कविता :  आमा, बुबा र गुरू

प्रकाशचन्द्र खतिवडा
८ भदौ २०८१ ६:४२
232
Shares

 आमा
व्यथाहरु- पटुकीले बाँधेर
पीडाहरू- वर्कोले छोपेर
चपाएर दुःखहरु
सृष्टि धानि रह्यौ
सन्तानको रहर
आँखा भित्र राखेर
पाइला चालि रह्यौ
आफू निरन्तर रित्तिएर
अरुलाई भरिलो पार्यौ
मैन वत्ती जस्तो जलेर
अज्यालो छरिरह्यौ
ममताकी खानी तिमी
मन भरि
तन भरि
स्निग्घ रह्यौ ।

 बुबा
ऋणका पहाडहरु छिचोल्दै
हाम्रा सारा सपना पूरा गर्न
दिन रात तल्लीन रह्यौ
हाम्रो यात्रामा
वैशाखी बनेर
सधैं शयर गरि रह्यौ
पाइतालाले दुःखहरु कुल्चँदै
सुखको अनुभूति दिलायौ
तिम्रो कमिजको फेर तानेर
अहिले जस्तो लाग्छ
मलाई यस्तै नाना
भनेर झगडा गर्दा पनि
किंचित रिसाएनौ
बरु
नाना, खाना
पापा,चाचाको
जोहोमा सधैं भरि लागि रह्यौ
हामीलाई कखरा सिकाउने
अटल विश्वासका खानी तिमी
हाम्रो प्रेरणादायी गुरू बन्यौ।

गुरु
समुद्र जस्तै
अविरल बगिरह्यौ
शान्त र सौम्य
अन्धकारलाई पन्छाउँदै
उज्यालो छरि रह्यौ
छरेर ज्ञानका ज्योतिहरु
हाम्रा आँगनीमा रमाइ रह्यौ
आफू पग्लेर निरन्तर
उज्यालो फालि रह्यौ
हाम्रा दुःखमा
दुःखहरु साटी रह्यौ
हाम्रा खुशीमा
खुशीहरु साटी रह्यौ
कुमार्गका बाधक तिमी
असल पथ प्रदर्शक
सत्मार्गको
अनवरत यात्री रह्यौ
आस्थाका प्रतीक तिमी
सधैं सधैं
तिम्रो पाउ पूज्न योग्य रह्यौ ।

सुन्दरहरैचा-६, दुलारी, मोरङ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *