बिहीबार र शुक्रबार केही जिल्लामा वर्षाको अधिक सम्भावना

डिसी नेपाल
११ कार्तिक २०८२ १२:४७
212
Shares

काठमाडौं । बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवातका कारण मधेस र वागमती प्रदेशमा बिहीबारदेखि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ।

पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्यायले बिहीबार साँझदेखि पर्सा, बारा, रौतहट, सर्लाहीसहित वागमतीमा ‘धेरै वर्षा’को सम्भावना रहेको बताएका छन्।

गण्डकीमा समेत मध्यमदेखि भारी वर्षाको सम्भावना देखिएको उनले बताएका छन्। पर्सिदेखि सुनसरीसम्मको तराई क्षेत्र र ठ्याक्कै यसको उत्तरी क्षेत्रमा रहेका पहाडी र हिमाली क्षेत्रमा पनि भारी वर्षा र हिमपात देखिएको मंगलबार सामाजिक सञ्जालमार्फत उनले जनाएका छन्।

उनले रोल्वालिङ, सगरमाथा, मकालु–बरुण क्षेत्रमा शुक्रबारसम्म पदयात्रा नगर्न सुझाएका छन्। ‘बिहीबार साँझदेखि शुक्रबार मध्याह्नसम्म माथि उल्लेखित जिल्लासहित इलाम–धनकुटा–सङ्खुवासभा–सोलुखुम्बु–तेह्रथुम–पाँचथर–खोटाङ–झापा उच्च जोखिममा देखिन्छन्,’ उनले भने।

उपाध्यायले बिहीबार मध्याह्नदेखि शुक्रबार मध्याह्नसम्म बीपी राजमार्ग र पृथ्वी राजमार्ग तथा काठमाडौं–हेटौँडा जोड्ने कुनै पनि सडकमा यात्रा नगर्न सुझाएका छन्।

शनिबारदेखि पुनः मौसम घमाइलो र रमाइलो हुने भएकाले यो अवधिमा होस गर्न र सुरक्षित रहन उनले आग्रह गरेका छन्।

उनका अनुसार, पश्चिममा अरबसागर र पूर्वमा अण्डमानसागर दुवैतर्फ समुद्री आँधी सक्रिय छ। अरबसागरतर्फको चक्रवातले आज कर्णाली, गण्डकीको धेरै क्षेत्रमा भारी वर्षा र हिमपात भइरहेको छ। मुगु, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङलगायत अन्य हिमाली क्षेत्रमा भारी हिमपात भइरहेको छ।

‘काठमाडौंलगायत तराई र पूर्वी क्षेत्रमा पनि यसको प्रभाव कायम। तर, आज रातिसम्म यसको प्रभाव घट्ने र भोलि बुधबार मौसममा सुधार आउने। काठमाडौं लगायतका धेरै भूभागमा भोलि बुधबार वर्षा नहुने र केहीबेर घाम लाग्नाले न्यानो अनुभूति हुने। बिहीबार बिहान पनि मौसम खुलै रहने,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *