लघुकथा : समर्थन
को-को, कुन- कुन पदमा मन्त्री बन्ने भए ? सबैको चासोको विषय बनेको छ।
फेरि उही पुरानै सिष्टम दोहोरिने त होइन। मान्छेहरू सञ्जाल, अनलाइन खबर, पत्रपत्रिकामा नजर डुलाउँदै थिए। एकअर्काको मुखामुख हेर्दै आ-आफ्नो राय राख्न व्यस्त देखिन्थे। भिडको प्रकृतिअनुसार मान्छेको समर्थन गरेको देखियो। भिडको बीचबाट पहिलोले भन्यो, “रामले राम्रो काम गर्छ, त्यो दक्ष पनि छ। मन्त्री पद त्यसैलाई दिँदा हुन्छ ।“
दोस्रोले भन्यो, “ कार्यक्षेत्र अनुसारको मन्त्री हुन्छन् । जो जसमा योग्य होलान्, उसैले पाउँलान्।’
पहिलो चर्किएर बोल्यो, “अहिलेसम्म चलिआएको चलनलाई निमिट्यान्न पार्नु भएन नि ! जसको सरकार छ, त्यसका आसेपासेले चान्स पाउनु पर्छ नत्र कहिले होर पद पाउनी ? जसको शक्ति उसको भक्ति ।” उसले सहजै भन्यो
भिडमा गाइगुइ सुनिन थाल्यो। कसैले पहिलोको समर्थन जनाउँन थाले त कोहीले दोस्रोको, पक्ष विपक्षमा मतभेद हुन थाल्यो । मौकाको फाइदा उठाउँन पहिलो चलाख देखियो।
दोस्रोले उसको चलाखी थाहा पायो र शान्त स्वरमा भन्यो, “ हेर्दै जाऊ, समयले देखाउँला।’ सबै नियाली रहेको तेस्रो निडर हुँदै बोल्यो, “ नातावाद र कृपावाद गयो,अब सच्चा देशभक्त, विज्ञ र इमान्दार जो कोहीको समर्थन हुनेछ।’
लघुकथा : धैर्य
ल कृष्ण त फेल भएछ।
कृष्ण र अर्जुन मिल्ने साथी थिए। आमाहरूको पनि मिलाप गहिरो थियो तर पढाइका विषयमा चाहिँ यदाकदा ठाकठुक परिरहन्थ्यो।
अर्जुन पढाइमा अब्बल तर जिद्दी स्वभावको थियो। ऊ हरेक कुरामा अगाडि आउँने हुनाले घरपरिवारले गर्व महसुस गर्थें। कृष्ण आफू कमजोर भएकाले उसले कहिल्यै घमन्ड गरेन।
समय बित्दै गयो, उमा र ताराले विगतलाई कोट्याए। ताराले भनी, ” मैले कृष्णले कहिल्यै गरिखाला जस्तो लागेको थिएन ? तर अहिले उसको प्रगती देखेर खिन्नता बोध हुन्छ ।” उसले मिश्रित भावमा भनी।
उमा, “अर्जुन साह्रै राम्रो थियो पढाइमा, किन बीचैमा छाडेछ? पढेको भए घर, समाज र देशकै लागि योग्य भएर निस्कन्थ्यो। सम्झाइनस्।” उसले सान्त्वना दिई।
“के गरिन होला? पहिला चलाख थियो, सबैले मत्याए, अहिले कुलतमा फस्यो।” तारा सम्झिएर विरक्तिई
पहिला आँफूले गरेका व्यवहार, छोराको चालचलन र कृष्णको बानी दाँज्दै उसको फेरि गुनगान गाउन थाली।
उमा, ” जान्नु मात्र सबै कुरा होइन, जीवनको लक्ष्य प्राप्त गर्न धैर्य, लगाव र निरन्तरताको आवश्यक हुन्छ।” उसले आत्मविश्वासले भनी।
लघुकथा : जेनजी
बाटो रगताम्मे भएको छ, कसैलाई को हो भनेर सोध्ने फुर्सद छैन?
सडकमा वेथिति, विसङ्गति र भ्रष्टाचारका विरुद्ध आवाज चर्किएको छ। युवाहरूको जोसलाई कसैले काबुमा राख्न सकेन? सङ्गैको साथी लडाएर दबाउन खोज्दा पनि आवाज बुलन्द रह्यो।
सत्ता पल्टियो, भौतिक क्षति अथाह भयो। चोक-चोकमा अब के होला भन्ने विषयको चर्चा चलेको छ? सबैका कान ठाडा छन्।
टेबल गफमा केही बुद्धिजीवी भनाउँदा गफ्फिदै थिए। एउटाले भन्यो, ” स्याल मार्न गएका थिए तर बाघ मर्याे न खान सके नत घिसार्न नै,पत्तै पाएनन्।”
अर्कोले जवाफ फर्कायो, “युवा भनेको युवै हो, तिनीहरूको जोसलाई मान्नुपर्छ, तर त्यहाँ जेनजी मात्र नभएर तेस्रो पक्षको घुसपैठ भएको देखियो। के यो साँचो हो?”
एउटाले लामो सास तान्दै भन्यो, “अनुसन्धानले देखाउँला, आफ्नै देशका नागरिकलाई त्यसरी अन्धाधुन्ध गोली चलाउँने प्रहरी पालेको पनि बेकारै रहेछ।” उसले थप्यो
“नेताका घरमा पुग्दा पैसा बिटाका बिटा, ज्यानको माया कति हो? राज्यको ढुकुटीभन्दा नेताका घरमा धेरै। किन चाहिन्छ हो त्यत्रो?” पहिलोले विरक्तिएको स्वरमा फेरि थप्यो।
“यिनीहरूले काम गरेर जनताको मन जित्ने होइनन्, क्यारे! पैसाले राजनीति गर्ने मान्छे परे, आउँने चुनावलाई राखे होलान् नि। न भिजन छ न कार्यशैली।” अर्कोले समसामयिक परिवेश दर्सायो।
दुबैका कुरा सुनिरहेको तेस्रो चर्किएर बोल्यो, “नेता अवसरवादी हुन् कालो सूचीमा परे भने जेनजी इतिहासमा सदा अमर रहे।”
No ads found for this position


Facebook Comment