नयाँ वर्ष २०८१ को शुभारम्भ

डिसी नेपाल
१ वैशाख २०८१ ६:५१

काठमाडौं। विक्रम संवत्को पात्रोअनुसार शनिबारदेखि नयाँ वर्ष लाग्दैछ। हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ।

विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ। विसं हिन्दू पञ्चांमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ।

नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ। नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ।

नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन्। विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ।

नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवी देवताको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने प्रचलन रही आएको छ । यसदिन स्नान र दान गरेमा पुण्य कमाइने धार्मिक विश्वास छ।

नव वर्ष २०८१ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अन्य मन्त्रीहरू, विभिन्न दलका प्रमुखहरू, नेताहरू, विभिन्न विशिष्ट व्यक्ति तथा व्यक्तित्वहरूले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *