कोलकाताको सानदार जित: फिन एलेनको विस्फोटक शतकमा दिल्ली ८ विकेटले पराजित

डिसी नेपाल
२६ वैशाख २०८३ ६:५५

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति दिल्लीमा सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि ८ विकेटको सहज जित दर्ता गरेको छ।

दिल्लीले प्रस्तुत गरेको १ सय ४३ रनको मध्यम लक्ष्यलाई कोलकाताले मात्र १४ ओभर २ बलमा २ विकेट गुमाएर सजिलै पूरा गर्‍यो। कोलकाताको यो जितमा ओपनर फिन एलेन नायक बने, जसले अविजित एक सय रनको शतकीय इनिङ खेल्दै टिमलाई जिताए।

उनलाई क्यामरुन ग्रीनले ३३ र अजिन्क्या रहाणेले १३ रन जोडेर बलियो साथ दिएका थिए भने दिल्लीका लागि अक्षर पटेलले मात्र एक विकेट लिन सफल भए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ४२ रन मात्र बनाउन सकेको थियो। दिल्लीका लागि पथुम निसान्काले ५० रनको अर्धशतकीय योगदान दिए पनि अन्य ब्याटर चल्न सकेनन्।

आशुतोष शर्माले ३९ र अक्षर पटेलले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न संघर्ष गर्नुपरेको थियो। दिल्लीलाई कम स्कोरमा रोक्न कोलकाताका कार्तिक त्यागी र अनुकूल रोयले २–२ विकेट लिए भने क्यामरुन ग्रीनको नाममा १ विकेट रह्यो।

यो महत्त्वपूर्ण जितसँगै कोलकाता नाइट राइडर्स १० खेलबाट ९ अंक जोड्दै तालिकाको सातौँ स्थानमा उक्लिएको छ। हार व्यहोरेको दिल्ली क्यापिटल्स भने ११ खेलबाट ८ अंकसहित तालिकाको आठौँ स्थानमा खस्किएको छ। यस जितले कोलकाताको अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवितै राखेको छ भने दिल्लीको यात्रा केही कठिन बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *