कोशी प्राइड लिग जेठ ९ गतेदेखि, प्रतियोगिता सफल बनाउन सहयोगको आह्वान
काठमाडौं। नेपालको प्रमुख घरेलु क्रिकेट लिग कोशी प्राइड लिग (केपीएल) सिजन ३ आगामी जेठ ९ गते (मे २३) देखि सुरु हुने भएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको औपचारिक उद्घाटन मिति सार्वजनिक गरेको हो।
यसअघि जेठ २६ गते प्रतियोगिताको ट्रफी सार्वजनिक (ट्रफी रिभिल) गरिने जानकारी पनि दिइएको छ। कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले कोशी प्राइड लिगजस्ता प्रतियोगिताले खेलाडीहरूलाई व्यावसायिक प्लेटफर्म प्रदान गर्ने उल्लेख गर्दै स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरका क्रिकेट संरचनाबीच सहकार्य आवश्यक रहेको बताए।
खड्काले निजी क्षेत्रको लगानी, स्थानीय समुदायको साथ र क्रिकेटप्रतिको बढ्दो आकर्षणले यस्ता प्रतियोगितालाई सफल बनाउने मुख्य आधार भएको धारणा राखे।
उनले देशभर क्रिकेटप्रतिको क्रेज बढ्दो क्रममा रहेको उल्लेख गर्दै यस्ता लिगहरूले नयाँ प्रतिभा उत्पादन र खेलको व्यावसायिकता विस्तारमा टेवा पुर्याउने बताए।
प्रतियोगिता आयोजना गर्न विभिन्न चुनौती र समय व्यवस्थापनका बाबजुद आयोजक, जिल्ला तथा प्रदेश क्रिकेट संघ, प्रायोजक र सरोकारवालाको सहकार्यले लिग सम्भव भएको आयोजकले जनाएको छ।
कोशी प्राइड लिगलाई नेपालको प्रमुख क्रिकेट प्रतियोगितामध्ये एक बनाउने लक्ष्यसहित अघि बढाइएको आयोजकको भनाइ छ। प्रतियोगितामा सहभागी टिम, खेलाडी र समर्थकको उत्साहले यसलाई अझ भव्य बनाउने विश्वास लिइएको छ।
आयोजकले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्न आव्हान गर्दै नेपाली क्रिकेटको विकासका लागि यस्ता पहलहरू निरन्तर रहने जनाएको छ।







डिसी नेपाल







Facebook Comment