वन, बाघ, निकुञ्ज र चुरे

कमलजंग कुँवर
९ कार्तिक २०८१ १३:४९
252
Shares

कूटनीति, अर्थनीति र राजनीतिका विद्वान् हस्तिनापुर महाराजका मन्त्री विदुरले बाघ र वनका सम्बन्धमा नीतिशास्त्रमा यस्तो बताउँदछन् —

न स्याद् वनमृते व्याघ्रान् व्याघ्रा न स्युर्ऋते वनम्।
वनं हि रक्ष्यते व्याघ्रैव्र्याघ्रान् रक्षति काननम्।।

अर्थात् बाघसहितको वन नमास। वनदेखि बाघ पनि बिछोड नहोऊन्। वन नहुँदा बाघ हुँदैनन् र बाघ नहुँदा वन पनि रहन्नन्। तसर्थ, वनले बाघको रक्षा गर्दछ भने बाघले वनको संरक्षण गर्दछन्।

चितुवालाई वेदमा चित्र व्याघ्र (थोप्ले बाघ) भनिएको छ। तसर्थ पहाड र हिमालमा पाइने चितुवा र हिउँ चितुवा पनि बाघ नै हुन्। १५ प्रतिशत भूभाग हिमाल ६८ प्रतिशत महाभारत पहाड र १७ प्रतिशत भूभाग चुरे भावर र तराईको समथर भू-बनोट र एक किलोमिटर भन्दा बढी लम्बाई भएका ६ हजारभन्दा बढी नदी खोला भएको हाम्रो देशमा जलाधार क्षेत्र व्यवस्थापन गर्नु राष्ट्रको पहिलो प्राथमिकता प्राप्त कार्यक्रम हुनुपर्दछ।

तराईमा पाटे बाघ एवं गैँडा, पहाडमा चितुवा र हिमालमा हिउँ चितुवा नै प्राकृतिक वातावरण सन्तुलनका सूचक प्रजाति हुन्। चुरेमा वन मासिँदा पाटे बाघ रहेन, वन मासिएको संकेत बाघले ग¥यो। बाघ, चितुवा र हिउँ चितुवाले वन जोगाउँछ र वनले चुरे, पहाड र हिमाल जोगाउँछ।

हिमाल, पहाड र चुरेमा जंगल भए तल्लो तटीय क्षेत्रकोे कृषि भूमिको मरुभूमिकरण हुनबाट जोगाउछ, खानेपानी, सिंचाई, विद्युतका लागि जलको उपलब्धता र बाढी पहिरो न्यूनीकरणबाट जनताको जीउधन, भौतिक पूवार्धारको रक्षा गर्दछ। हिमाल, पहाड र चुरे संरक्षण भएको संकेत हिउँ चितुवा, चितुवा र बाघको उपस्थितिले दिन्छ।

नेपालमा सबैभन्दा धेरै चुरे विनाश भएका रौतहटदेखि सप्तरीसम्मका ६ जिल्ला हुन्। पर्सा, चितवन, मकवानपुर, नवलपरासी जिल्लाका चितवन-पर्सा र पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज भएका निश्चित क्षेत्रमा बाहेक अन्य क्षेत्र र बाँकी जिल्लामा चुरेको मध्यम विनाश भएको छ।

नेपालमा सबैभन्दा धेरै चुरे विनाश भएका रौतहटदेखि सप्तरीसम्मका ६ जिल्ला हुन्। पर्सा, चितवन, मकवानपुर, नवलपरासी जिल्लाका चितवन-पर्सा र पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज भएका निश्चित क्षेत्रमा बाहेक अन्य क्षेत्र र बाँकी जिल्लामा चुरेको मध्यम विनाश भएको छ।

जहाँ जहाँ बाघ छन् त्यहाँको चुरेको विनाश कम रहेको छ। तसर्थ सर्लाही जिल्लामा जन्मेको राष्ट्रिय निकुञ्ज विभागको महानिर्देशकले आफ्नो जिल्लामा चुरेको वातावरण सन्तुलित भएको सूचक प्रजाति बाघलाई पर्सा राष्ट्रिय निकुञ्जदेखि आफ्नो जन्मस्थान सर्लाहीको हरिवनसम्म पु¥याउने लक्ष्य लिनु पर्दछ।

तब बल्ल त्यो जिल्लाका लखनदेही लगायतका खोलाको जलाधार क्षेत्र संरक्षण भएर सर्लाही सुरक्षित हुनेछ। रौतहटको चुरेमा बाघ पुर्‍याउने लक्ष्य लिँदैन भने त्यो जिल्लाको प्रधानमन्त्री र वन मन्त्री मूर्ख हो।

राष्ट्रिय निकुञ्ज विभागमा कायम रहन अघिल्ला महानिर्देशकलाई १० करोड बुझाउनु पर्छ भन्ने उर्दी पूराना मन्त्री वीरेन्द्रप्रसाद महतोले जारी गरेको विषय छताछुल्ल भएकै थियो।

बाघको शिकार गराएर आर्थिक विकास गर्ने उद्घोष गरेका उनले के बुझ्न जरुरी छ भने-धनुषा जिल्लाबाट प्रतिनिधित्व गरेर वन मन्त्री हुँदा उनको लक्ष्य आफ्नो कार्यकाल वा पाँच वर्षभित्रमा धनुषाको चुरे रातमाटेमा बाघ पुर्‍याउने हुनुपर्दछ।

यसो हुन सक्यो भने बल्ल धनुषा सुरक्षित हुन्छ। धुनषाको चुरेबाट बग्ने १२ वटा साना ठूला खोला खोल्साले धनुषाको बस्ती र कृषिभूमि मरुभूमिकरण हुन जोगाउँछ। अन्यथा धुनषा छिट्टै मरुभुमिकरण भएर ‘न रहे बाँस न बझे बाँसुरी’ भनेझै न मतदाता बस्ने स्थान रहन्छ, मतदाता नै नभएपछि न बाघ मार्ने सोच भएका सांसद निर्वाचित भएर मन्त्री हुन्छन्।

सिरहाको बालन खोलाको जलाधार क्षेत्र सन्तुलित भयो भने मात्र मधेशको उर्वर भूमि जोगिन्छ। इलामको प्रधानमन्त्री हुँदा इलामको चुरे र झापाको प्रधानमन्त्री हुँदा मेचीको सीमानासम्म बाघ पुर्‍याउनु पर्दछ।

पश्चिमतर्फ पनि चितवन हुँदै नवलपरासीका वन मन्त्री हुँदा त्यहाँसम्म र रूपन्देहीका वन मन्त्री हुँदा तिनाऊ खोलाको तिरैतिरै पश्चिमतिर पुर्‍याउनुपर्दछ। नेपालको इतिहासमा २०३६, २०४६ पछि सबैभन्दा बढी २०६६ सालमा चुरेको वन विनाश भयो, जतिबेला रूपन्देहीबाट निर्वाचित सांसद वन मन्त्री थिए।

कपिलवस्तुसम्म चितवन राष्ट्रिय निकुञ्जबाट र बर्दिया-बाँके राष्ट्रिय निकुञ्जदेखि दाङसम्म बाघ आओस्। शुक्लाफाँटाबाट कैलाली, कञ्चनपुर र डडेल्धुरासम्मको चुरेमा पुगोस्।

हिमाल, पहाड र चुरेमा जंगल भए तल्लो तटीय क्षेत्रकोे कृषि भूमिको मरुभूमिकरण हुनबाट जोगाउछ, खानेपानी, सिंचाई, विद्युतका लागि जलको उपलब्धता र बाढी पहिरो न्यूनीकरणबाट जनताको जीउधन, भौतिक पूवार्धारको रक्षा गर्दछ। हिमाल, पहाड र चुरे संरक्षण भएको संकेत हिउँ चितुवा, चितुवा र बाघको उपस्थितिले दिन्छ।

चितवनको चुरे विनाश गरेर बस्ती बसाल्नेलाई आफ्नो भोट बैंक बनाएर प्रधानमन्त्रीको सपना देख्नु देश र समाजका लागि त्योभन्दा दुर्भाग्यपूर्ण के हुन सक्छ? जो बसेका छन् उनीहरू स्वयं पनि बाघ, बँदेल, बाँदर, चितुवा, रतुवा, हात्ती, गैँडा, भालु, बाढी, पहिरोको जोखिममा छन्।

चितवनमा त अझ तीन वटा तहमा चुरे रहेको पाइन्छ। सोमेश्वर पहाड, चितवन राष्ट्रिय निकुञ्जको चुरे र चितवन उपत्यकाको उपल्लो भागमा पूर्व पश्चिम फैलिएको चुरेका तीनै तहमा चितवन राष्ट्रिय निकुञ्जको चुरेमा झैं बाघ भयो भने मात्रै माडीमा बाढी आउदैन। कयर र पम्पा खोलाले पूर्वी चितवनमा दख्खल पुर्‍याउँदैनन्।

यस्तो अवस्था देखि देखि निकुञ्जभित्र होटल खोल्न खोज्नु भनेको ‘हलो काटेर मुघ्रो’ बनाउनु जस्तै हो। बाघ, गैँडा, हात्ती, हिउँ चितुवा, चितुवा हाम्रो र भावि सन्ततिका लागि पनि अमूल्य निधि हुन। ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खूर्पाको बीड’ भने जस्तो गर्नु हुँदैन।

निकुञ्जभित्र होटेल खोलेर केही लाख आम्दानी होला तर चुरेको संरक्षण गरे अरवौको धनजन, भौतिक पूर्वाधारको क्षति र कृषिभूमि मरुभूमिकरण हुनबाट जोखिन्छ। तल्लो तटीय क्षेत्रभित्र पर्ने छिमेकी मुलक पनि बाढी र डुवान तथा मरुभूमिकरणको जोखिमबाट जोखिन्छ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै चुरेको जंगल निकुञ्जको जस्तै घना, झाडी बुट्यानले ढाकिएको हुनुपर्छ। यसले वर्षामा बाढीलाई रोक्छ र पानीको संचिती क्षमतामा वृद्धि भै हिउँदमा तल्लोतटीय क्षेत्रमा पानीको सतत निकास हुन्छ। यसका लागि वनजंगगलमा वन डढेलो शून्यमा पुर्‍याउनु पर्दछ।

हामीभन्दा शक्तिशाली देश दक्षिण अफ्रिका, भारतमा गैँडा मारिदा पनि नेपालमा गैँडाको शून्य चोरी शिकार सम्भव छ भने शून्य वन डढेलो किन सम्भव छैन? तर यसको विपरित ‘विनाश काले विपरित बुद्धि’ भनेझै वन क्षेत्रमाथि गरिने गतिविधिबाट प्रष्ट हुन्छ कि हामीले ‘माल पाएर पनि चाल पाएका छैनौ।’ जनताको जनधन, पिउने जल, जलाधार क्षेत्र, जंगल एवं जैविक विविधता नाशको मुख्य कारक तत्त्वमध्ये एक वन डढेलो पनि हो।

वन कार्यालयले चुरेको टुप्पामा मन्दिर बनाउने, आयआर्जनका नाममा चितवनको उपल्लो चुरे क्षेत्रका सामुदायिक वनभित्र पौडी पोखरी निर्माण गर्ने अनुमति दिने, धार्मिक क्षेत्र, ध्यानकेन्द्रको नाममा निकुञ्जको सिमाना हेरफेर गर्ने, निकुञ्जको जग्गा दर्ता गर्न अनुमति दिने वन विद्या हामीले कहाँबाट सिक्यौ ? कसले सिकायो?

वन क्षेत्रको सुन्दर प्राकृतिक भू-दृश्यमा मेश जाली लगाएर वन क्षेत्रभित्र मनोरञ्जनस्थल बनाएर प्रकृतिलाई कुरुप बनाउने मूर्ख विद्या हामीलाई कसले पढायो? डढेलो लाग्ने विभिन्न कारणमध्ये वन भोज पनि एक हो।

वन क्षेत्रभित्र बनाइने वनभोज स्थलका कारण नेपालमा अत्यधिक वन डढेलो लाग्ने गरेको छ। यस्तो कृयाकलाप सञ्चालन सीमित स्रोतसाधनको दुरुपयोग हो। त्यो स्रोतलाई वन डढेलो नियन्त्रण, जलाधार क्षेत्र व्यवस्थापन, वन क्षेत्रको अध्ययन अनुसन्धानमा खर्च गर्न सकेमा ठूलो उपलब्धी हासिल हुन सक्दथ्यो।

तराईको वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन प्रणाली लागू गरेर वन पैदावारको सतत आपूर्ति गर्ने, जैविक विविधता तथा चुरे संरक्षण र सन्तुलित पर्यावरण कायम गर्न संरक्षित क्षेत्रलाई अति संवदेनशील क्षेत्रको रूपमा विकास गर्ने, पहाडमा सामुदायिक वनको विकास तथा सम्बर्द्धन गर्ने र हिमाली क्षेत्रलाई अति संवेदनशील जलाधार क्षेत्रका रूपमा संरक्षण गर्ने नीति नै नेपालको वन सदुपयोग, जैविक विविधता संरक्षण र जलाधार क्षेत्रको उचित व्यवस्थापन गर्ने उपयुक्त प्रणाली हो।

भू-उपयोगिता प्रणाली अनुसार देशको कुन क्षेत्रमा कस्तो पद्धतिको विकास गर्ने यो नै अहिलेको बुद्धिमत्तापूर्ण वन व्यवस्थापनको योजना हुनुपर्दछ। निकुञ्जले पुर्‍याएको मुख्य योगदान भनेको चुरे संरक्षण गरेर पर्यावरणीय सन्तुलन कायम भएको छ। यसलाई अझै वृद्धि गर्नुपर्नेमा होटल खोल्ने नीति ल्याएर उल्टै यसको विनाशमा लाग्नु भनेको भ्रष्टाचार र कुशासनको उत्कर्षता हो।

मानव वन्यजन्तु द्वन्द्वले आहत भएका नागरिकले सुरक्षित जीवन बाँच्न पाउने राहतको प्रत्याभूति गर्नु सरकारको दायित्व हो। धेरै सडक दूर्घटना हुँदा हामी सडक भत्काउँदैनौ, हवाई दूर्घटनामा हवाईमैदान वन्द नगरी यस्तो दुर्घटनालाई न्यून गर्ने उपाय अपनाउँछौं।

त्यस्तै मानव वन्यजन्तु द्वन्द्वमा पनि त्यसको न्यूनीकरणका उपाय नै एक मात्रै विकल्प हो। बाघ, बाँदर मार्ने विकल्प मुर्खहरूको सोच हो। जसले हाम्रो बाँच्ने आधार खडा गरेको छ, त्यो हाम्रो शत्रु कसरी हुन सक्छ ?

हिमाल, पहाड तथा चुरेले हामीलाई बाँच्नका लागि नभै नहुने सास फेर्नका लागि अक्सिजन र पिउने पानी प्रदान गर्दछन्। गाँसका लागि अन्न उत्पादन गर्न सिंचाई गर्ने जल प्रदान, बास बस्नका लागि काठ, इन्धनका लागि दाउरा, आङ ढाक्नका लागि कपास, पशुपालनका लागि घाँसपात, स्याउलासोत्तर, स्वस्थ्य आहारका लागि फलफूल, मसला, औषधिका लागि जडीबुटी, गैरकाष्ठ वन पैदावर, शितल छहारी, आमोदप्रमोद गर्ने अवसर प्रदान गर्दछन्।

मानव सभ्यता जन्मदेखि मृत्युसम्म प्रकृतिमै निर्भर छ। यसरी सास, गाँस, बाँस र कपासका लागि वन नै हाम्रो जीवन धान्ने आधार हो।

सूर्य, ईन्द्र र चन्द्रले हामीलाई प्रकाश, ताप र पानी प्रदान गर्ने अनिवार्य दायित्व हो। त्यसैले सूर्य, ईन्द्र र चन्द्रको पूजा गर्नुको सट्टामा हामीले गोवर्धनरूपी हिमाल, पहाड र चुरेको पूजा गर्नु पर्दछ।

-लेखक  रारा, सगरमाथा, चितवन र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालयका पूर्व चिफ वार्डेन हुन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *