लघुकथा : दृष्टिकोण
नयाँ महिला प्रधानमन्त्रीको स्वागत समारोहमा श्यामला चौबन्दी चोलो र सारीमा चिटिक्क परेर आएकी थिई। कस्तो सुहाएको उसलाई सारी चोलो!
उष्ण हेर्याहेर्यै भयो।
उष्णले श्यामलालाई यत्ति राम्री कहिल्यै देखेको थिएन।
ऊ श्यामलाबाट दृष्टि हटाउँथ्यो; फेरि कसोकसो दृष्टि उसैमा गएर ठोक्किन्थ्यो। ऊ फेरि हटाउँथ्यो, केही क्षणपछि फेरि उसैलाई हेरि रहेको पाउँथ्यो-आफूलाई।
आफ्नो अचेतन मनको यो प्रक्रिया गमेर उष्ण मनमनै हाँस्यो।
भोलिपल्ट उष्णलाई डाक्टरको क्लिनिकमा देखियो। भन्दैथियो-“मलाई महिला हुनु छ।”
डाक्टरले हाँस्दै भन्यो-“अब त्यो बायाँ हातको खेल भइसक्यो। अब आउँदा गोजीमा कुस्त पैसा र साथमा कुरूवा लिएर आउनु भए हुन्छ।”
डाक्टरकहाँबाट निस्किएपछि उष्ण घर गएन, सोझै श्यामलालाई भेट्न गयो र भन्यो- “मलाई सारी चोलो लगाउन सिकाई दिन्छ्यौ?”
श्यामलाले भनी-“हुन्छ; सिकाइ दिन्छु। त्यो तिमी चाँडै सिक्न पनि सक्छौं। बरु भर्याङ उक्लिँदा सारी उचाल्ने अभ्यास आजैबाट सुरू गर। नत्र अझल्टिएर लडौला नि।”
उष्ण विदा भएपछि श्यामलाले उसलाई परसम्म हेरी रही।
No ads found for this position


Facebook Comment