भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल प्रतियोगिता सुरु
भक्तपुर। भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल (चेस) प्रतियोगिता आजदेखि सूर्यविनायकमा सुरु भएको छ। सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहयोगमा सल्लाघारीस्थित दिव्यश्री पार्टी प्यालेसमा आजदेखि सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास महाशाखाका संयोजक रविन्द्र सापकोटाले उद्घाटन गर्नुभयो। नगरपालिकाले स्थानीय तहबाट खेलकुदलाई प्रोत्साहन गर्ने र दीर्घकालीन रूपमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्र्नेगरी वार्षिक कार्यक्रम तयार पारी प्रत्येक महिनामा एक वटा खेल प्रतियोगिता आयोजना गर्दै आएको बताए।
सबै वर्गका लागि फुटबल प्रशिक्षणदेखि विभिन्न खेल प्रतियोगिता आयोजना गरेर नगरपालिकाले खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन दिएको बताउँदै उनले बुद्धिचालले मानसिक र बौद्धिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। स्थानीयस्तरमा बुद्धिचाल खेलको विकास, प्रतिभा पहिचान र खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
समितिका सदस्यसचिव दीपक थापाले प्रतियोगितामा जिल्लाभरिका ६६ जना खेलाडीबीच प्रतिस्पर्धा हुने जानकारी दिए। उनका अनुसार प्रतियोगितामा प्रथम हुने खेलाडीलाई नगद रु १५ हजार, दोस्रो हुनेलाई रु १० हजार, तेस्रो हुनेलाई रु पाँच हजार, चौथो हुनेलाई रु तीन हजार र पाँचौँ हुनेलाई रु तीन हजार नगदसहित महिला तथा पुरुष प्रतियोगीका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ।
सदस्य सचिव थापाले यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले आगामी तेस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा भक्तपुर जिल्लाको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने बताए। उनका अनुसार प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment