नेसनल ड्युटीको ‘पर्खाल’: ७ नेपाली खेलाडीले युरोपियन लिग खेल्न नपाउने

डिसी नेपाल
११ जेठ २०८३ १४:०२

काठमाडौं । व्यावसायिक क्रिकेटको उचाइ नाप्दै पहिलोपटक युरोपको फ्रेन्चाइज क्रिकेटमा आफ्नो नाम दर्ता गराएका ७ जना नेपाली क्रिकेटरहरूका लागि ‘नेसनल ड्युटी’ (रष्ट्रिय दायित्व) एउटा यस्तो पर्खाल बनेको छ, जसलाई नाघेर बेल्जियम जाने उनीहरूको सपना अधुरै रह्यो।

बेल्जियमको ‘इयू टी–२० क्रिकेट लिग’ मा अनुबन्धित भइसकेका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी जस्ता स्थापित खेलाडीहरू यतिबेला विदेशी भूमिको चमकधमक छोडेर राष्ट्रिय टोलीको बन्द प्रशिक्षण र आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा केन्द्रित भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा हुने एशियन गेम्स क्वालिफायर र नेपाल ‘ए’ टोलीले भारतको उत्तराखण्डमा खेल्ने ४२औँ अल इन्डिया गोल्ड कपको तालिका सार्वजनिक गरेपछि खेलाडीहरूको बेल्जियम यात्रामा पूर्णविराम लागेको हो।

क्यानले खेलाडीहरूको सम्झौतामा पहिलो सर्त नै ‘देशका लागि खेल’ हुने स्पष्ट पारेकाले जुन ६ देखि सुरु हुने बेल्जियम लिगका लागि ७ जना खेलाडीहरूलाई ‘नो अब्जेक्सन लेटर’ (एनओसी) दिन अस्वीकार गर्‍यो।

यस निर्णयले खेलाडीहरूलाई आर्थिक र व्यावसायिक रूपमा ठूलो वैदेशिक अवसरबाट त रोकेको छ, तर देशको प्रतिनिधित्व गर्ने सन्दर्भमा उनीहरूको अनिवार्य उपस्थितिलाई नै बोर्डले सर्वोपरि ठानेको छ।

यद्यपि, यही ‘नेसनल ड्युटी’ को नियम सबैका लागि भने समान देखिएन। राष्ट्रिय टोलीको व्यस्त कार्यतालिकाकै बीच पनि डा. ईशान पाण्डे र गुल्शन झाले भने बेल्जियमको जेबी ब्रुज टोलीबाट खेल्न एनओसी पाएका छन्।

क्यानले प्राविधिक र छनोट समितिको सिफारिसमा टोलीको सन्तुलन र खेलाडीहरूको कार्यभारलाई हेरेर दुई जनालाई मात्र अनुमति दिएको बताएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *