सङ्खुवा खोलामा बेलिब्रिज जडान
खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ बुम्लिंगटार जोड्ने सङ्खुवा खोलामाथि बेलिब्रिज जडान गरिएको छ।
सिलिचोङ गाउँपालिकाले राष्ट्रिय गौरवको आयोजना घोषणा गरी आफ्नै बजेटबाट निर्माण सम्पन्न गरेको सो पुलको गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले उद्घाटन गर्नुभयो। करिब रु चार करोड ३९ लाखको लागतमा ३९ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो।
यसअगाडि स्थानीयवासी काठ र बाँसको फड्के प्रयोग गरी जोखिम मोलेर खोला तर्दै आएका थिए। अहिले पुल बनेसँगै सुरक्षित र भरपर्दो आवागमनको सुविधा पुगेको अध्यक्ष मेवाहाङले बताउनुभयो। पुलसँगै सडकको दायाँबायाँ ग्याविन तारजाली भर्ने र ढुङ्गा ओछ्याउने कामसमेत सम्पन्न भइसकेको छ।
पुल निर्माणपछि मांतेवा, याफू र ताम्कु गाउँका करिब तीन हजारभन्दा बढी बासिन्दालाई खाँदबारी सदरमुकाम आवतजावत गर्न सहज भएको छ। छिमेकी बुम्लिंगटार क्षेत्रका स्थानीयवासीलाई सङ्खुवासभातर्फको यात्रा थप सहज र सुरक्षित बनेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment