लघुकथा : उपहार

रातभरि ऊ सोचिरह्यो,`के दिनेहोला?´
उसलाई रातभरि निन्द्रा परेन। बिहान उज्यालो हुँदासम्म उसले अझै टुंगाे लगाउनै सकेन।
छट्पटाउँदै फेरि सोच्यो, ` टिसर्ट दिऊँ भने उसैका जत्ति नि छन्। फ्रेम दिऊ भने अरुले नि त्यहीँ दिने होलान्। जुत्ता पनि उसैसँग जत्ति पनि छन्।´
एक कप चिया पियो। मोबाइल हातमा खेलाउँदै आफ्नै मनलाई प्रश्न गर्छ, ऊ `के चाहिएको छ, सोधु कि क्या हो?´
`ह्या! लाजै मर्नु हुन्छ होला। सोध्यो भने त फेरि केही चाहिँदैन, भनिहाल्छ नि! ´अर्को मनले भन्यो।
`मिल्ने साथी हो। हरेक कुरामा सघाउँछ। हामीभन्दा हुने खाने पनि छ। तैपनि भिन्न चिज के दिऊँ खै? जसको महत्व नै बेग्लै होस्।´
ऊ लगातार सोचमा नै घोरिइरह्यो। समयले उसलाई पर्खिएन। तोकिएको समयमा ऊ साथीको घर पुग्यो। मनमनै खुसी थियो। सबै जम्मा भइसकेका रहेछन्। केक काटियो, खाइयो। सबैले खुसी बाँडे। केही न केही दिए?
आफ्नो पालोमा उसले उपहार दिँदै भन्यो, `समय बलवान् छ, समयले पर्खदैन बगेको खोला फर्कँदैन भन्छन्। सधैं समयको महत्व बुझाउने तिमीलाई जन्मदिनको शुभकामनासहित मेरो उपहार घडी है।´
गैंडाकोट ४ नवलपुर
Facebook Comment