मार्कस रासफोर्डको सानदार प्रदर्शनसँगै बार्सिलोनालाई २९औँ ला लिगा उपाधि
काठमाडाैं। इङ्ल्यान्डका फरवार्ड मार्कस रासफोर्डको जादुमयी फ्रिकिक गोलको मद्दतले बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गर्दै सिजन सकिन तीन खेल बाँकी छँदै ला लिगाको उपाधि जितेको छ।
क्याम्प नोउमा सम्पन्न रोमाञ्चक ‘एल क्लासिको’ भिडन्तमा बार्सिलोनाले २-० को सहज जित निकाल्दै आफ्नो २९औँ स्पेनिस लिग उपाधि सुरक्षित गरेको हो।
खेलको सुरुवातमै म्यानचेस्टर युनाइटेडबाट ऋण सम्झौतामा आएका रासफोर्डले दर्शनीय फ्रिकिकमार्फत टोलीलाई अग्रता दिलाएका थिए भने १८औँ मिनेटमा डानी ओल्मोको पासलाई सदुपयोग गर्दै फेरान टोरेसले दोस्रो गोल थपे। गोल गरेपछि दुवै खेलाडीले उक्त सफलता हालै पिता गुमाएका आफ्ना मुख्य प्रशिक्षक हान्सी फ्लिकप्रति समर्पण गरेका थिए।
यो जितसँगै बार्सिलोनाले लिग तालिकामा रियल मड्रिडमाथि १४ अंकको फराकिलो अग्रता बनाउँदै लगातार दोस्रो पटक उपाधि चुमेको छ। घरेलु मैदानमा यस सिजन १८ वटै खेल जितेर कीर्तिमान बनाएको बार्सिलोनाले ला लिगामा लगातार ११ खेल जितेर आफ्नो वर्चस्व कायम राखेको हो।
यता पराजित रियल मड्रिडका लागि यो सिजन निकै निराशाजनक रह्यो। टोलीभित्रका खेलाडीबीचको आन्तरिक विवाद र प्रशिक्षक आल्भारो अर्बेलोआको फितलो रणनीतिका कारण रियलले बार्सिलोनाको पोस्टमा खासै चुनौती पेस गर्न सकेन।
सन् २०२३ पछि पहिलो पटक रियलले खेल अवधिभर विपक्षीको पोस्टमा केवल एक पटक मात्र निशाना लगाउन सक्यो, जसले टोलीको कमजोर अवस्थालाई झल्काउँछ।
स्पेनिस फुटबलमा आफ्नो पहिलो सिजनमै लिग उपाधिको स्वाद चाखेका मार्कस रासफोर्डका लागि यो क्षण व्यक्तिगत रूपमा पनि विशेष बनेको छ। यो सिजन १४ गोल र १४ असिस्ट गरिसकेका रासफोर्डको भविष्य भने अझै निश्चित भइसकेको छैन।
सिजनको अन्त्यसँगै उनको ऋण सम्झौता सकिने भए पनि उनले बार्सिलोनामै बस्ने इच्छा व्यक्त गरेका छन्। यद्यपि क्लबले उनलाई स्थायी रूपमा अनुबन्ध गर्ने विषयमा ठोस निर्णय लिन बाँकी छ।
बार्सिलोनाले ऐतिहासिक रूपमा आफ्ना सबै ३५ खेलमा गोल गर्दै आफूलाई स्पेनिस फुटबलको शिखरमा पुनः स्थापित गर्दा रियल मड्रिडलाई भने आगामी सिजनका लागि ठूलो सुधार र पुनर्संरचनाको आवश्यकता देखिएको छ।







डिसी नेपाल







Facebook Comment