मधेश प्रदेश सरकारमा नेकपा एमालेको ‘सरप्राइज इन्ट्री’
जनकपुर । मधेश प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शुक्रबार) विश्वासको मत लिने तयारी गरिरहँदा बिहीबार अबेर राति नेकपा एमालेबाट मोहम्मद समिरलाई बिनाविभागीय मन्त्रीका रूपमा सरकारमा सहभागी गराइएको छ। विश्वासको मत लिनु केही घण्टाअघि मात्रै एमालेको सरकारमा भएको यो प्रवेशले सत्ता समीकरण पूर्णतः फेरिने संकेत गरेको छ।
नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार एमालेबाट थप ३ जना मन्त्री सरकारमा सहभागी हुनेछन्। उनले मोहम्मद समिरले आजै शपथ ग्रहण गर्ने र अन्य तीन मन्त्रीलाई साँझसम्म शपथ गराउने तयारी रहेको जानकारी दिए।
उनका अनुसार एमालेले चारवटा मन्त्रालय पाउने सहमति भएको छ। उनले केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार एमाले सरकारमा सहभागी भएको प्रस्ट पारे। साथै, उनले जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिने दाबी गरे। तर, हिजो मात्रै जसपा नेपालको संसदीय दलको बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिने भन्दै ह्वीप जारी गरिसकेको छ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले भने जसपा नेपाललाई पनि सँगै लिएर अघि बढ्ने प्रयास गरिरहेको बुझिएको छ। प्रदेशसभामा जसपा नेपालका २६, नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, नेकपा (माओवादी केन्द्र) का १३, जनमत पार्टीका १२, तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका १–१ जना सदस्य छन्। कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) गरी ६० र जसपा नेपालको समर्थनसमेत जोड्दा मुख्यमन्त्री यादवले करिब ८६ सांसदको विश्वासको मत पाउने देखिन्छ।







डिसी नेपाल







Facebook Comment