बाजेको दशैं

यज्ञराज जोशी
१६ असोज २०८२ ८:२९
20
Shares

मुखियाको आगानी।

गाउँ भरिका मान्छे।

पञ्चमाला भरिको अक्षता र जमरा।

नवराता भरी घन्किने पञ्चेबाजाका धुन।

बस, घैलाबौनिया निवासी ८२ वर्षीय देवराज विनाडीको मानसपटलमा दसैं आउने वित्तिकै पुराना दिनको सम्झना आउँछ।
नवराताका नौ दिनसम्म देउडा खेलेको सम्झना आउँछ।

अझ त्योभन्दा पुरानो बाल्यकालमा फर्किने हो भने गाउँको सल्लेरी डाँडामा बाबियो काट्दै पिङहालेर चचहुई सरसररर… गरेको सम्झना।
उमेर बुढेउली भयो। तर, विनाडिका सम्झना बुढेउली भएका छैनन्।

बाजे पहिलेको दसैं कस्तो हुन्थ्यो?

चाउरिएको निधारमा हसिला धर्सा तेस्याउँदै विनाडिले भने, ‘नाति कुरै नगरौं। कति रमाइलो हुन्थ्यो, हुन्थ्यो। उहिलेको पो दसैं। अहिले दसैं दसैं जस्तै लाग्दैन।’
उनी दसैंमा उमंग नै बेग्लै हुने बताउँछन्।

‘सबै मुखियाको घरमा जम्मा हुन्थे। हाम्रो परिवार नै मुखिया हो। गाउँलेहरूको आगमनले हाम्रो आगनी ढपक्कै ढाकिन्थ्यो’, उनले भने, ‘ठूलाले सानालाई पालैपालो जमरा र टीका लगाउँथे। अनी एक आना दुई आना गरेर गक्ष अनुसार मुखियाले दक्षिणा र आषिस दिन्थे।’

उनी त्यो बेला एक आना पैसाको पनि निकै महत्व हुने बताउँछन्। ‘एक आनाले १२ वटा सलाई आउथे नाति। उहिले जवाना नै बेग्गै थियो’, उनले भने।

उनको पुर्खेउली घर डोटीको जोराघाट हो।

उनले जीवनका गरिब ५०र६० वसन्त डोटीमै बिताएका छन्।

उनका थुप्रै दौतरीहरुले प्राणपखेरोसमेत त्यागि सकेका छन्। तर, ति साथिहरुसँग विताएका एकरएक पल उनको दिमागमा घुमिरहेका हुन्छन्।
चतुर्दसिसम्म दसैं मान्ने चलन छ। चतुर्दसिमा राँगो काटेपछि दसैं सकिन्छ।

चतुर्दसिको अघिल्लो दिनबाट नै गाउँमा राँगोलाई दौडाउने। रातभर देउडा खेल्दै रमाइलो गर्ने र चतुर्दसिको दिन क्षेत्रि वा ठकुरी समुदायका मानिसले राँगो काट्ने परम्परा रहेको उनी सुनाउँछन्।

उनी अहिले दसैंमा मेला र जात्रा नै नहुने बताउँछन्। ‘अहिले त मेला र जात्रा नै लाग्दैन। खालि पसल मात्रै हुन्छन्। देउडा खेल नै लाग्न छोडिसके। पुराना धेरै देउडिया मरिसके। नयाँ पुस्ता देउडासँग रमाउनै चाहदैन’, उनले भने।

अहिले देउडा खेल भए पनि पुराना शैलीका गीत नै नहुने उनी बताउँछन्।

बाजे पुराना गीत याद छन्।

लजाउँदै उनले हास्दै भने, ‘हा…हा…हा… अँ किन याद नहुनु।’

ल बाजे एक टुक्का सुनाउन पर्‍यो।

केटो- काकडिका छियामिया तोरङ्गलका बिया

तेरी जोई गोल्काखी आइछि गोल्का टिपि दिया

केटी- दुई जना विचल्लै गइछ्या मैरलै जान्दिया

तेरो पोइ आम खान खाइछ्यो मैर नै खान्दिया

उनी पुराना गीत यस्तै मिठा मिठा सवालजवाफमा हुने बताउँछन्। देउडा खेल्दै रात विताएको सम्झना छ उनीसँग।

कतिले त देउडा खेलेरै घरवार बिसाउने गरेको उनी बताउँछन्। देउडा भनेपछि दसैंमा जात्रा लाग्ने ठाउँमा दश गाउँका मानिसहरु भेला हुने उनले सुनाए।

पहिले एक गाउँ मात्र नभएर दश गाउँकै बिचमा सौहाद्रतापूर्ण वातावरण हुने विनाडि बताउँछन्। ‘लगभग दश गाउँसम्मकै मानिसले एक अर्कालाई चिनिरहेका हुन्थे,’ उनले भने।

उनले नाम चलेका देउडियालाई निकै टाढासम्म नै बोलाउने चलन रहेको बताए।

अहिले त दसैंको नामा थुप्रै विकृति आएको उनी बताउँछन्। लाहुर गएको छोरोले गाउँने नमुछे आमा दहिमा टिका नछरे जमरा… जूस्ता पुराना गीत सम्झिँदै उनी भन्छन्, ‘अहिले त अर्थ त पर्थका दसैंनै होकी यो मेरो दशा जस्ता गीत सुनिन्छन्। जो सुन्दै पट्यार लाग्दा हुन्छन्।

उनी संस्कृति गहना भएकाले त्यसलाई त्यही रुपमा सुन्दर र सौहाद्रताका साथ मनाउनु पर्ने बताउँछन्। र, भन्छन्- युवा पुस्ताले पनि संस्कृतिमा विकृति नल्याओस्। पुन संस्कृतिको मर्म जे हो त्यही रुपमा मनाओस्। संस्कृतिको मौलिकता नमासिओस्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *