कविता : मेरो तारा
म भित्रको बादल बीचमा एउटा तारा छ
ताराले हरेक दिन मलाई नियाँलिरहन्छ
केही बोल्दैन निरन्तर मलाई हेरिरहन्छ।
ताराले मलाई हरपल महशुस गरेको छ
मेरो सुख र दुःखको पदचाँपहरू बुझेको छ
हिसाब खोज्दैन निरन्तर मलाई हेरिरहन्छ।
ताराले मलाई बुझेको छ आफैंमा लुकाएको छ
जीवन हिँड्दा थाकेका अनुभूतिलाई राखेको छ
कहिल्यै गुनासो गर्दैन निरन्तर मलाई हेरिरहन्छ।
तारालाई सबै थाहा छ र पनि म सँगै छ
यसैमा जीवनको आकाश बसेको छ
कहिल्यै थाक्दैन निरन्तर मलाई हेरिरहन्छ।
जीवनमा केही क्षण आखाँहरू थाँक्छन्
समुन्द्र बोकिदिन्छन धर्यतालाई धावा बोल्छन्
कहिल्यै तारा थाक्दैन निरन्तर मलाई हेरिरहन्छ।
तारामा मेरो समुद्र छ, कथाहरूका कहानी छ
जहाँ म मेरो अस्तित्व लुकाउँछु त्यहाँ उ छ
कहिल्यै घात गर्दैन निरन्तर मलाई हेरिरहन्छ।।
तारा मेरो समुन्द्र हो जहाँ म पौडिँरहन्छु
म आफैं भित्रको कैयन् आँशुहरू देख्दिन
तारा डुबाउदैन निरन्तर मलाई हेरिरहन्छ।।
तारा मेरो जीवन आस्थाको बिम्ब बोकेर
मलाई सदैव उत्सर्गको बाटोमा घचेटिरहन्छ
आशाहरू थाक्दैनन् निरन्तर मलाई हेरिरहन्छ।
तारा चुपचाप मलाई हेरिरहन्छ
दुःख सुखमा मलाई बोकिरहन्छ
संसार सहेर निरन्तर मलाई हेरिरहन्छ।।
No ads found for this position




Facebook Comment