन परेको थिएन। ‘नाइ’ भन्दिऊँजस्तो लागेको थियो।
मेरी केटी रञ्जितेलाई देखाएँ। ऊ त भन्न थाल्योः ‘त्यस्ती पिलन्धरे केटी पनि कसैले बिहे गर्छ? पिटिक्क जाला जस्तो’

मैले उसलाई भनेको थिएँः ‘के गर्ने त बाबुआमाको कुरा म काट्न सक्तिनँ। काटेँ भने फेरि कहिले हो कहिले? आ होस् जेभए पनि केटी त हो, म त बिहे गर्छु’
ऊ रिसाया र भन्यो-‘मर साला रुद्रे’

०००००००

‘बाबु, म तपाईँसँग एक थोक माग्छु दिनु हुन्छ?’ यसो भनिरहँदा भाउजूलाई मैले निकै चिन्तित देखेको थिएँ।

‘भाउजू कस्तो कुरा गर्नु हुन्छ? तपाईँ मेरो रञ्जितेकी श्रीमती हुनुहुन्छ, मेरी भाउजू हुनुहुन्छ, ल मसँग भएको जे माग्नु हुन्छ, दिन्छु’

‘पक्का दिनु हुन्छ नि?’ भाउजूको बोली थरथर कामिरहेको थियो ।

‘पक्का दिन्छु’

‘बाबु, मलाई तपाईँले सुटुक्क बिउ दिएर मेरो जीवन बचाइ दिनुहोस् न’

भाउजूका कुराले म अचम्मित भएँ। यस्तो भन्नु होला भन्ने मैले कल्पना गर्ने कुरै थिएन। भाउजूतिर हेरेँ, भाउजूको आँखाले भल बगाएका थिए। कान्तिपूर्ण अनुहार सुस्केरा हालिरहेको थियो।

‘भन्नुस् न बाबु। किन न बोलेको?’ भाउजू निकै सोचमा हुनुहुन्थ्यो। निकै उदाशीमा बोलिरहनु भएको थियो।

मैले भनेँः ‘के भन्नु भएको भाउजू तपाईँले? माग्ने कुरा माग्नु भएको हो? भन्ने कुरा भन्नु भएको हो?’

भाउजू एकछिन् चुप लाग्नु भयो। आकाशतिर हेर्नुभयो। भुईँ कोट्याउनु भयो, लामो श्वास फेर्नु भयो, आँशु पुछ्नु भयो र भन्न थाल्नु भयोः

‘हेर्नुस् बाबु, लगभग तपाईँको र हाम्रो बिहे सँगै भएको हो। तपाईँका छोरा र छोरी भइसके। मेरो भएन। तपाईँको साथी नपुंशक छ। उसले तपाईँमाथि शंका गर्दैन। मैले घर खान सन्तान जन्माउनै पर्छ। नत्र भने अर्को बिहे गर्ने तयारी गर्दै छन्। तपाईँलाई थाहा हुन पर्छ। अर्को बिहे गरे भने मलाई लखेट्छन्। म घरकी न घाटकी हुन्छु। मेरो दुर्दिन सुरु हुन्छ। मलाई यो दुर्दिनबाट जोगाइ दिनहोस्’

भाउजूले साँच्चै कुरा भन्नु भएको थियो। यो कुरा मलाई पनि थाहा थियो। मैले रञ्जितेलाई भनेको पनि थिएँः ‘यसो औषधीमुलो गरा न लट्ठु, बच्चा भइहाल्छ नि’

उसले जवाफ दिएको थियोः ‘हेर् न मेरी स्वास्नीलाई, पट् बैला देखिन्छे, थारी देखिन्छे। यसको पाठेघरमा बोसो जमिसक्यो। यस्ता दोहोरा जिउ हुनेहरू सेक्सी त हुन्छन् तर धेरैजसो थारी हुन्छन्’

मैले उसलाई हप्काएँः ‘यस्तो जान्दो रहिछस्, किन दोहोरा जिउकी बिहे गरेको त?’

उसले उत्तर दिएथ्योः ‘म के जान्नु त ऊ नै बैला बस्छे भनेर’

०००००००

मैले भाउजूले भनेको मानिनँ। मान्ने कुरै थिएन। रञ्जितेकी श्रीमतीलाई कसरी विर्यदान गर्नु? उफ। भाउजूलाई देख्दा डर लाग्न थाल्यो। मानौ भाउजू घाइते बघिनी हुन्। तर तत्क्षण भाउजूलाई नियालेर हेरेँ। विवस थिए भाउजूका आँखा। एउटा ठूलो आँधी आउनुअगाडिको कालोमैलोजस्तो शान्त थियो भाउजूको शरीर। उनी यौनातुर पनि थिइनन्। कामातुर पनि थिइनन्। केवल मृत्यु थाहा पाएको क्षण भएको थियो भाउजूको। मृत्युसँग जोगिने उपक्रम मात्र थियो।

तर म भागेँ। भाउजूसँग भागेँ। रञ्जितेसँग भागेँ। परिवेशसँग भागें। आफ्नी श्रीमतीलाई लिएरै घरपायक जागिरबाट सरुवा गराएर अर्को सहरतर्फ भागें।

जति भागे पनि रञ्जितेको घरको खवर थाहा पाइहाल्थें। भाउजूलाई यातना दिन थालेका छन्। दुर्दिनहरू सुरु भइसकेका छन्। कामले हुर्मत लिनथालेको छ। हेपाइस् सुरु भएको छ। वचन सुरु भएको छ।

घरका मात्र होइन परका पनि भाउजूलाई भन्न थालेका छन्ः

‘थारोलाई हरियो घाँस त कसैले दिँदैन नि, हरियो खाने भए ब्याउनू पर्छ, प्याउनू पर्छ’

म सुन्थें। द्रविभूत हुन्थें। पग्लन्थें। ग्लानी हुन्थ्यो। मलाई मनले धिक्कार्दै भन्थ्योः ‘तँ पाजी होस्। भाउजूको दुर्दिनको कारक होस्। दुर्भाग्यको सुरुवातकर्ता होस्। लाक्षी होस्। नामर्द होस्। विश्वासघाती होस्। भगुवा होस्’

मैले सुने कि भाउजूलाई कुटेर लघारे। घरबाट घिसारेरै बाहिर निकाले र धपाए। त्यहाँ भाउजूका लागि बोलिदिने कोही थिएनन्। भाउजूका आर्तनादहरू हावाले उडाइ लगे होलान्। भाउजूका रुवाइहरू क्षितिजमा हरायो होला।

रातो तुल ओछ्याएर भाउजू त्यो घरमा आएकी थिइन्। फूलहरू हाँसेका थिए। कोपिलाहरू फक्रेका थिए। घर रौसेको थियो। बाटो चम्केका थिए। बाजा बजेका थिए। मान्छे नाचेका थिए। बिरबिर पानी परेको थियो। मान्छे भन्थेः ‘लच्छिनकी छन् यी बुहारी, बिरबिर पानी प¥यो’। मान्छे बराम लागेका थिए। केहीनकेही सगुन राखेरै मुख हेर्थे।

अहिले उनी लघारिएकी छिन्। निसहाय भएकी छिन्। घामले पोलेर विरोध गरेको छ। फूलले ओइलाएर शोक मनाएकाछन्। कोपिला चाउरिएर सुकेका छन्। भाउजूको एकहाते माली गाई दाम्लो चुडाउँलाजस्तो उफ्रिरहेको छ। काले कुकुर पनि सहायतामा भुकिरहेछ। मान्छे त्यसैगरी बराम लागेका छन्। तर कोही बोल्दैनन्। बोले पनि भाउजूका पक्षमा बोल्दैनन्। षठ भएको छ मान्छे। दुष्ट भएको छ मान्छे। कृतध्न भएको छ मान्छे।

पल्लाघरे हिँड्न नसक्ने बुढी आमै भन्छिन्ः ‘कठै आइमाईको कर्म’

भाउजू माइतका शरणमा गइन्। माइतमा पनि उपेक्षित हुन थालिन्। अपहेलित भइन्। मानौं उनी यो घरमा जन्मेकी होइनन्। मानौ यी रुखबिरुवा, बाटाघाटाले उनलाई चिन्दैनन्। मानौं यो घरमा उनको केही योगदान छैन। मानौ उनी एकदम अपरिचता हुन्।

मानौं उनी यो घरकी दुस्मन हुन्। उनले आफ्नो हत्केला हेरिन्। यो घर बनाउँदा काठ, बाँस बोक्दा उठेकोे ठेला अझै सकिएको थिएन। घाउको टाटा अझै थिए। पानी बोक्ता बोक्ता गलेका हातमा अझै तागत आइसकेको थिएन।

एकदिन उनकी आमाले नै भनिन्ः ‘के गर्ने ठुली? घर खान सकिनस्। तेरो भाग्य नै कमजोर रहेछ। अब आफ्नो भाग्य खा’

भाउजूले हेरिन्। गाई गोठ त्यही थियो। घर त्यही थियो। पानी बोक्ने गाग्रो त्यही थियो। इनार त्यही थियो। आमा त्यही थिइन्। बाबु त्यही थिए। भगवान बस्ने तुलसाको मोठ उही थियो। तुलसी उस्तै थिए। बाटाहरू त्यही थिए। सूर्य त्यसैगरी उदाउँथ्यो। त्यसैगरी अस्ताउँथ्यो। चन्द्रमा उस्तै थियो, आकाश उस्तै थियो। उनी उस्तै थिइन्। तर मान्छे भन्थेः ‘ठुली अर्काकी रे’ कसरी भई अर्काकी? के विवाहिताको माइतीको माटो त्यति कृतघ्न हुन्छ? के भाउजूजस्ता महिलाको जीवन नबिराएको अभिशप्तता हो?

०००००

रञ्जिते भाउजूसँग गएर पारपाचुकेको कागजमा सही गराउन खोजिरहेको रहेछ।

भाउजूले भनिछन्ः ‘पारपाचुके त यसै पनि छ, उसै पनि छ, मुटु टुक्रिएपछि यसै पनि जोडिन्न, उसै पनि जोडिन्न। तर मैले सही गरेबापत के पाउँछु?’
रञ्जितेले भनेछः ‘के लिने?’

‘के दिने?, तिमीसँग के छ र?, माया छैन, दया छैन, जिम्मेवारी छैन, विवेक छैन, । कृतघ्न छौ। जुन मान्छेलाई मैले कठिन परिस्थितिमा जोगाएको सग्लो स्वः बुझाएँ, सर्वस्व सुम्पिएँ, त्यो आफ्नो भएन भने त्यही मान्छे तिमी मलाई के दिन सक्छौ र? तर पनि पारपाचुकेमा सही गरेबापत म तिमीसँग त्यही मागिरहेकी छु, जो तिमीसँग छैन। दिन्छौ?’

उसले हतारहतार भनेछः ‘दिन्छु’

‘तिमी अब जसलाई बिहे गर्छौ, त्यसलाई माया गर, संसार मायाको हुन्छ। काया जीवन होइन। जीवनमा माया मात्र हुन्छ। बच्चा पाइन भनेर उसलाई मलाईजस्तो जीवनको एकलासमा एक्लै नछोडिदेऊ।’

०००००

भाउजू माइतबाट पनि हिँडिन् भन्ने मैले सुनेको थिएँ। कुनै एउटा स्कुलमा आयाको काम गर्न थालिन् रे भन्थे मान्छे। मैले चासो राखिनँ। सायद रञ्जितेले पनि चासो राखेन होला। उसको स्वार्थ सकिएको थियो।

ऊ किन पनि चासो राख्थ्यो र? तर पनि कुरौटे मान्छे कहिलेकाहिँ सुनाउँथेः ‘रञ्जितकी जेठी त पढ्दै पनि छ रे, हा हा हा हा हा, बुढो सुगाले के पढ्दो हो! यहाँ कति पढेका त जागिर नपाएर हलो जोतिरहेका छन्। त्यो त झन् आइमाई’

यी मान्छेलाई किन हो उँधो लागेको मान्छे देख्न हुन्न। धपाएको धपाएकै गर्छन्। उँभो लागेको देख्यो भने उकासेको उकासै गर्छन्। विधाताले विनाकारण दिएको दुःखमा पनि मान्छे कठै भन्दैन।

दिनहरू बितिरहेका थिए। भाउजूले पढेर मास्टरी गर्दै गरेको सुनिन थालेको थियो। त्यही पनि मान्छे हाँस्न छोडेका थिएनन्। तर म फेरि अर्को सहरमा सरुवा भएपछि भने भाउजूका बारेमा कुनै कुरा सुनिएका थिएनन्। मैले पनि सम्भवत भाउजूलाई बिर्सिसकेको थिएँ।

०००००

यो सहरमा रञ्जिते मलाई भेट्न आएको थियो। सायद ऊ जीवनमा उसले भोगेका जीजिविषा मलाई सुनाउन खोज्थ्यो होला। ऊ एकतमासको भएर मेरी श्रीमतीलाई हेथ्र्यो। मेरा साना छोराछोरी खेलेको हेथ्र्यो। सायद ब्यतिरेक हुन्थ्यो होला। ऊ निकै उदाश थियो। रञ्जितेले दोस्रो बिहे गरेको तीन वर्ष भइसकेको थियो। सन्तान भएका थिएनन्। रञ्जितेका बाबु आमा फेरि अर्को बिहे गराउने ताकमा थिए।

उसले मलाई राति भनेको थियोः ‘यार, सन्तान भएनन्। म दुःखी छु। मेरा बाआमा दुःखी हुनुहुन्छ। आफन्त दुःखी छन्। परिवेश नै दुःखी छ। मेरी अर्की स्वास्नीले पनि बच्चा पाइन। म के गरूँ?’

मैले उसलाई धेरै सम्झाएको थिएँः ‘यार, अब बिहे नगर, अघिल्लो भाउजूबाट त भएन भएन, दोस्रीबाट पनि नभएपछि आफ्नो पनि कमजोरी हुन सक्छ। संसारमा धेरै मान्छेका छोराछोरी छैनन्। तँ एक्लो होइनस्। बरु अनाथालयबाट एउटा बच्चा ल्याएर धर्मपुत्र बना न’

उसले निकै उदाश हुँदै थियो। एकछिन् चुप लाग्यो र भन्योः ‘मलाई त सत्ते जोगी भएर हिँड्न मन छ। न हरहर न कचकच। के गर्ने बाबु आमा बुढो भइसक्नु भयो। म एक्लो छोरो। सन्तान नदेखी मर्ने भयौँ भन्नुहुन्छ। अनाथालयबाट ल्याऊँ न भन्दा उहाँहरू भन्नुहुन्छ ‘अर्काको पाप ल्याउन हुन्न, तल्ला घरे रिजालबाका बाजेले सातवटा बिहे गरेपछि सन्तान भा’थ्यो भन्नु हुन्छ। ज्योतिषी मुर्दार पनि भनिदिन्छः ‘तिम्ल्याहा ग्रह छ तपाईँको। तेश्रो श्रीमतीबाट सन्तान लेखेको छ बाबु तपाईँको’

मैले उसलाई भनेथेँः ‘के भएको होलास् तँ पाजी रञ्जिते, त्यस्ता पाखण्डीको पनि विश्वास गर्ने हो त! बाबु आमालाई सम्झा, अनाथालयबाट बच्चा ल्या।’
उसले ‘हस’ भनेको थियो। तर ऊ उदाश हुँदै सुतेको थियो।

भोलिपल्ट साँझमा ऊ र म तरकारी किन्न चोकतिर गएका थियौं। तरकारी बजारमा एउटा बच्चा च्यापेर उभिएकी महिलाले मेरा पाखुरामा च्याप्प समाइन्। मैले उनलाई हेरेँ। मेरो मुखबाट अनायास निस्क्योः ‘आबुई, भाउजू’। उनले मलाई अँगालो मारिन्। बच्चा काटिकुटी भाउजूकै अनुहारको थियो।

भाउजूले एउटा अर्को मान्छेसँग परिचय गराइन्ः ‘मेरो श्रीमान्’। यसो भनिरहँदा भाउजूको अनुहारमा लाली चढेको थियो।

तत्काल मैले रञ्जितेतिर हेरेँ। ऊ त्यहाँ थिएन। हरायो। ऊ खोई जीवनसँग भाग्यो कि? बुद्धिसँग भाग्यो कि, परिवेशसँग भाग्यो कि, कर्मसँग भाग्यो। तर भाग्यो। कुलेलम ठोक्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *