कविता : शान्ति पाइनँ कसै गरी

राज्यलक्ष्मी खतिवडा
२६ असोज २०८१ ७:२८
72
Shares

गाउँ घर नयाँ मान्छे सब नौलो देख्छु
माइतीको यादले सताइ यो एक पत्र लेख्छु

सुकेको यो लहरामा फूलाइ दियौ किन फूल ?
के भनूँ म आज कस्लाई सृष्टिकर्ता तिम्रै भुल

बिन्ति छ है दुई कर जोडी ब्रम्हा विष्णु महेश्वर
धोका दियौ जीवन भर मेरो तेसमा के भुल भो र ?

हृदयको कल्पना यो उडी सक्यो भावनामा
आँसु पिई जिउनु पर्यो हाँस्तै बाँच्ने चाहनामा

घायल छ यो मुटु मेरो सुकी सक्यो सबै रगत
फूल बनि सुबास छर्ने इच्छा मेरो भयो फगत

पीरै पीरको करौतीले चिर्यो छाती चररर
सोचाइले कोल्टो फेर्यो गिर्छन् आँसु बररर

बाढी पस्यो कता बाट यो मनको मन्दिरमा
झुलाइ दिइस किन दैव पीरै पीरको गञ्जिरमा

इन्द्र कमल फूलको बोटमा फूले छ है फूल बुकी
किन लेखिस भावि दैव कर्म रेखा यस्तो दुःखी

अमृत भनि पिएको त विष बनि जलाइ दियो
देवता भनि पूजा गरे जीवन भरि धोखा दियो

पञ्चरङगी फूल सजाइ घर भरि राख्ने रहर
बाँच्ने आशा हुँदा हुँदै पिइ मर्नु पर्यो जहर

छाती भरि कोरि राख्छु पञ्चरङगी फूलको चित्र
अल्झि रैछ जिन्दगी यो पीरै पीरको जालो भित्र

बाबा, आमा, दाजु, भाइ, दिदी, बहिनी भए पराइ
नयाँ सृष्टि सृजनाको स्वप्ना भित्र जीवन हराइ

निशानाले धोखा दियो छाती फुट्यो सिसा सरि
सम्झनाले मुटु जल्छ शान्ति पाइन कसै गरी ।

सुन्दरहरैचा–६,दुुलारी,मोरङ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *