खेमराज पोखरेलको लघुकथाकृति ‘एकालाप’माथि अन्तरक्रिया

डिसी नेपाल
११ मंसिर २०८१ १३:१०
44
Shares

काठमाडौं। खेमराज पोखरेलको छैटौं लघुकथाकृति ‘एकालाप’माथि परिचर्चा सम्पन्न भएको छ । ‘विशद परिचर्चा’ भनिएको उक्त कार्यक्रममा सात समालोचकले कृतिभित्रका ७१ कथाको चिरफार गरे।

शनिबार लोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार अशेष मल्लले ११ कथाको टिप्पणी गर्दै पोखरेलको कथाशैलीको प्रशंसा गरे। उनले लघुकथामा सौन्दर्य विशेष रूपमा रहनुपर्नेमा जोड दिँदै कृतिभित्र केही कथा नराखेको भए हुने बताए ।

यस्तै, डा. शेखरकुमार श्रेष्ठले १० कथाको चर्चा गर्दै पोखरेलका रचनामा अमेरिकी नेपाली र यहाँको नेपाली समाज देखिने बताए। अर्का वक्ता विधान आचार्यले पोखरेलले जीवनको यथार्थतालाई लघुकथामा समातेको बताए।

समीक्षक युवराज मैनालीले एकालापमा अमेरिकामा नेपालीको मनोदशा स्पष्ट देखिने उल्लेख गरे । प्रा. डा. भरत भट्टराईले लघुकथाभित्र शैक्षिक बेथिति पनि प्रस्तुत भएको भन्दै यसमा नयाँ प्रयोग गरिएको बताए।

अर्का वक्ता ठाकुरप्रसाद शर्माले कृतिभित्र यौन दर्शन पनि भेटिने सुनाए। प्रा. डा. कुमारप्रसाद कोइरालाले पोखरेलका लघुकथामा विचार पक्ष खुलेर आएको उल्लेख गरे ।

डा. दीनबन्धु शर्माले ‘एकालाप’मा मानक लघुकथा रहेको बताए। उक्त अवसरमा कृतिकार पोखरेल, श्रीओम श्रेष्ठ ‘रोदन’, सुमन सौरभ, रामप्रसाद पन्त, माधव घिमिरे ‘अटल’लगायत साहित्यकारले पनि बोलेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *