अनेसासको नवौँ विश्व सम्मेलन: २४ देशका बालबालिकाको कविता संग्रह ‘धराका सितारा’ लोकार्पण

डिसी नेपाल
१८ जेठ २०८३ १०:०४

कोलोराडो, अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नवौँ विश्व सम्मेलन अमेरिकाको कोलोराडोमा भव्य रूपमा सम्पन्न भएको छ।

मे २२ देखि २५ सम्म चलेको उक्त ऐतिहासिक सम्मेलनमा नेपाल, भारत, जापान, बेल्जियम, बेलायत, अष्ट्रेलिया, क्यानडा र अमेरिकाका विभिन्न सहरहरूबाट साहित्यकारहरूको बाक्लो सहभागिता रहेको थियो।

अनेसासको इतिहासमै पहिलोपटक होमनाथ सुवेदी, भीम रेग्मी, पुरु सुवेदी, प्रा. मोहन सिटौला, ज्ञानेन्द्र गदाल, पदम विश्वकर्मा, राधेश्याम लेकाली, गोवर्धन पूजा र सर्वज्ञ वाग्लेसहित नौ जना पूर्व केन्द्रीय अध्यक्षहरू एकै ठाउँमा जम्मा भई यो कार्यक्रम सम्पन्न भएको हो।

अनेसास केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा भएको यस सम्मेलनको संयोजन कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले गरेका थिए। सम्मेलनका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. नवराज लम्साल रहेका थिए भने भारतको बालसाहित्य एकेडेमी पुरस्कार विजेता मिना सुब्बा र मदन पुरस्कार विजेता डा. नीलम कार्की निहारिकाको पनि विशेष उपस्थिति रहेको थियो।

सम्मेलनका क्रममा ‘विश्वसाहित्यमा नेपाली बालसाहित्य र हाम्रो दायित्व’ विषयक गहन अन्तरसंवाद आयोजना गरियो, जसको सहजकीकरण केन्द्रीय बाल समितिका संयोजक एवं अनेसासका पूर्व महासचिव सुरेन उप्रेतीले गरेका थिए।

उक्त प्यानल छलफलमा विश्वभर छरिएर रहेका नेपाली मूलका दोस्रो र तेस्रो पुस्तालाई नेपाली भाषा, साहित्य, संस्कृति र सम्पदासँग कसरी जोड्ने भन्ने विषयमा महत्त्वपूर्ण विमर्श भयो।

अन्तरसंवादमा भाग लिँदै अष्ट्रेलियाबाट आएका योगी आचार्य राजन शर्माले प्रविधिको बढी प्रयोगले बालबालिका र अभिभावक दुवैमा लागू पदार्थ जस्तै असर पारेकाले उनीहरूलाई खेलकुद, योग र ध्यान जस्ता रचनात्मक कार्यमा व्यस्त राख्नुपर्ने जोड दिए।

उनले फिजीमा नेपाली भाषा-संस्कृति हराइसकेको अवस्थामा त्यहाँ नेपाली पाठशाला खोलेर स्वयंसेवीमार्फत भाषा सिकाउन थालिएको जानकारी समेत दिए। त्यस्तै, एशिया महादेशको प्रतिनिधित्व गर्दै प्रा. डा. पुष्पा शर्माले संयुक्त परिवारमा बस्ने बालबालिकाहरूले भाषा, साहित्य र संस्कृति सहज रूपमा सिक्ने गरेको उदाहरण प्रस्तुत गरे।

युरोपकी साहित्यकार माया गुरुङले बालबालिकाहरूलाई विभिन्न कार्यक्रमहरूमा निरन्तर जोडेर लैजाँदा भाषा सिक्न सजिलो हुने आफ्नो अनुभव सुनाए। उत्तर अमेरिकाका साहित्यकार शिव दाहालले भाषा सिक्न दबाब नदिई यसको महत्त्व बुझाउनुपर्ने उल्लेख गर्दै यदि हामीले नेपाली भाषा सिकाएनौँ भने भाषा होइन, हामी आफैँ लोप हुनेछौँ भनी सचेत गराए।

उत्तर अमेरिकाकै रेखा जोशीले बालमनोविज्ञानमा कोभिड-१९ पछि देखिएको मानसिक तनाव र यसमा अभिभावकले ध्यान दिनुपर्ने विषयमा आफ्नो धारणा राखे। कार्यक्रमका सहजकर्ता सुरेन उप्रेतीले दोस्रो र तेस्रो पुस्ताले भाषा-संस्कृतिको नेतृत्व नलिए नेपाली पहिचान ‘समुद्रमा हराएको जहाज’ वा ‘लट्टाईबाट धागो चुँडिएको चङ्गा’ जस्तै हुने बताए।

यसै कुरालाई मध्यनजर गर्दै संस्थाले संसारभरका बालबालिकाहरूलाई समेटेर कविता वाचन तथा युगकवि सिद्धिचरण विषयक वक्तृत्वकला आयोजना गरिरहेको र ९ देशका बालबालिकाको कविता समेटिएको क्यालेन्डर विभिन्न देशका नेपाली घरहरूमा पुर्‍याएको जानकारी दिए।

यसै सम्मेलनको एक मुख्य आकर्षणका रूपमा विश्वका २४ देशका १७० जना बालबालिकाहरूले लेखेका कविताहरूको सङ्ग्रह ‘धराका सितारा’ लोकार्पण गरियो।

Screenshot

उक्त बालकविता सङ्ग्रहलाई अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, बोर्ड अफ ट्रष्टीका सल्लाहकार तीर्थ अधिकारी, सल्लाहकार रोहिणी शर्मा र पूर्व अध्यक्ष प्रा. मोहन सिटौलाले संयुक्त रूपमा लोकार्पण गरेका थिए।

यो विशेष अवसरमा नेपालका वरिष्ठ सञ्चारकर्मीहरू श्रीओम श्रेष्ठ रोदन, बबिता बस्नेत, नारायण श्रेष्ठ, सुधिर शर्मा, वसन्त बस्नेत, टिकाराम यात्री, विपुल पोखरेल, दिनेश कार्की, ओम आचार्य, यशोदा तिम्सिना र दीर्घराज उपाध्यायको समेत उपस्थिति रहेको थियो।

सम्मेलनमा विश्वभर छरिएर नेपाली भाषा, साहित्य, संस्कृति र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउने नौ जना नारीहरूलाई ‘नवरत्न पुरस्कार’ प्रदान गरियो। पुरस्कार समितिकी संयोजक गीता बज्गाईँले नाम घोषणा गरे अनुसार नेपालबाट डा. रेनुका सोलु, अष्ट्रेलियाबाट रिजा प्रधान, डेनमार्कबाट सीतादेवी बाँस्तोला (सीता बराल), क्यान्सस अमेरिकाबाट कमला न्यौपाने, क्यालिफोर्निया अमेरिकाबाट विष्णु घले, अमेरिकाबाट लक्ष्मी श्रेष्ठ, हवाई अमेरिकाबाट एना स्टार, अमेरिकाबाट सीता अर्याल र पोर्चुगालबाट सवी श्रेष्ठले यो पुरस्कार प्राप्त गरे।

यसैगरी, म्यारिल्याण्ड राज्यको जनरल एसेम्बलीका सिनेटर ह्यारी भण्डारीको तर्फबाट प्रवासमा रहेर नेपाली भाषा-साहित्यमा योगदान पुर्‍याउने न्यूयोर्ककी साहित्यकार सकुन ज्ञवाली, क्यालिफोर्नियाकी साहित्यकार निलुकृष्ण गिरी र क्यालिफोर्नियाकै साहित्यकार गीता बज्गाईलाई कदर पत्र प्रदान गरियो, जुन कदर पत्र डा. ऋषि बस्ताकोटीले हस्तान्तरण गरेका थिए।

संसारभरका नेपाली साहित्यकारहरूको उत्साहजनक सहभागिता रहेको यो नवौँ विश्व सम्मेलन आगामी कार्यदिशा समेटिएको नौ बुँदे घोषणापत्र पारित गर्दै भव्य रूपमा समापन भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *