तेन्जिङ नोर्गे ओपन क्लाइम्बिङ सुरु: विदेशी खेलाडी पनि फाइनलमा

डिसी नेपाल
१४ जेठ २०८३ २०:५४

काठमाडौं। विश्वप्रसिद्ध हिमाल आरोही तेन्जिङ नोर्गे शेर्पाको स्मृति र मे २९ (मे दिवस) को ऐतिहासिक अवसरलाई लक्षित गर्दै काठमाडौँमा “तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता” को तेस्रो संस्करण बिहीबारदेखि सुरु भएको छ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन Inc. को संयुक्त आयोजनामा सञ्चालित यस प्रतियोगिताको फाइनल चरणमा ६ पुरुष र ६ महिला गरी कुल १२ जना खेलाडीहरू प्रवेश गरेका छन् । फाइनल पुग्ने पुरुष खेलाडीहरूमा एक जना विदेशी आरोही समेत समावेश छन् ।

प्रतियोगितामा पुरुष र महिला दुवै विधामा छुट्टाछुट्टै प्रतिस्पर्धा भइरहेको छ । दुवै विधातर्फ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विजेताहरूले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रारम्भिक चरणमा २७ पुरुष र ११ महिला गरी कुल ३८ जना खेलाडीहरूले प्रतिस्पर्धा गरेकोमा उत्कृष्ट प्रदर्शनका आधारमा फाइनलमा पुग्ने १२ खेलाडीको टुङ्गो लागेको हो ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घका अध्यक्ष तुलसिंह गुरुङका अनुसार विगतका दुई संस्करणहरू ‘टप-रोप क्लाइम्बिङ’ मा मात्र सीमित रहेका थिए । तर, यस वर्ष नेपालको क्लाइम्बिङ क्षेत्रको प्राविधिक विकासलाई ध्यानमा राख्दै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको ‘लिड क्लाइम्बिङ’ विधामा प्रतियोगिता आयोजना गरिएको हुनाले यो संस्करण विशेष र बढी चुनौतीपूर्ण बनेको छ ।

सन् १९५३ मे २९ तारिखका दिन सर एड्मण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको ऐतिहासिक दिनको सम्झनामा यो प्रतियोगिता आयोजना गरिएको हो ।

विगतका वर्षहरूमा मे २९ का दिन मुख्यतः र्‍याली, औपचारिक समारोह तथा प्रमाणपत्र वितरण जस्ता परम्परागत कार्यक्रम मात्र हुने गरेकोमा यसपटक पहिलोपटक प्राविधिक साहसिक खेलसम्बन्धी प्रतियोगिता आयोजना गरेर यो ऐतिहासिक दिनलाई नयाँ ढंगले मनाउन लागिएको आयोजकको भनाइ छ ।

बिहीबार बिहान आयोजित एक विशेष समारोहका बीच नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर गेल्जे शेर्पाले प्रतियोगिताको विधिवत उद्घाटन गरेका थिएए। शुक्रबार हुने फाइनल खेल तथा समापन कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पाको विशेष उपस्थिति रहने अध्यक्ष गुरुङले जानकारी दिए।

यस प्रतियोगिताले नेपालमा उदाउँदै गरेको साहसिक आरोहण खेल संस्कृतिलाई थप उचाइमा पुर्‍याउने र युवा पुस्तालाई पर्वतारोहण एवं साहसिक खेलतर्फ आकर्षित गर्न ठुलो मद्दत पुग्ने विश्वास आयोजकले लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *