लघुकथा : स्वस्थानी

भूमिका गैरे तिमिल्सिना
२६ पुष २०८२ ७:३२
20
Shares

नदीमा नुहाउन जाने होइन।

सखारै सुष्माले प्रतिक्रिया जनाई, “जाने नि, किन नजानु ?” दुबै सँगै लाग्छन्।

झिसमिसेमै नुहाई जल लिएर आउँछन् अनि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनाको व्रतको तयारीमा लाग्छन्।

उषाले फूलमालाले मन्दिर सजाई। दुबैले कठोर तपका साथ भगवानको आराधना गर्न थाले। छिमेकमा खबर गरे। बेलुका-बेलुका कथा सुन्न आउँन आग्रह गरे। उनीहरूको आस्था मन छुने थियो।

शर्मिला नास्तिक स्वभावकी थिई उसले भनी, “के यो जरूरी थियो? ढुङ्गा पुजेर फलको आशा राख्नु उपयुक्त हुन्छ।” उसलाई केवल नाटक लागेको थियो, उसले कर्कश पोखी।

उषाले धार्मिक मान्यता जोडेर सम्झाउन खोजी, ” हेर, माता पार्वतीले कठोर तप गरेर महादेव स्वामी पाऊ भनी व्रत गर्नु भएको थियो। गोमा व्राह्मणीले पनि आफ्नो छोरा नवराजलाई लावन्य देशको राजा बनोस् भनी व्रत गरेको र सो इच्छा पूरा भएको कथामा उल्लेख छ।” उनले सरलताले बुझाउँन खोजिन्।

शर्मिला केही सुन्नै चाहिन र भनी, ” कहीँ नभएको जात्रा हाडी गाउँमा, भन्थे हो रहेछ।” उसले अनुहार खुम्च्याउँदै निन्दा गरी।

फेरि, उषाले इङ्गित गर्दै, “स्वस्थानीको व्रत कथामा चन्द्रावतीले देवीको निन्दा गर्दा कठोर सजाय पाएकी थिइन्।” उसले सत्यको बोध गराई।

दुवैका कुरा सुनिरहेकी सुष्मा बोली, “माने देव नमाने पथ्थर भन्थे, सबै आफ्नो आस्था र विश्वासको कुरा तिम्लाई किन टाउको दुख्यो हँ?” उसले चर्को स्वर गरी।

लघुकथा : चुनाव

लौ चुनाव लागेछ।

पार्टीको चहलपहल सुरु भयो। कोही कता त कोही कता उम्मेदवारी जनाउँनमा व्यस्त देखिन्छन्। सूचना सम्प्रेषणमा अखबार,समाचार, रेडियो लागायत सामाजिक सञ्जाल तातिएको छ । मान्छेहरू भेला हुँने, टेबलगफ गरेका छन् । समसामयिक माहोलको रन्काईले चिसो बिर्सिएका छन्।

कोही मौकाको फाइदा उठाउँन तल्लिन देखिन्छन्। उहीँ पुरानै गतिविधि दोहोर्‍याएको पनि देखियो। चाप्लुसीवाज, टाउका गनेर हाम्रोको नारा लगाएर नेताका विश्वासपात्र बन्न व्यस्त देखिन्छन् त कोही हचुवाको भरमा भविष्यवाणी गरेका छन्। गफ्फिएका बेला पहिलोले अखबारमा नजर डुलाउँदै भन्यो, “माछोमाछो भ्यागुतो भनेझै पो भएछ, पुरानै अनुहार दोहोरियो त?” ऊ उदेक स्वरमा बोल्यो।

अर्कोले सही थाप्यो, “केकनै होला भन्ठानेको त हिस्स बुढी खिस्स दाँत, भनेझै रहेछ राजनीति त।” उसले जिब्रो लोप्राउँदै बोल्यो।
पहिलोले, “राजनीति गर्नेले त जनताको मन जित्नुपर्छ, बल्ल पो विश्वासको पात्र भइन्छ, पैसाको भरमा कहाँ हुन्छ र?” ऊ उपेक्षा एवम् उदेक मिश्रित स्वरमा बोल्यो।

दोस्रोले संकेत गर्दै व्यङ्ग्य कस्यो, ” जटिल परिस्थितिसँग डराउँने होइन, डटेर जसले सामना गर्छ उहीँ युगको चाहना बन्छ । समस्या आफैँमा ठुलो हुदैन बस् त्यसलाई समाधान गर्न नसक्दा ठुलो हुने हो।” उसले छेड हान्यो।

दुबैका कुरा सुनिरहेको तेस्रो कड्किएर बोल्यो, ” लहरो तान्दा पहरो गर्जन्छ भन्थे हेर केटा हो, यस्तै हो भने नसोचेको खोलाले बगाउँछ है।”

लघुकथा : कर्म

आमाको दु:ख नजिकैबाट नियालेकी थिई सीताले। आमाले मेलापात, घाँसदाउरा,वस्तुभाउ चारैतिर भ्याएकी थिइन्। बुबाको मृत्युपछि आमाको दाहिने हात भएकी थिई । चार-चारजना भाइबहिनीलाई हेरेकी थिई रत आमाले बाहिरफेर भ्याएकी थिइन्।

भाइबहिनीसँगै स्कुल जाने आउने, घरधन्दा, पानी पधेँरो,भान्सा हेर्दै जिम्मेवारी बोकेर पढाइ गर्नु चानचुने कुरा थिएन। घरको आर्थिक स्थिति कमजोर हुँदा उसले उफ सम्म गरेकी थिइन्।

उसका साथीहरूले हेच्याएर बोल्थे, उसको खानपान, लवाइखवाइमा व्यङ्ग्य कस्थे। गरिब भएकै कारण अनेक लाल्छना सहनु पर्थ्यो। कहिले चोरको आरोप त कहिले निम्छरो भनेर खिसीटिउरी गर्थे तर ऊ मौन थिई।

सबै नजिकैबाट पर्गेली रहेकी उषा बोली, ” हैन कति सहन सकेकी केही त बोल। अन्याय गर्ने भन्दा सहने बढी पापी हुन्छ, बुझिस्।” सम्झाउँदै उसले केही प्रतिकार गरोस् भन्ने उसलाई लागेको थियो।

उषाले काकीलाई सबै वृतान्त बताई। उसकी आमाले सोधिन्, “किन छोरी, गलतलाई गलत भन्न सकिएन भने हेप्नेले टाउकैमा टेक्छन्।” उनले सुझाव दिइन्।

सबै सुनिरहेकी सीताले आत्मविश्वासका साथ मुख खोली र बोली, “सही समयको प्रतिक्षामा छु आमा तर शब्दले होइन कर्मले जवाफ पक्कै दिनेछु।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *