राजस्थानलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा, उपाधिका लागि बेंगलुरुसँग भिड्ने
काठमाडौं। राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ।
न्यु चन्डीगढस्थित महाराजा यादाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायर खेलमा सानदार जित निकाल्दै गुजरातले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँगको भेट पक्का गरेको हो।
पहिलो क्वालिफायर खेलमा बेंगलुरुसँग ९२ रनको फराकिलो अन्तरले पराजित भएपछि गुजरातले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायर खेल्नुपरेको थियो। अर्कोतर्फ एलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई ४७ रनले पन्छाउँदै राजस्थानले दोस्रो क्वालिफायरको यात्रा तय गरे पनि फाइनल पुग्न भने असफल रह्यो।
अब उपाधिका लागि आइतबार हुने फाइनल खेलमा गुजरात र बेंगलुरु आमनेसामने हुनेछन्, जुन यसै संस्करणमा यी दुई टोलीबीचको चौथो भेट हुनेछ।
खेलमा राजस्थानले जितका लागि दिएको २ सय १५ रनको बलियो लक्ष्यलाई गुजरातले १८.४ ओभरमा मात्र ३ विकेट गुमाएर सहजै पूरा गर्यो। गुजरातको जितमा कप्तान शुभमन गिलले सम्झनायोग्य ब्याटिङ गर्दै सर्वाधिक १ सय ४ रनको शतकीय योगदान दिए।
त्यस्तै ओपनर साइ सुदर्शनले ५८ रनको महत्त्वपूर्ण अर्धशतकीय पारी खेले भने राहुल तेवाटियाले १७ र वासिङटन सुन्दरले १६ रन जोड्दै टोलीलाई जितसम्म डोर्याए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा २ सय १४ रनको ठूलो योगफल खडा गरेको थियो। राजस्थानका लागि वैभव सूर्यवंशीले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ९६ रन बनाए पनि टोलीलाई जिताउन त्यो पर्याप्त हुन सकेन।
उनीबाहेक रवीन्द्र जडेजाले ४५ रन र दोनोभन फेरेरिराले ३८ रनको योगदान दिएका थिए। लक्ष्य बलियो भए पनि गुजरातका ब्याटरहरू चम्किँदा राजस्थान उपविजेताको होडबाट बाहिरिन पुग्यो।







डिसी नेपाल







Facebook Comment