सरकार जनविरोधी बाटोमा लाग्यो, सुकुम्बासीलाई घरबारविहीन बनाउनु दमन हो : विश्वप्रकाश शर्मा

डिसी नेपाल
२६ वैशाख २०८३ १६:२९

कैलाली। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान सरकारले नागरिकको हकअधिकारमाथि प्रहार गरिरहेको आरोप लगाएका छन्। ‘जरा अभियान’ अन्तर्गत धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका गतिविधिहरू लोकतान्त्रिक मूल्य र मान्यता विपरीत रहेको बताए।

उपसभापति शर्माले सुकुम्बासी र भूमिहीनहरूको उचित व्यवस्थापन नगरी उनीहरूका टहरा भत्काउनु सरकारको निकृष्ट कार्य भएको टिप्पणी गरे।

“सरकार अहिले अनियन्त्रित बनेर गरिबका ओत भत्काइरहेको छ,” उनले भने, “मन्दिर र घण्टीको नारा दिएर सत्तामा पुग्नेहरूले नै आज संरचनाहरू भत्काएर नागरिकमाथि दमन गरिरहेका छन्।” उनले कुनै पनि नागरिकलाई घरबारविहीन बनाउनुअघि उनीहरूको विकल्प सुनिश्चित गर्न सरकारलाई सचेत गराए।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको विषयलाई लिएर शर्माले सरकारको नियतमाथि गम्भीर प्रश्न उठाए। राज्यका सबै निकायहरूलाई नियन्त्रणमा लिने र लोकतन्त्रलाई संकुचित पार्ने रणनीतिमा सरकार लागेको उनको दाबी थियो।

“संविधानको परिधिभित्र रहुन्जेल मात्र हाम्रो समर्थन रहन्छ, तर अहिलेका गतिविधिले सरकार लोकतन्त्र सिध्याउने बाटोमा लागेको देखिन्छ,” उनले प्रस्ट पारे।

पार्टीको आन्तरिक विषयमा बोल्दै शर्माले नेपाली कांग्रेसले विगतका कमजोरीहरू सुधार्दै नयाँ ढंगले अघि बढ्ने संकल्प गरेको बताए। विशेष महाधिवेशनमार्फत पार्टीलाई आधुनिक र सुदृढ बनाउने कार्य भइरहेको उल्लेख गर्दै उनले भने, “हामीले आत्मलोचना गर्दै अघि बढ्नुपर्छ। पुरानो ढर्राबाट अब पार्टी चल्न सक्दैन।”

सोही क्रममा उनले पार्टी नेतृत्वको सन्दर्भमा गगन थापा सभापति भए पनि पूर्वसभापति शेरबहादुर देउवाको योगदानलाई सधैं सम्मान गरिने बताए। देश निर्वाचनतर्फ केन्द्रित भइरहेको उल्लेख गर्दै उनले नेता तथा कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ चुनावी तयारीमा लाग्न निर्देशन समेत दिए।


No ads found for this position

प्रतिक्रिया

One thought on “सरकार जनविरोधी बाटोमा लाग्यो, सुकुम्बासीलाई घरबारविहीन बनाउनु दमन हो : विश्वप्रकाश शर्मा

  1. Khuru khuru sabai lai jhukkyauidai vada ashuli gardai Pet paleka thiyeu, ab timra din gaye lootera haru, jana birodhi ra lootera ta ta timi haru hau bajjiya

Leave a Reply

Your email address will not be published. Required fields are marked *