मुम्बईलाई अन्तिम बलमा स्तब्ध पार्दै बैंगलुरु शीर्ष स्थानमा, प्लेअफ दौडबाट मुम्बई बाहिर

डिसी नेपाल
२८ वैशाख २०८३ ६:५७

काठमाडाैं। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न निकै रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले मुम्बई इन्डियन्समाथि २ विकेटको कठिन जित हात पारेको छ।

रायपुरमा भएको उक्त प्रतिस्पर्धामा मुम्बईले दिएको १ सय ६७ रनको लक्ष्य बैंगलुरुले निर्धारित २० ओभरको अन्तिम बलमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो।

बैंगलुरुको जितमा क्रुणाल पाण्ड्याले ७३ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै मुख्य भूमिका निभाए भने जकोब बेथेलले २७, जितेश शर्माले १८ र देवदत्त पडिक्कलले १२ रनको योगदान दिए। मुम्बईका तर्फबाट घातक बलिङ गरेका कोर्बिन बोशले सर्वाधिक ४ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन जोडेको थियो।

मुम्बईका लागि तिलक वर्माले ५७ रनको अर्धशतकीय योगदान दिए भने नमन धिरले ४७, रोहित शर्माले २२, राज बावले १६ तथा विल ज्याक्सले १० रन बनाए। बैंगलुरुका बलर भुवनेश्वर कुमारले कसिलो बलिङ गर्दै ४ विकेट चट्काएका थिए।

यस जितसँगै ११ खेलबाट १४ अंक जोडेको बैंगलुरु अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने पराजित मुम्बई ६ अंकसहित प्लेअफको दौडबाट बाहिरिएको छ। तालिकामा सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सको पनि समान १४–१४ अंक भए पनि नेट रनरेटका आधारमा उनीहरू क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *