बिहीबारदेखि शनिबारसम्म बागमती, मधेस र कोशी प्रदेशमा मध्यम वर्षाको सम्भावना

डिसी नेपाल
११ कार्तिक २०८२ १७:२४
88
Shares

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आउँदो बिहीबारदेखि शनिबारसम्म नेपालको बागमती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना औँल्याइएको छ।

उक्त प्रणाली सक्रिय भएसँगै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपातको समेत सम्भावना रहेको विभागका प्रवक्ता विभूति पोखरेलले जानकारी दिए।

यस्तै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भने भारी हिमपातको सम्भावना समेत रहेको छ।

उक्त अवधिमा बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरूमा बहाब उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने देखिएको विभागले जनाएको छ। कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ।

विशेषगरी बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको विभागले जनाएको छ।

सम्भावित वर्षा र हिमपातको कारणले नदीनालामा आकस्मिक बहाव, पहिरोलगायत जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रमा समेत प्रभाव पर्न सक्ने जनाउँदै विभागले सम्बन्धित सबै निकायहरू र आमसर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *