विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै: दिगो विकास र सामाजिक समावेशितामा जोड
काठमाडौं। व्यक्ति, समाज र राष्ट्रको विकासमा परिवारको आधारभूत भूमिकालाई आत्मसात् गर्दै आज विश्वभर विविध कार्यक्रमका साथ ‘अन्तर्राष्ट्रिय परिवार दिवस’ मनाइँदैछ।
हरेक वर्ष मे १५ तारिखका दिन मनाइने यस दिवसले विशेषगरी दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्तिकरणमा केन्द्रित रहेर जनचेतना जगाउने लक्ष्य राखेको छ।
मानवीय जीवनमा परिवारको महत्त्व र यसले सामना गरिरहेका चुनौतीहरूबारे विश्वव्यापी ध्यानाकर्षण गराउन संयुक्त राष्ट्रसङ्घको पहलमा यो दिवस मनाउन थालिएको हो। राष्ट्रसंघले सन् १९८० को दशकदेखि नै परिवारसँग सम्बन्धित मुद्दाहरूलाई प्राथमिकतामा राख्न सुरु गरेको थियो।
यसै क्रममा सन् १९८३ मा आर्थिक तथा सामाजिक परिषद्को सिफारिसमा सामाजिक विकास आयोगले ‘विकास प्रक्रियामा परिवारको भूमिका’ सम्बन्धी प्रस्ताव पारित गर्दै परिवारका समस्या र समाधानका उपायबारे विश्वव्यापी बहसको थालनी गरेको थियो।
ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा, सन् १९८९ मा संयुक्त राष्ट्रसंघको महासभाले ‘अन्तर्राष्ट्रिय परिवार वर्ष’ घोषणा गरेको थियो। त्यसको चार वर्षपछि अर्थात् सन् १९९३ मा महासभाले एउटा विशेष प्रस्ताव पारित गर्दै मे १५ लाई आधिकारिक रूपमा अन्तर्राष्ट्रिय परिवार दिवस घोषणा गर्यो। सोही निर्णयअनुसार सन् १९९४ देखि विश्वभर औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो।
आजको बदलिँदो परिवेशमा पारिवारिक संरचनामा आएका परिवर्तन, आर्थिक संकट र सामाजिक सुरक्षा जस्ता विषयमा सदस्य राष्ट्रहरूबीच सहकार्य बढाउन र परिवारको कल्याणकारी अवस्थामा सुधार ल्याउन यो दिवसले महत्त्वपूर्ण अवसर प्रदान गर्दै आएको छ।
नेपालमा पनि विभिन्न सामाजिक संघसंस्थाहरूले पारिवारिक मूल्य र मान्यताको संवर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस मनाइरहेका छन्।







डिसी नेपाल







Facebook Comment