कथा: लेखक भई टोपलेको चैँसे
आज चैँसे निकै निराश छ। उ ज्यादै मेहनती छ तर आफ्नो कामको कदर समाजले नगरेको उ महसुस गर्दछ। उ प्रत्येक हप्ता आर्थिक, सामाजिक, सांस्कृतिक, यात्रा, कथा र अन्य विधामा कलम चलाइरहन्छ र आफ्नो कृति एउटा डिजिटल प्लेटफर्ममार्फत पाठकहरूसम्म पुर्याउने गर्दछ।
उसले आफ्नै प्रकाशन गृह पनि खोलेको छ र त्यसैमार्फत वर्षमा एकाध कृति प्रकाशन गरिरहन्छ। आखिर विचरा चैँसे जस्ताका कृतिहरू छपाइदिने अन्य प्रकाशन गृहहरू छैनन् पनि। आफ्नो कर्मको फल प्राप्त गर्ने बेलामा प्रायः ठगीमा पर्ने गरेकोले यस्तो परिस्थिति उसलाई निकै अपाच्य हुने गर्दछ।
गत हप्ता उ दुई पटक ठगी र अपमानको सिकार हुन पुग्यो। केही दिनअघिको कुरा हो, पाटनढोकाको ढोकैमा ‘ख्याक’ भन्ने व्यवसायको ठीक बाहिर रहेको सार्वजनिक देवललाई मिचेर खोलिएको एक पुस्तक पसलका साहुले उसलाई निकै अपमान गर्यो।
आफ्नो नयाँ कृति सो पसलमा राख्नको निम्ति आग्रह गर्दा त्यस पसलको साहुले पुस्तक हेर्दै नहेरी ज्यादै रुखो स्वरमा ‘नराख्ने’ भन्यो। चैँसेले ‘एक पटक विषय सूची त हेर्नुस् साहुजी’ भन्दा त्यो पसले निकै झोक्किएर ‘मेरो पसलमा म पुस्तक राखूँ कि नराखूँ त्यो मेरो मर्जी हो, तपाइँलाई सोध्नुपर्छ र मैले?’ भनेर रन्किन थाल्यो।
चैँसेले निकै शान्त हुने कोसिस गर्दै ‘तपाइँले ठीक भन्नुभएको हो, तर तपाइँले पसलमा आउने ग्राहकसँग बोल्ने तरिकाचाहिँ अलिक राम्रो भएन कि!’ भन्दा उ झनै रिसायो।
चैँसेलाई पनि निकै रिस उठेको थियो तर उसले अझै पनि शान्त भएर ब्यागबाट पुराना रसिद झिक्दै ‘लौ यी दुई वर्षअघिदेखिका यहाँ छोडेका पुस्तकहरू बिकेका भए रकम दिनुहोस्, नबिकेका भए पुस्तक नै फिर्ता गर्नुहोस्’ भन्यो। तर त्यो पसले न त पुस्तक फर्काउन राजी भयो न पैसा दिन नै।
यसै गरी आफूले कुनै लगानी नगरी बिक्रीका निम्ति ल्याइएका पुस्तक उधारोमा लिएर पसल भर्ने, बेच्ने र प्रकाशक, लेखक एवं वितरकलाई हिसाब नबुझाएर ठग्ने उद्योगमा जमेर लागेको रहेछ यो पसले। यस्ता धेरै पसलेहरूको इलम नै यस्तै ठगी भएको छ।
पुरानो हिसाब मिलान गर्न चैँसे त्यहाँ गएको यो पहिलो पटक होइन। विगत दुई वर्षमा उ धेरै पटक त्यहाँ गइसकेको छ, तर सधैँ नै उसलाई झुलाउने र झूटो वाचा गरेर पठाउने काम सो पसलेले गरिनै रहेको थियो। त्यसैले यो पटक चैँसेले निकै झोक्किएर त्यो पसलसँगको नाता तोडेर आइन्दा यस्ता ठगहरूसँग सम्बन्ध नै नराख्ने निधो गरेको थियो।
चैँसे ठिटो वयको छँदा अर्थात् आजभन्दा तीन-चार दशकअघि पुस्तक तथा पत्रपत्रिका बिक्रीवापत पसलेहरूले मूल्यको १० प्रतिशत जति मात्र पारिश्रमिकको रूपमा राख्ने गर्दथे, तर हिजोआज ३०-४० प्रतिशत उनीहरूलाई नै बुझाउनुपर्दछ।
मेहनत गरेर लेख्नु, शुद्धाशुद्धि गर्न दिनु, छपाउन दिनु र अन्य धेरै खर्च लेखक–प्रकाशकले व्यहोर्नुपर्ने तर पसलमा बेच्न राखेको भरमा झण्डै आधा रकम दोकानदारको हुने! उनीहरूको पसलको भाडा चर्को हुँदै गएको भए पनि त्यहाँ बेच्न राखेका अन्य विभिन्न थरीका पुस्तकहरूबाट प्राप्त हुने आम्दानी पनि त धेरै नै हुँदो हो नि।
यस्ता कारणले गर्दा नै प्रकाशकहरूले पनि आफ्ना प्रकाशनको मूल्य चर्को राख्दा रहेछन्। तर चैँसेको सोचमा भने पुस्तक सस्ता भए भने मात्र पाठकले सहज रूपमा खरिद गर्दछन्। त्यसैले जति नै मेहनत र खर्च परेको भए पनि चैँसेले आफ्ना कृतिहरूको मूल्य सस्तो राख्ने गर्दछ।
उतिबेला पनि काठमाडौँमा रहेका ब्लुबर्ड र नाङ्लो जस्ता डिपार्टमेन्ट स्टोरहरूमा उसले प्रकाशन गरेका पुस्तक र पत्रिकाहरू राम्रै बिक्ने गर्दथे। एउटा अङ्ग्रेजी पत्रिका पनि प्रकाशन गर्ने गरेको थियो उसले। उ आफैँ त्यसको प्रधान सम्पादक थियो।
राम्रै चलेको थियो, तर बिक्री भने ज्यादै कम। हुन त काठमाडौँका बुद्धिजीवी र सबैजसो राजदूतावास तथा सार्क मुलुकका विभिन्न संस्था र व्यक्ति सो पत्रिकाका नियमित ग्राहक बनेका थे।
त्यतिबेलाका प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायत धेरैका अन्तर्वार्ताका साथै विभिन्न घटनाक्रमका बारेमा विद्वान्हरूबीचका अन्तर्क्रियाहरू पनि छापिन्थे सो पत्रिकामा।
विज्ञापन भी केही हदसम्म प्राप्त हुन्थ्यो तर केही विज्ञापनदाताहरूले धेरै अङ्कमा रङ्गीन विज्ञापन छपाएर शुल्क दिने बेलामा भने झुलाउने र विज्ञापनको रकम नदिने गर्न थाले। उसैको एक जना विश्वासपात्र सहायकले पनि धेरै ठाउँबाट अनेकौँ अङ्कमा छापिएका विज्ञापनको रकम उठाएर बेपत्ता भयो।
नेपालमा पहिलो पटक वामपन्थीहरूको सरकार बन्दा सो सरकारका उपप्रधानमन्त्री युरोप भ्रमणमा जाने बेलामा उक्त पत्रिकामा छापिएका चुनावी खबर र नयाँ प्रधानमन्त्रीको अन्तर्वार्ता भएको अङ्क एक हजार प्रति पुनः प्रकाशन गर्न लगाएर उता बाँड्न लगे तर त्यसको रकम भने भुक्तानी गर्दै गरेनन्।
चैँसेले पटक-पटक आफ्नी श्रीमतीको गहना बेच्दै प्रेसको रकम तिर्नुपरेको थियो। आखिर उसलाई सो पत्रिका बन्द गर्न नै कर लाग्यो। आज यी सब कुराको स्मरण गर्दा चैँसे निकै भावुक हुन पुग्यो।
त्यतिबेलाका नेपालका धुरन्धर पत्रकारहरूसँग चैँसेले यस्तो ठगीबारे कुरा गर्दा, तीमध्ये धेरैजना आफैँ पनि त्यस्तै ठगीबाट पीडित हुनुपरेको कुरा थाहा पायो।
कतिपय बाठा पत्रकारहरूले भने त्यतिबेला देखि नै विभिन्न निकायहरूलाई खुसी तुल्याएर मोटो रकम प्राप्त गर्ने गरेको र विदेशीहरूबाट महिनाबारी भत्ता एवं विदेश भ्रमण गर्ने अवसरहरू पनि पाउने गरेको कुरा थाहा पायो।
पछिल्लो समयमा पनि यस्ता धेरै बाठा पत्रकार, लेखक र प्रकाशकहरूले प्रकाशन व्यवसायबाट नै करोडौँको सम्पत्ति जोडेको पनि चैँसेले थाहा पायो। तर उ भने ब्यागमा आफ्ना प्रकाशनको भारी बोकेर लुरु-लुरु पसलहरूमा जान्छ र सधैँजसो अपमानको उपहार पाएर घर फर्किन्छ।
साथीभाइले ‘के गर्छस् चैँसे तँ आजकल’ भनेर सोध्दा उ बडो गर्वका साथ ‘लेख लेख्छु, पुस्तक प्रकाशन गर्छु र अध्ययन गर्छु’ भन्छ। तर उसका सेयर र जमिनमा लगानी गरेर सजिलै अकुत द्रव्य कमाउन पल्केका साथीहरू उसलाई माथिदेखि तलसम्म हेयको दृष्टिले हेर्ने गर्दछन्।
बिचरो चैँसेले के गरोस्, घरमा आउँछ र शौचालयको ऐनामा हेर्दै ‘चैँसे चित्त नदुखा, तिनीहरूको पैसाभन्दा तैँले कमाएको नाम नै ठूलो हो। एक दिन तँ जस्तै नाम कमाउने लालसा तिनीहरूमा पनि जाग्नेछ, तर आफूले केही पनि लेख्न नसकेर तिनीहरूले अर्का ठगहरूलाई पैसाले पेलेर लेखाउनुपर्नेछ’ भन्छ। उसको निरीह ऐना यो सब सुनेर अक्क न बक्क भएर बस्छ। तर त्यो निर्जीव भएकाले उसलाई हेयको दृष्टिले भने हेर्दैन।
कतिपय सोझा स्रष्टाहरूलाई ठग्ने यस्ता ठग मनोवृत्तिका पसलेहरू देशभर नै यथेष्ट सङ्ख्यामा छन्। चैँसे जस्ता साना लेखक तथा प्रकाशकले कर्मचारी भर्ना गर्ने हैसियत राख्दैनन्।
तर केही ठूला पुस्तक विक्रेताहरू भने आफू पनि प्रकाशन व्यवसायमा समेत लागेका कारण र यो क्षेत्रमा पुर्ख्यौली संस्कार पाएकाले होला, चैँसे जस्ता लेखकहरूको सम्मान गर्नुका साथै बिक्री भएका पुस्तकको रकम पनि राम्ररी हिसाब गरेर उपलब्ध गराउने गर्दछन्। कतिपय पुस्तक व्यवसायीहरू आफूमा पनि अध्ययन गर्ने बानी भएकाले यो व्यवसायमा लागेका हुँदा रहेछन्।
त्यस्ताको बोली तथा व्यवहार चैँसेले निकै राम्रो पाएको छ। त्यस्तै केही नयाँ व्यवसायीहरू पनि यो क्षेत्रमा नयाँ-नयाँ सोचका साथ देखिन थालेका छन्। उनीहरूले आफ्ना दोकानका पुस्तकहरू र खातालाई डिजिटल प्रविधिमा ढालेर सहज र पारदर्शी सेवा पुर्याइरहेकाले चैँसेलाई निकै सन्तोषको अनुभूति पनि हुने गरेको छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्ता स्रष्टालाई पनि आफ्ना कृति छपाउन उतिबेला निकै मुस्किल परेको थियो। पहिलो कुरा रकमको अभाव र दोस्रो कुरा त्यतिबेलाको सीमित मुद्रण व्यवसाय। तर आज त नेपालमा दर्जनौँ ठूला-साना प्रकाशन गृहहरू छन् भने हजारौँ मुद्रकहरू। कतिपय राम्रा छन् त अधिकांश प्रकाशन गृहहरू अति व्यावसायिक भएका छन्।
धेरै वटा त राजनीतिक छत्रछायाँमा चलेका छन्। अर्को अर्थमा झोले प्रकाशन गृहहरूको पनि कमी छैन, जसले प्रोपोगान्डावाला साहित्य प्रकाशनमा नै बढी समय र शक्ति खर्चन्छन्। त्यस्ता साहित्यको बिक्री पनि धेरै हुँदो रहेछ। त्यस्तै झोले साहित्यको प्रभावमा धेरै युवाहरूले बाटो बिराउने पनि गर्दा रहेछन्।
पैसा भएका व्यक्तिसँग लाखौँ रकम झारेर उनका कृति छपाइदिने र बिक्री गरिदिने तर पैसा नभएकाको कुनै कदर नगर्ने विकृति पनि समाजमा छाएको छ। मोटो रकम प्रकाशन गृहहरूलाई तिरेर छपाएको आफ्नो कृतिको आम्दानीको प्रतिफल अर्थात् रोयल्टीसमेत नपाएको बिलौना ती सम्भ्रान्त लेखकहरूले नै पनि गर्ने गर्दछन्।
अनि फेरि ती प्रकाशन गृहहरूले आफ्नो सम्बन्ध पुरस्कार प्रदान गर्ने संस्थाहरूसँग छ भन्ने प्रलोभन देखाएर पुनः मोटो रकम झार्ने गर्दा रहेछन्। पैसाकै भरमा पुरस्कृत गरेर केही समयको निम्ति प्रचारप्रसार गरिदिने पुरस्कारसम्बन्धी संस्थाहरू पनि खुलेका छन्।
विदेशमा र स्वदेशमा पनि धेरै धन कमाएका एक थरी संस्कारहीन नव-धनाढ्यहरूलाई स्रष्टाको पदवी प्राप्त गर्ने र पुरस्कृत हुने एक प्रकारको पाखण्डी हुटहुटी जाग्दो रहेछ। यस्तो कृत्रिम चाहना प्रशासनको खुड्किलो चढ्दै गरेका बाठा कर्मचारीदेखि उद्यमीहरूलाई पनि हुँदो रहेछ।
त्यस्ता व्यक्तिको खोजीमा एक थरी प्रकाशकहरू निकै घुमिरहेका हुँदा रहेछन्। दुई-चार वटा साना पुरस्कार हात पारेपछि त मुलुकको प्रतिष्ठित भनिएका पुरस्कारमा पनि आँखा गइहाल्ने र पहुँच एवं पैसा पुर्याउन सकेमा ती पनि हात पर्ने! एक पुस्ता अघिसम्म पनि त्यस्ता प्रतिष्ठित पुरस्कारहरू साक्षात् स्रष्टाको हातमा मात्र पर्ने गरेकोमा हिजोआज मन्त्री र राजदूतको पद जस्तै ती पुरस्कार पनि होलसेलमा बिक्ने भएछन्।
चैँसे सानो छँदा प्रख्यात ‘बदन’ पुरस्कार पाउनेहरू साँच्चैका घगडान स्रष्टाहरू हुन्थे भने हिजोआज धेरैजसो डलरे र चटकेले मात्र त्यो पुरस्कार पाएको देखेर उ र उसका साथीहरूले यसको नाम ‘रोदन’ पुरस्कार राखेका छन्।
किनकि समाजका सेता ख्याकहरूले कोमल बाउबाजेले खडा गरेको पुरस्कारलाई कमाउने र जस्तोसुकै परिस्थितिमा पनि ढलेर बिक्ने भाँडो बनाएका छन्।
विदेशमा बसेर दाम कमाएका कतिपय मानिसको पैसाको बलमा अरू नै कसैले लेखिदिएका साहित्य, विभिन्न शक्ति केन्द्रसँग नजिक भएका र निहाल सम्पत्ति कमाएकाहरूले समाजमा सम्मान र एक प्रकारको आडम्बरी बौद्धिक स्थान पाउन लेखाएका साहित्य र आफ्ना गुणगान गाउने तथा उनीहरूका कुनै पनि कुकृत्यका बारेमा कतै नलेख्ने र नबोल्नेहरूका साहित्यलाई पुरस्कृत गर्ने एक प्रकारको चलन चलेको छ। त्यसैले हिजोआज साँच्चैका स्रष्टाहरूले त्यस्ता पुरस्कार पाउने आशा र मोहलाई त्याग्दै गएका छन्।
