आरसिबी लगातार दोस्रो पटक आईपीएल फाइनलमा, पहिलो क्वालिफायरमा गुजरात ९२ रनले पराजित
काठमाडौं। साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनलमा प्रवेश गरेको छ।
मंगलबार धर्मशालामा सम्पन्न पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सलाई ९२ रनको भारी अन्तरले पराजित गर्दै बेंगलुरुले लगातार दोस्रो पटक फाइनलको यात्रा तय गरेको हो। अघिल्लो सिजन पहिलो पटक उपाधि जितेको बेंगलुरुसामु यसपटक पनि आफ्नो उपाधि रक्षा गर्ने सुवर्ण अवसर रहनेछ।
खेलमा बेंगलुरुले दिएको २५५ रनको कीर्तिमानी विशाल लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा मात्र १६२ रनमा समेटिन पुग्यो।
खराब सुरुवात गरेको गुजरातका लागि मध्यक्रमका ब्याटर राहुल तेवतियाले ४३ बलमा ८ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ६८ रनको इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। गुजरातलाई सस्तैमा समेट्न बेंगलुरुका बलर ज्याकोब डफीले घातक बलिङ गर्दै ३ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५४ रनको विशाल योगफल तयार पारेको थियो। बेंगलुरुको विशाल स्कोरमा कप्तान रजत पाटीदारले कप्तानी इनिङ खेले। उनले मात्र ३३ बलको सामना गर्दै ५ चौका र ९ छक्काको वर्षासहित विष्फोटक ९३ रन जोडे।
पाटीदारले चौथो विकेटका लागि क्रुनाल पाण्ड्यासँग ९५ रनको आक्रामक साझेदारी गरेका थिए। बेंगलुरुका लागि क्रुनाल पाण्ड्या र स्टार ब्याटर विराट कोहलीले समान ४३-४३ रनको योगदान दिए।
पहिलो क्वालिफायरमा पराजित भए पनि गुजरातको फाइनल पुग्ने सम्भावना भने अझै कायमै छ। अब बुधबार हुने एलिमिनेटर खेलमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्नेछन्।
उक्त खेलको विजेताले फाइनल प्रवेशका लागि क्वालिफायर–२ मा गुजरातको सामना गर्नेछ। क्वालिफायर–२ को विजेताले उपाधिका लागि फाइनलमा बेंगलुरुसँग प्रतिस्पर्धा गर्नेछ।







डिसी नेपाल







Facebook Comment