महसुल नतिर्दा कटहरिया नगरपालिका र खानेपानीको लाइन काटियोः १६ सय परिवार मारमा
रौतहट। रौतहटको कटहरिया नगरपालिकामा विद्युत महसुल बक्यौताका कारण नेपाल विद्युत् प्राधिकरणले लाइन काटिदिएपछि नगरपालिकासहित १६ सय परिवारको बिचल्ली भएको छ।
प्राधिकरणको मौलापुर शाखाले महसुल नतिरेको भन्दै नगरपालिका कार्यालय र वडा नम्बर ५ स्थित खानेपानी उपभोक्ता समितिको विद्युत् लाइन काटिदिएपछि पालिकाको प्रशासनिक सेवा र खानेपानी आपूर्ति पूर्ण रूपमा प्रभावित भएको हो।
यो गर्मी र तातो हावा (लु) चलिरहेको समयमा खानेपानीको लाइन काटिएपछि कटहरिया–४ र ५ का स्थानीय बासिन्दाको जनजीवन कष्टकर बनेको छ। तीन दिनदेखि धारामा पानी नआउँदा पिउने पानीको समेत अभाव भएको स्थानीयले गुनासो गरेका छन्। विद्युत प्राधिकरणको टोलीले तीन दिनअघि नै खानेपानी समितिको मिटर निकालेर लगेपछि नगर क्षेत्रमा हाहाकार मच्चिएको हो।
नेपाल विद्युत् प्राधिकरण मौलापुर शाखाका प्रमुख उमेश दासका अनुसार पटक–पटक ताकेता गर्दा पनि बक्यौता रकम भुक्तानी नभएपछि लाइन काट्नु परेको हो। उनका अनुसार खानेपानी उपभोक्ता समितिले ३ लाख ५१ हजार ४०० रुपैयाँभन्दा बढी र नगरपालिका कार्यालयले ७३ हजार रुपैयाँ बक्यौता रकम तिर्नु छ।
लाइन काटिएपछि नगरपालिकाका जनप्रतिनिधिहरूबीच नै अहिले आरोप–प्रत्यारोप सुरु भएको छ। वडा नं. ४ का अध्यक्ष चन्दन कुशवाहाले मेयर अजय प्रकाश जयसवालको चरम लापरबाहीका कारण जनताले सास्ती भोग्नुपरेको आरोप लगाएका छन्। यता खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले भने यसको दोष नगरपालिकालाई दिएका छन्। मेयर जयसवालले चुनावका बेला र त्यसपछि पनि ’नगरमा पानी निःशुल्क’ गर्ने घोषणा गरेकाले उक्त महसुलको जिम्मेवारी नगरपालिकाले नै लिनुपर्ने साहको तर्क छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माध्वेन्द्र चौधरीले पालिकाको नाममा रहेको ७३ हजार रुपैयाँ बक्यौता दुई दिनभित्र तिरेर प्रशासनिक सेवा सुचारु गर्ने प्रतिबद्धता जनाए। तर, खानेपानी समितिको १३ लाखभन्दा बढीको महसुल भने पालिकाले तिर्न नसक्ने उनले स्पष्ट पारे। यसले गर्दा खानेपानीको समस्या तत्काल समाधान हुने संकेत देखिएको छैन।
गर्मीमा पानी पिउनबाट वञ्चित गराइएको भन्दै स्थानीय उपभोक्ताहरू आक्रोशित भएका छन्। उनीहरूले तत्काल विद्युत जडान गरी पानी आपूर्ति सुचारु नगरे नगरपालिका कार्यालय घेराउ गर्ने र कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
हाल नगरपालिकाको सेवा प्रभावित हुँदा सेवाग्राहीहरू निराश छन् भने नगरवासीहरू खानेपानीका लागि वैकल्पिक स्रोतको खोजीमा भौँतारिरहेका छन्।







डिसी नेपाल







Facebook Comment