यसो भन्दैमा बजारमा राम्रा पुस्तक हुँदै नभएका भने होइनन्। वर्षेनी प्रकाशन हुने सयौँ पुस्तकहरूमध्ये केही पुस्तक साँच्चै नै पढ्न लायकका छन् भने केही राम्रा प्रकाशन गृहहरू पनि छँदैछन्।
धेरै स्रष्टाहरूको लेखनमा निकै निखार आएको पनि छ। भाषा मात्र होइन, भाव र बौद्धिकता पनि राम्ररी झल्कने कतिपय पुस्तकहरू पढ्न पाइन्छ। तर त्यस्ता पुस्तकले खासै बजार पाएको वा पुरस्कार हात पारेको भने देखिँदैन। तर पनि सचेत पाठकहरूको अध्ययनको प्यास मेट्ने काम भने त्यस्ता पुस्तकले अवश्य पनि गरेका हुन्छन्।
चैँसेकै अनुभवमा नेपालमा पुस्तक किनेर अध्ययन गर्ने पाठकको सङ्ख्या निकै कम छ। पुस्तक विमोचनको बेलामा पनि सित्तैमा पुस्तक हात परोस् भन्ने सोच राख्नेको सङ्ख्या धेरै हुने गर्दछ। चुरोट-रक्सी जस्ता अम्मल र भड्किला सामान खरिद तथा अनेक प्रकारका मनोरञ्जनमा हजारौँ रुपैयाँ खर्चने जमातले पनि पुस्तक खरिद गर्ने कुरालाई त्यति ग्राह्यता दिएको पाइँदैन।
तर इन्टरनेटको जमानामा पुस्तक र पत्रिका कसले पढोस् भनेर सभ्य बन्ने नाटकको प्रदर्शन भने सबैले गर्ने गर्दछन्। वास्तवमा पढ्ने बानीको विकास गर्न पनि निकै परिश्रम र लगावको जरुरत पर्दछ।
चैँसे भने महिनामा एकाध हजार रुपैयाँको पुस्तक खरिद गर्ने मूर्खहरूमध्येमा नै पर्दछ। मूर्ख यो अर्थमा कि उबाहेक उसको समूहमा नै पनि पुस्तक रुचाउने जमातको निकै खडेरी छ। उसले आफ्नै पुस्तक आफन्त र साथीहरूलाई ‘किनीदेऊ’ भन्दा धेरैले उसलाई हेयको दृष्टिले हेर्दछन्।
चैँसेको पढ्ने र लेख्ने बानीले गर्दा उ कहिल्यै पनि एक्लो वा बेकम्मा भएको महसुस गर्दैन। उ शौचालयमा, बिछौनामा, बैठकमा र खाना खाने ठाउँमा वा यात्रामा निस्कँदा समेत केही पुस्तक साथमा राखेर जहाँ बस्यो, त्यहाँ ती पुस्तकका केही पाना दिनहुँ पढ्ने गर्दछ।
त्यस्तै लेखनमा पनि उ निकै समय व्यतीत गर्दछ भने लेख्नकै लागि धेरै सन्दर्भ सामग्रीहरूको अध्ययन पनि गरिरहन्छ। भन्नैपर्दा उसका आजका खास साथी नै ती पुस्तक र तिनका लेखकहरू भएका छन्।
पुस्तकका पाना पढ्दै, बेलाबेलामा पुस्तकमा छापिएका ती लेखकका फोटा हेर्दै उ रमाउने गर्दछ। उसले स्वर्ग त देखेको छैन तर पुस्तक पढ्दा नै स्वर्गीय आनन्द आउँछ भनेर चैँसे सधैँ साथीहरूलाई भनिरहन्छ।
सानो छँदा आमाले ‘ए चैँसैऽऽऽऽ’ भनेर बोलाउँदा उ ‘हजुउउउर’ भन्दै दौडँदै घर आइपुग्थ्यो। त्यसैले उसलाई सबैले घरमा बोलाउने नाम नै ‘चैँसे’ हुन गएको थियो।
त्यतिबेला सबै भुराहरूको यसरी मायाले बोलाउने नाम हुन्थे, आज ‘निक नेम’ भने जस्तै। आज पनि आफूसँग रिस उठेको बेलामा चैँसेले बाथरुमको ऐनामा गएर ‘मोरो चैँसे’ भन्दै आफैँलाई मनमनै गाली गर्ने गर्दछ। एकाङ्की चैँसे एउटा अचम्मकै प्राणी छ।
चैँसे जस्ता सोझा स्रष्टाहरू लेख्ने पनि आफैँ, प्रकाशन गर्ने पनि आफैँ र बिक्री-वितरण गर्ने पनि आफैँ! जति दुःख पाए पनि यो लेख्ने कुलतबाट भने उनीहरू मुक्त हुन सक्दैनन्, यी सबै चैँसेहरू। सकिनसकी पुस्तक प्रकाशनमा लगानी गर्छन्, विमोचन गराउँछन् र केही प्रति बेच्न सफल पनि हुन्छन्।
तर यिनीहरूको लगानीको आधा रकम उठ्न पनि निकै मुस्किल हुने गर्दछ। अनि घरभरि नबिकेका पुस्तकको चाङ लागेर बस्ने! घरपरिवार यी असफल देखिने लेखकहरूबाट वाक्क भएका हुन्छन्।
चैँसेको पिताको पालाको नबिकेका पुस्तकको चाङ अझै घरमा बाँकी छ। तर बाउको बिँडो थाम्ने चैँसेले ती पुस्तक पनि साँचि राखेको छ। बाउबाजेले जोडिदिएको अलिकति घरजग्गा बाँकी भएकाले एउटा कुना त्यस्ता पुस्तकले पाएका छन्।
नत्र त बिरालोले डेरा सरे जस्तै ती पुस्तक लिँदै यो दुलोबाट उसमा र त्यो दुलोबाट त्यसमा जाँदाजाँदा हैरान हुने थियो। थाहा छैन चैँसेको शेषपछि यो सब कुराको जिम्मा कसले लिने हो। चैँसे जस्तै उसका सन्ततिमध्ये कोही जुनियर चैँसे बनेर उसको बिँडो थाम्लान् नि त!
समाजमा पुस्तक पढ्ने बानी बसाल्न चैँसे र उ जस्तै एकल मानिसहरूले स्थापना गरेको संस्थाले विभिन्न सार्वजनिक स्थलमा ‘मिनी लाइब्रेरी’ राखिदिने कामको थालनी गरेका छन्।
साना-ठूला तख्ताहरू सार्वजनिक स्थलको कुनै कुनामा राखिदिएर, तिनमा विभिन्न विषयका पुस्तक सजाएर सर्वसाधारणलाई पढ्न हौसाउने गरेका छन् उनीहरूले। चैँसेको प्रकाशन गृहले छपाएको तर नबिकेका पुस्तक र अन्य स्रोतबाट प्राप्त पुस्तकहरू विभिन्न शिक्षण संस्था, क्लब, पुस्तकालय र कारागारमा समेत उपलब्ध गराएर पुस्तक पढ्ने आदत बसाल्न हौस्याउने उद्यममा चैँसे र उसका साथीहरू लागेका छन्।
हाम्रो जस्तो कानुन हराएको देशमा असल, फटाहा र खुराफाती गरी सबै प्रकारका मानिस हुने गर्दछन्। कोही आफ्नो व्यवसायलाई भगवान् सम्झेर निकै इमानदारीका साथ निभाउँछन् भने कोही सबैलाई ठगेर र चोरेर धन बढाउने उद्योगमा लागेका हुन्छन्।
त्यसैले चैँसेले पनि यस्ता सबै थरीसँग काम गर्दै असललाई अँगालेर खराबहरूबाट टाढा रहँदै आफ्नो लेखन कार्य र कृतिको बिक्री तथा वितरणलाई जारी राख्ने प्रण गरेको छ।
उ लौ हेर त!! यसो भन्दाभन्दै चैँसे झोलाभरि पुस्तकहरू बोकेर थोत्रो स्कुटर चलाउँदै कुन पसलतिर हिँड्यो कुन्नि। भगवान्ले उसलाई राम्रै पसलतिर डोर्याऊन् र खुसी राखुन्।
…क्रमशः
(लेखक: विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।)















Facebook Comment