माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद गाँठो फुकाउन प्रचण्डलाई नै सकस

डिसी नेपाल
२४ वैशाख २०८२ १२:२१
344
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको विवाद सुल्झिनुको साटो लामो समयदेखि बल्झिँदै गएको छ।

सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्टलाई पुनर्बहाली गर्न अध्यक्ष प्रचण्डले निर्देशन दिँदासमेत पालना हुन सकेको छैन।

अध्यक्ष प्रचण्डले पटक-पटक लिखित र मौखिक निर्देशन दिँदा पनि कार्यान्वयन नगरेर अलपत्र राखिएको छ।

२०८० फागुनमा संसदीय दलको नेताबाट भट्टलाई हटाएर मानबहादुर धामी दलको नेता बनेका थिए। तर, अध्यक्ष प्रचण्डले सहमतिमै विवाद समाधान गर्न र भट्टलाई दलको नेता बनाउन पटक-पटक दिएको निर्देशन पालना भएको छैन।

निर्देशन पालना नभएपछि प्रचण्डले सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने माओवादीका १० सांसदलाई छलफलका लागि काठमाडौं बोलाएका छन्। आज प्रचण्ड निवास खुमलटारमा उनीहरूबीच छलफलका लागि समय निर्धारण भएको छ।

‘पार्टी अध्यक्षकै पटक-पटकको निर्देशन कार्यान्वयन भएको छैन। पार्टीको निर्देशन अवज्ञा भएपछि अध्यक्षले गम्भीर रुपमा लिनुभएको छ। हामीलाई छलफलका लागि बोलाइएको छ। समस्या समाधान हुनेमा विश्वस्त छौं,’ सुदूरपश्चिम प्रदेश सभाका सांसद रमेश धामीले भने।

पछिल्लो पटक प्रचण्डले सांसदहरूलाई आफू कैलाली पुग्नुअघि दल नेताको विवाद साम्य पार्न निर्देशन दिएका थिए। तर, त्यसपछि प्रचण्ड दुई पटक कैलाली पुगे। निर्देशन कार्यान्वयन भएन।

विवाद गम्भीर मोडमा पुगेपछि प्रचण्डले आफैँ अग्रसर भएर विवाद समाधानका लागि भूमिका निर्वाह गर्ने भएका हुन्। अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले दुईपटक लिखित रुपमा खगराज भट्टलाई सुदूरपश्चिम प्रदेश संसदीय दल नेतामा पुनर्स्थापित गर्न निर्देशन दिएका थिए।

एक वर्ष बितिसक्दा पनि माओवादीको सुदूरपश्चिम संसदीय दलभित्रको विवाद साम्य हुन सकेको छैन। २०८० माघ १२ गते मानबहादुर धामीको नेतृत्वमा बहुमत सांसद जुटाउँदै खगराज भट्टलाई दल नेताबाट हटाइएको थियो।

धामी पक्षले बहुमत जुटाएर दल नेता फेर्नु पर्ने अडान राखेको छ। संसदीय दल नेताबाट भट्टलाई हटाउँदा सभामुखबाहेकका १० सांसदमध्ये भट्टको पक्षमा ४ जना सांसद थिए। धामीको पक्षमा ६ सांसद रहेका थिए।

अहिले माओवादी सुदूरपश्चिम संसदीय दलमा खगराज र मानबहादुर समूहमा ५–५ सांसद छन्। खगराजको पक्षमा शिवसिंह ओली, झपट साउद, रमेश धामी, जानकी पौडेल कुँवर छन्।

मानबहादुरको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *