कविता : जिन्दगी

सुशील लामा
७ वैशाख २०८२ ११:०२
88
Shares

छर्लङ देख्न नसकिने अनुत्तरित
अज्ञात प्रश्न हरुको थाक जस्तै रहेछ जिन्दगी।
उत्तर मिलाएर उतिर्ण हुन्छु भन्दाभन्दै
परीक्षा हलमा परीक्षा दिन बसेको
विद्यार्थी को हात बाट खोसेको
नमिलेको उत्तरले भरेको
निलो मासिले किरिङ-मिरिङ कोरेको
कपिको पाना जस्तो रहेछ।
जिन्दगी-
सल्टाउन नसकेको
अफ्ठ्यारो प्रश्नहरुको उल्झनमा
फसेका नजाने को उत्तर हरुजस्तै रहेछ
जिन्दगी-
खोज्दा-खोज्दै हराएको बिपनामा देखेको
सपनाहरू जस्तै रहेछ जिन्दगी।
-सफल जीवन खोज्न
घरबाट झोल बोकी निस्केका रिकुटे जस्तै
अत्तोपत्तो नभएको ठाँउमा पुगी
दुख्दा रुञ्चे अनुहार बोकेर
आशुँलाई मनभित्रै लुकाउनु पर्ने परिबन्ध रहेछ जिन्दगी।
०००००
जिन्दगी-
माथि पहाडको टुप्पोबाट झरेको
झर्नाको दुखाई खेपी रहने
लेउ र झ्याउ बिनाको
नबोल्ने सफा लाट्टो ढुंगा जस्तै रहेछ जिन्दगी।
अज्ञात अपरिचित
पहाडको कोख चिरेर बनेको
खोचमा बग्ने खोला जस्तै रहेछ जिन्दगी।
जसरी खोला बग्छ
त्यसरी नै जीवन बग्छ।
थाहा छैन खोलालाई आफू बग्ने बाटो
कति लामो छ यात्रा।
त्यस्तै रहेछ जिन्दगी
झण्डै उस्तै खोलाको अज्ञात यात्रा जस्तै।
बतासको डरले थरथर काँप्दै गरेको
चिचिला आँप स्याहार गर्दै गरेको
घर पछाडिको आँपको रुख जस्तै रहेछ जिन्दगी।
जसरी जोहो गर्न खोज्छ
आँपको बृक्षाले चिचिला आँप
त्यसरी नै जोगाउन खोज्दा रहेछ
जिन्दगी ले जीवनलाई
जिन्दगी बग्दै गरेको खोला जस्तो
जिन्दगी फल्दै गरेको आँपको रुख जस्तो।
जिन्दगी…

०००००

जिन्दगी…
खोइ के के हो के के जिन्दगी?
कोक्रामा सुतिरहेको अबोध शिशु जस्तो
ताते-ताते हिँड्दै तोते बोलीमा बोल्दै
सतिवनको बुट्टा-बुट्टामा
जुरेलिको गुँड खोज्दै हिड्ने बेला पो हो कि?
जिन्दगी –
खाली पाइतालाको को डोबले
बालुवामा हिँड्दा बनिने पाइलाको खाली डोब पो होकि?
जिन्दगी …
राति आकाश भरी तारा उदाएको देख्दा पनि
खुशीले गदगद हुने बेला पो हो कि?
बुझ्न खोज्दा-खोज्दै
आधा बाटोमा अस्ताएको यात्री पो हो कि?
जिन्दगी …
आलिसान महलदेखि झुपडीमा बस्ने मान्छेहरुले
फेर्ने सास अनि पर्खिरहने आशा पो हो कि?
जिन्दगी …
के के न गर्छु भनेर।
आफ्नै पैसामा बेचिएर अर्काको देशमा
सस्तो-मस्तो आधुनिक युगको
आधुनिक दास पो हो कि जिन्दगी
खै के के मात्रै पो होइन जिन्दगी
कहिल्यै मर्दिन जस्तो लाग्ने बेला पो हो जिन्दगी
जीवन भन्दा पनि मृत्यु प्रीय लाग्ने
उमेर पो हो कि जिन्दगी ?
जन्म र मृत्यु बीचको
जीवन नामक खोलाको सेतु पो हो कि जिन्दगी?
खै के के मात्रै हो जिन्दगी…

पाँचखाल-११,काभ्रेपलान्चोक

हाल-लिमासोल,साईप्रस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *