कथा : वे टु गडसेरा

सुभाष संकल्प भण्डारी
१८ असोज २०८२ ७:१८
28
Shares

कस्तो अचम्म! विज्ञान प्रविधिले सञ्चारको दुनियाँमा अपत्यारिलो चमत्कार गरिदिए जस्तो लाग्छ। फेसबुक खोलेको मात्र के थिए, इन्बक्समा भएका मेसेजहरु मेरा नजरसम्म पुग्न तछाडमछाड गरिरहेका थिए।

डोकोबाट बाहिर निस्कन लागेका बाख्राका पाठाहरुजस्तै। ‘गडसेरा जाने हो’ तिर्थको मेसेज मेरो नजरमा परेर मानसपटलमा घुमिरह्यो।

‘गडसेरा’ शब्दले नै मेरो मगजमा सुन्दर आकृति खिचिसकेको थियो। दश वर्ष भन्दा पहिलेको गडसेराको चित्र मेरो मानसपटलको आँगनमा खेलिरहेको थियो। यो मन आँतुर थियो, गड्सेराको सुन्दरतामा रम्न। बनैया पंक्षीहरुसँग मितेरी गाँस्न। धेरै सोच्नै भ्याइएन।

मेरा औँलाहरु कम्प्युटरको किबोर्डमा लम्किसकेका थिए। र टाइप गरिदिए ‘यस’। त्यसपछि सुरु भयो गड्सेरा तिरको यात्राको श्री गणेश। लक्ष्मीले ग्रुप च्याट सुरु गर्‍यो। ‘धनगढी टु गड्सेरा’।

दश जना साथीहरुको ग्रुप बन्यो। मुकुन्दे, लक्ष्मी, तीर्थे, रमेश, टेकराज, चन्द्र, प्रेम, दिनेश, विकास र म। ग्रुप च्याटमा दैनिक कम्युनिकेशन हुन्थ्यो। कहिले जाने ? कसरी जाने ? के के लैजाने?

हाम्रो कुलदेवताको पूजा हुने अवसर। बसन्त ऋतुको याम। काफल र ऐँसेलुको स्वाद चाख्न पाइने मौसम। एक काम दुई पन्थ हुने। आफ्नो कुलदेवता केदार भागेश्वरको पनि पूजा हुने, जन्मस्थान गड्सेराको पनि भ्रमण गर्न पाइने। सबैको मन चञ्चल र आँतुर थियो। डेट फिक्स भो २०७२ साल बैशाख १८ गते।

जति गड्सेरा जाने दिनहरु नजिकिदै थिए, त्यति नै यो मन चञ्चल र उत्साहित बन्दै गइरहेको थियो। धनगढी बसपार्कबाट दश ओटा टिकेट बुक ग¥यौँ। कुलदेवताको पूजाको लागि पूजा सामग्री खरिद गर्‍यौं। बाटोको लागि केही ड्राई फूड खरिद गर्‍याैं। गाउँले भाइबहिनीहरुको लागि केही चकलेट बिस्कुट प्याक गर्‍यौं।

ठ्याक्कै बाह्र वर्ष भईसकेको थियो गड्सेरा नफर्किएको पनि। कक्षा १० को टेष्ट परीक्षा दिएर आइसकेपछि गड्सेरा जाने लगन नै जुरेको थिएन भनौँ। धेरै पटकको प्रयास पछि यसपाली म लगभग जान ठिक्क भइसकेको थिएँ।

पटक पटक टिकट समेत क्यान्सिल गर्नुपरेको थियो। तर, यसपाली त्यस्तो लक्षण केहि थिएन। सबै कुराको व्यवस्थापन गरिसकेको थिएँ। जीवन यस्तै रहेछ, अनायासै के के हुन्छ। जान्छु भनेर पनि कति पटक जान सकिएन।

कुनै पूर्व योजना बिना नै यसपटक गड्सेराको यात्रा तय गरिसकेको थिएँ। मन चङ्गा भइसकेको थियो। हुन त भौतिक रुपमा यो शरीर धनगढीमा भए पनि मन त प्रत्येक पल गड्सेरामै घुमिरहेको हुन्थ्यो। त्यहीँको हावामा उडिरहेको हुन्थ्यो। गड्सेरी गाडमा पौडी खेलिरहेको हुन्थ्यो बनैया पिङ्हरुमा झूमिरहेको हुन्थ्यो।

धनगढीमा क्रमशः गर्मी बढिरहेको थियो। सडकको किनारमा ठेलामा आइसक्रिम राखेर ग्राहक पर्खिरहेको दृश्य बाक्लिदै थिए। मान्छेले सफा गर्न नसकेका फोहोर प्रकृति आफैले आँधीहुरी बनेर सघाइरहेकी थिई।

फाट्टफुट्ट रुपमा छाता ओढेर निस्कने पैदल यात्रुहरुको संख्यामा पनि उकालो लागिरहेको थियो। एक दुई गर्दै दशै जना धनगढी बसपार्क पुग्यौँ। सबैको ओठमा मुस्कान छाइरहेको थियो।

अनुहारमा नयाँ चमक पनि। एक जोडी आँखामा बेग्लै उत्साह र उमंग दौडिरहेको थियो। सबैको काँधमा एउटा एउटा झोला। तिर्थे र लक्ष्मीको कानमा एयरफोन। रमेशको घाँटीमा ठूलो क्यामरा।

गाडीले लामो हर्न बजायो। सायद बसपार्कबाट गन्तव्य तिरको संकेत थियो। आ-आफ्नो सिटमा बस्यौँ। बिस्तारै गाडीले गति लियो। यात्रुहरुको खचाखच भिड थियो। चुईगम चपाएर प्याट्ट-प्याट्ट गरिरहेका केही युवकहरुले दिक्क लगाउँथे।

तराईको समथर मैदानलाई छोडेर गाडीले पहाडको बाटो सुरु ग¥यो। गोदावरीमा भगवान्लाई ढोग्यौँ र मनमनै सुरक्षित यात्राको लागि पनि कामना र प्रार्थना गर्‍यौं। गोदावरीका घुम्तीहरुमा यात्रा गरिरहँदा सुदूरपश्चिम महोत्सवमा चर्खा खेलेको भान हुन्थ्यो।

जति जति बसले पहाडतिरको उकालो नाप्थ्यो उति उति चिसो हावाले बसको झ्यालबाट चिमोठ्ने सुरु गथ्र्यो। त्यसबेलाको आनन्द नै बेग्लै। हाम्रा नजरहरु झ्यालको सिसाबाट प्राकृतिक सुन्दरताको रस्वादन गर्नमा अभ्यस्त थिए। सडकको किनारमा देखिने हरिया रुखहरु हिडिरहेको जस्तो लाग्ने।

तराईको तातो हावा विस्थापित भएर बनैया बोटवृक्षबाट निस्कने मिठो सुगन्ध सहितको ठण्डा ठण्डा हावाले हाम्रो यात्रालाई आनन्दायी बनाइरहेको थियो। सबै मौन थियौँ। सायद गोदावरीको घुम्तीहरुमा मन्त्रमुघ्न थियौँ।

ड्राइभरले म्युजिक सुरु गरे। ऐंसेलु किन्भडी झुल…. फूलिरयै प्याउली फूल…… र अकस्मात कतैबाट नमिठो गन्ध आयो। नजरहरु डुलाएँ। विकासले त सुरु गरिसकेछ क्या। तराईमा खाएको कुनै पनि खानेकुरा पहाड नलग्ने रे। लगातार बान्ता गरिरहेको थियो।

बसको यात्रा खासै फाप्दैन उसलाई। हैरान देखिन्थ्यो। शरीर शिथिल। उसलाई समर्थन गरेर पछाडिको सिटमा पनि एक दुई जना म्युजिकको तालमा झ्याल बाहिर छाँदिरहेका थिए। मोसन सिक भएर होला। विकासलाई ल्वाङ सुकमेल मुखभित्र राख्न सल्लाह दियौँ। केही शान्त भयो।

गोदावरीको उकालो काटेर बुढितोलाको सडकमा छाप्राहरुमा धुँवा फुस्फुसाइरहेको देखिन्थ्यो। ‘समुन्नत बाख्रा पालन समूहमा आएर केही अध्ययन अनुसन्धान गरेका थियौँ। खानीडाँडामा बस रोकियो। ‘सापकोटा चिया नास्ता पसलमा’ चिया नास्ता गर्‍यौं।

बसले गति लियो। भासुको भिरमा बस गुडिरहँदा यो मनभित्र कताकता डरले सवार गरिरहेको रहेछ। सडक किनारमा दुर्घटनामा ज्यान गुमाएका ड्राइभरको नाममा कहीँ कतै स्तम्भ बनाइएका देखिन्थे।

धेरै पटक यहि सडकमा थुप्रै सडक दुर्घटना भएको सुनेको थिएँ। तर आजकल सडकको स्तरोन्नती भएको रहेछ। यस्तो डरलाग्दो भिरमा समेत सडक पुर्‍याउने अज्ञात इन्जिनियर र कामदारलाई सम्झेँ।

सहजपुरको सल्लाघारीमा बस ओरालो लाग्यो। सल्लाको पातहरु खसेर सडक किनार कार्पेट विछ्याए जस्तो देखिन्थ्यो। लाग्थ्यो, प्रकृतिले रातो कार्पेट विछ्याएर पाहुनालाई आफ्नो आँगनमा स्वागत गरिरहेछ। सल्लाको रुखबाट खोटो चुहिरहेको देख्दा बाल्यकालमा आफ्नै नाकबाट चुहिरहने सिगानलाई सम्झेर मनमनै हाँसे पनि।

केहीछिनको ओरालो सिध्याएर गुरुजीले स्टेरिङ दाँया घुमाए र सुरु भयो सहजपुर विपीनगर सडकखण्ड। पिच रोड सिद्धिसकेको थियो। ग्राभिल सडकमा गाडी गुडिरहँदा बसभित्र शरीरले विभिन्न शास्त्रीय नृत्य देखाइरहेको हुन्थ्यो। खलासीले पेनड्राइभ निकाले र घन्कियो ड्राइभरको बाटोमा धुलो उडाउँदै …।

तिर्थे र रमेश उफ्रिउफ्रि नाचिरहेका थिए। तर कसैकसैलाई बसको यात्रा पट्यार लागिरहेको पनि स्पष्ट लख काट्न सकिन्थ्यो। कोहीकोही हाई काट्दै अल्छी मानिरहेका थिए। सबै यात्रुतिर नजर डुलाइरहँदा अकस्मात् एउटा दृश्यले मेरोे ध्यानाकर्षण गरायो।

पछाडिको सिटतिर एउटा नव विवाहित जोडी मायाका सौगात साँटासाँट गर्नेतिर व्यस्त थिए। मेरो मनभित्र पनि नजाँनिदो पारामा बिहे गर्ने चाह पलाएर आयो। र सम्झिएँ दुलहा भएर मण्डपमा घुमिरहेको। दिवास्वप्नको धरातलमा पौडिरहेको भेट्टाएँ।

कल्पना गर्न थाले विवाह पश्चातको हनिमुन पिरियडको। कुन ठाउँ रोज्ने होला मेरी उनीको लागि। नैनीताल, पोखरा, ईलाम नगरकोट, गोदावरी, सौराहा, खप्तड थुप्रै ठाउँहरुले एकै पटक डेरा जमाए। एक्ल एक्लै रमाएँ आफ्नै कल्पनाको संसारमा।

चन्द्रले चुट्किला भट्याइरहेको थियो। मुकुन्दे उट्पट्याङ गरिरहन्थ्यो। प्रेम र दिपकको मुखबाट हाँसोको फोहोरा निस्किरहन्थ्यो। समूहमा यात्रा गर्दाको मजै बेग्लै हुने। विकास पनि सामान्य देखिन्थ्यो। भरतपुरमा कसैले गाडी रोक्ने ईशारा ग¥यो। गुरुले गियर घटाए, ब्रेक लगाए।

एउटा मानव आकृतिमै मेरो एक जोर नजर टक्क गएर अडिए। मबाट केहि इन्चको दुरीमा मात्र थिई। ऊ कफी कलरको टिर्सट र सेतो हाफ पाईन्ट लगाएर उभिएकी थिई। बिछट्ट राम्री लाग्न थाली।

ओठमा अनारको रसजस्तै कलरको लिपिस्टिक थियो। गर्धनसम्म मात्र झुलेको छोटो कपाल फुक्का छाडिएको थियो। म नर्भस भएँ। मेरै सिट नजिक उभिई ऊ। दाँत टलक्क टल्कने गरी हाँसिरहेकी थिई। हाँस्दा दायाँ गालामा डिम्पल पथ्र्यो। शरीरबाट सुन्तलाको सुगन्ध आइरहेको थियो। हेरिरहेँ एकनाशले उनैलाई। ‘एक्सक्युज मी, अलिकति सिट सेयर गर्न मिल्छ कि ?’

मेरो मनकै कुरा बोली ऊ। मैले भन्नुभन्दा अगाडि नै भनिसकि। रमेश र म कोच्चिएर बस्यौँ। पुरै शरीर कम्पायमान भयो। सहज हुन प्रयास गरेँ। दाँयातिरबाट रमेश चिमोठिरहेको थियो।

पछिल्लो सिटबाट मुकुन्देले आफ्नो आदत जनाइहाल्यो। कतिबेला टुप्पी तानिदिन्थ्यो त कतिबेला स्याउको दानामा पानको पात बनाएर देखाउँथ्यो। जे होस् केटाहरुले मसला पाएका थिए। गुरुले गीत चेन्ज गरेँ। लाग्छ मन हेरिरहुँ एकनास तिमीलाई ….।

बसभित्रको माहोल भिन्न भयो। मेरै मनभित्रको गीत जस्तो। मेरै लागि कसैले प्रिफर गरेको। बस आफ्नो गतिमा गुडिरहेको थियो। ठाउँठाउँमा स–साना खहरे खोलाहरुले यात्रामा केही तिक्तता त केही आनन्द ल्याउँथ्यो। खाल्डाखुल्डीमा बस जम्पिङ हुन्थ्यो। ‘ऐया र आच्छु’ गर्दै यात्रुहरु कराउँथे। मलाई त यस्तै खाल्डाखुल्डी रमाईलो लागिरहेको थियो।

परिचय गर्ने मौका खोज्दै थिएँ। सोचेँ यहि मौका हो सुरुवात गर्ने। मन बलियो बनाएँ। भएभरको साहस जुटाएँ। र ओठ खोलेँ, ‘अप्ठेरो त भएन ?’ मोबाइलबाट नजर सार्दै मेरा आँखामा आँखा जुधाइन्। सायद आँखाबाटै जवाफ दिन चाहन्थिन उनि। मैले बुझ्न सकिन।

‘नाइँ, बरु तपाईलाई पो दुःख दिएँ है।’ मन्द मुस्कान सहित मेरो प्रश्नको जवाफ फर्काइन्। दुःख त कति पाएको थिएँ। मलाई मात्र थाहा थियो। तर कृत्रिम हाँसो हाँसे, ‘छैन छैन, ठिकै छ, अब त अलिकति त हो विपीनगर पुग्न।’ मुकुन्देले झोलाबाट पूजाको लागि ल्याइएको फूल मेरो हातमा थमायो। उनी आफ्नै मोबाईलमा अभ्यस्त थिइन्।

समय समयमा कही‘बाट मेसेज आइरहेको संकेत मेसेज टोेनले दिन्थ्यो। र सँगै ओठहरु अलिकति खुल्थे मुस्कान छर्न। ढोकाबाट भित्रिने चिसो बतासले उनको फुक्का कपाल मेरो अनुहारसम्म ल्याएर छोडिदिन्थ्यो।

सुन्तला कलरको नेलपोलिस लगाएका औँलाहरु मेरो अनुहारसम्म आउन प्रयास गरिरहँदा उनका कपाल फेरि यथास्थानमा फर्किसकेका हुन्थे। र यस्तै लुकामारी चलिरहेको थियो।

केटाहरुले के के भनेर जिस्काए मैले सुन्नै भ्याइन। मुकुन्देले आफ्नो सिमै नाघिसकेको रहेछ। मेरो मन त अहिले अर्कैतिर थियो। अब त नाम सोध्छु भनेर मनमनै सोच्थे तर उनको मोबाइल व्यस्ततालाई भङ्ग गर्न सक्ने आँट जुटाउन सकिन।

झिलिक्क लाइट बल्यो। मुकुन्देले क्यामेरामा हाम्रो तस्विर कैद गर्न भ्याइसकेछ। उनी पनि झस्याङ भइन्। एउटा अनौठो मुस्कानमा मलाई लठ्ठयाउँदै पुनः मोबाइलमै व्यस्त रहिन्।

सडक किनारामा बाख्रा चराउन गईरहेका केटाकेटी देख्दा मलाई आफ्नै बाल्यावस्थाको याद आउँथ्यो। हामी आजको गन्तव्यको नजिक पुगिसकेको संकेत ठूलीगाडले गरिसकेकी थिई। नभन्दै गाडी रोकियो। सबैजना आ-आफ्ना पोका पुन्टुरा बोकेर शरीर तन्काउँदै बाहिर ओर्लिए।

‘थ्याङ्क्यु फर शेयरिङ अ सिट’, अंग्रेजी लवजमा धन्यवाद दिदैँ उनी त्यही यात्रुहरुको भिडमा अलप भइन्, मेरो प्रतिक्रियाको आशै नगरी। जिउ भारी थियो तर मन चरा भईसकेको थियो।

र पखेटा खोलेर उड्न थाल्यो उनैको खोजीमा। सकेन भेट्टाउन उनलाई। छट्पटाइ रह्यो धेरैबेरसम्म यो मन। पोखरीबाट बाहिर निकालेको माछा झैँ तिर्थे जिस्क्याउँथ्यो, के हो रे, गड्सेरा जाने हो कि यतै कतै …?

‘छोडिदे यो कुरा।’ यत्ति भन्न सकेँ। सुर्यले दिन ढल्किसकेको संकेत गरिरहेको थियो। हाम्रो यात्रा आधा मात्रै पूरा भएको थियो। सल्लाह गर्‍यौं। त्यो रात विपीनगरमै बिताउने पक्का भयो।

विष्ट होटेल बुक गर्‍यौं। झोलाहरु राखेर एकछिन फ्रेस भयौँ। चाउचाउ अर्डर गर्‍यौं। गड्सेराको पानी मिसिएको चाउचाउको स्वाद नै मिठो। बेग्लै आत्मानुभूति भयो।

टेकराजको नुहाउन जाने प्रस्ताव राख्यो। ‘वाओ’ विकास पनि उफ्रियो। लाग्यौँ सबैजना ठूलीगाडतिर। चिसो पानी, सेता चिप्ला ढुङ्गा, निलो सफा ताल, कुनै सहरको रङ्गीचङ्गी स्विमिङ पुल, भन्दा कम सुन्दर थिएन त्यो। खुब रमायौँ। वर्षौ देखि तराईको गर्मीमा गलेको शरीरमा नयाँ उर्जा प्रवेश भयो।

शरीरका प्रत्येक अंगप्रत्यङ्ग चलायमान भए। गल्कुडी तालमा पौडी खेल्दाको पल ताजा भएर आयो। जिस्कियौँ खुब। स्वतन्त्र थियौं। मनभित्रको बालापन उम्रिएर आयो र एकपलको लागी बिर्सिदियौं आफूहरु वयस्क नागरिक हो भनेर। मात्तियौँ एकपल प्रकृतिको काखमा। गड्सेराबाट बगेर आएको पानीमा खुब खेल्यौँ नाच्यौँ। अहिलेसम्मका सम्पूर्ण दुःख, तनाव, बिर्सिसकेका थियौँ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *