गद्य कविता : अनुभव
कर्तव्य र जिम्मेवारीले थिचेपछि
खुलेर हाँस्न पनि बिर्सिएछु
सबै हाँस्दा हाँसीदिने
सबै नाच्दा नाचीदिने
पहिचान हराएको पात्र भएछु?
साथीसँगीमाझ हरवखत हुँने म
सदा रमाइलो गर्न मन पराउने म
जिन्दगी यस्तै हो भनि सोच्ने म
बल्ल बुझ्दैछु , सोचे जस्तो नहुँदो रहेछ।
सबैको चित्त बुझाउँदा बुझाउँदै
सबैका खुड्किला बन्दा बन्दै
म त आफैं सर्वनाम भएछु।
कन्यादान दिनुभयो बाबा गोत्र सारियो
सिउँदोमा सिन्दुर परेपछि थर फेरियो
घरमा सबै मेरो हो भनि धाक जमाउने म
आज त्यसैलाई माइतीभन्दा लरबराए
पछाडि फर्किएर हेर्दा आफैं बिरानो भएछु।
सम्झिएर हेर्दा ती दिन अचेल
आफैंले आफैंलाई चिमोट्न मन लाग्छ
केवल मनसपटलमा मात्र कैद छन् ती याद
अहिलो जिम्मेवारीको भारी बोक्ने पात्र भएछु।
सासुको लागि संस्कारी बुहारी बने
श्रीमानको लागि आदर्शवान नारी
सम्बन्धको भुमरीभित्र जेलिएर
म त आफैं गुमनाम भएछु।
सबैको मन राख्दा राख्दै
यति गहिराइमा पुगेछु कि खुलेर हाँस्न बिर्सिएछु।
आफ्नो लागि त समय नै छैन
म त इसारामा चल्ने पात्र भएछु।
निर्धक्क डटेर हिँड्ने गर्थें
मनमा लागेका कुरा सहजै बोल्थे
यसो पछाडि फर्किएर हेर्दा
नसोचिकन बोल्ने बानी हराएछु।
स्वतन्त्रता सबैलाई प्यारो हुने
सबैलाई सम्मान चाहिने
सम्बन्धमा खरा उत्रँदा- उत्रँदै
सबैलाई पूर्णता दिँदा- दिँदै
म त आफैं अल्पविराम भएछु।
सन्तानका लागि ममतामयी माता
घरको लागि मजबुत खम्बा
कुटुम्बको लागि मान गर्ने पात्र
सम्बन्धको जालोमा घेरिएर
म त सहनशीलताकी पात्र भएछु।
गैंडाकोट- ४, नवलपुर
No ads found for this position


Facebook Comment