आचार, विचार र अनुसरण: सिद्धान्त र व्यवहारबीचको बढ्दो खाडल
यस विशाल संसारमा अरबौंको संख्यामा मानिसहरू बसोबास गर्दछन् र जति धेरै मानिसहरू छन्, त्यति नै धेरै भिन्न र विविध प्रकारका विचारहरू पनि विद्यमान छन्। यहाँ मानव समाजभित्र विभिन्न विधा र क्षेत्रका विचारधारा बोक्ने व्यक्तित्वहरूको उपस्थिति रहेको देखिन्छ।
जसमध्ये कोही राजनीतिक विचारधारासँग आवद्ध छन्, कोही आर्थिक विचारलाई प्राथमिकता दिन्छन्, कोही धार्मिक विचारमा आस्था राख्छन् त कोही दार्शनिक विचारका अनुयायी छन्, यसरी समाजमा अनेकौं किसिमका भिन्न विचार बोक्ने मानिसहरू भेटिन्छन्।
तर सबै मानिसहरूले आ-आफ्नो रुचि र क्षेत्रअनुसारका विभिन्न विचारधाराहरू मनमा अंगीकार गरेको भए तापनि ती विचारहरूका आधारमा कसैले पनि आफ्नो वास्तविक जीवनमा सही रूपमा अनुसरण गरेको भने कतै पाइँदैन।
संसारको इतिहासलाई नियाल्दा विगतदेखि वर्तमान समयसम्मका दार्शनिकहरू, राजनीतिज्ञहरू, अर्थशास्त्रीहरू, मनोविद्हरू, नेताहरू, शासकहरू, धर्मगुरुहरू, सन्त महन्तहरू, व्यापारीहरू, उद्योगपतिहरू, अरबपतिहरू, राष्ट्रपतिहरू तथा राजाहरू जस्ता यावत शक्तिशाली र गन्यमान्य मानिसहरूले जे-जस्तो आचरण प्रदर्शन गर्छन्, त्यही अनुरूपको असल अनुसरण उनीहरू स्वयंले समेत गरेको कतै पनि भेटिँदैन।
विशेष गरी राजाहरूको बारेमा चर्चा गर्नु पर्दा यस संसारको इतिहासमा कति धेरै राजाहरू आए, जो कालान्तरमा अत्यन्तै निरङ्कुश बन्न पुगे र अन्ततः तीमध्ये कोही क्रूरतापूर्वक मारिए भने कोहीको नराम्रोसँग पतन भयो र कोही इतिहासको पानामा विलीन भएर बिस्तारै संसारबाटै धमाधम नामेट हुँदै गइरहेको अवस्था देखिन्छ।
इतिहास र वर्तमानमा जो जति पनि यसरी समाप्त भएर गए, ती सबै जना आफ्नो वास्तविक आचरण अनुसारको सहि मार्गमा अनुसरण नगरेकै कारणले गर्दा नै पतनको दिशातिर धकेलिएको प्रस्ट रूपमा देख्न सकिन्छ।
त्यसै गरी विश्वमा धेरै राष्ट्रपतिहरू पनि सत्तामा आए तर कैयौँ राष्ट्रपतिहरू आफ्नै अनुशासनहीनता तथा गलत प्रवृत्तिका कारणले गर्दा कतिपय मारिनु पर्यो, कतिपय देश छोडेर ज्यान बचाउनका लागि अन्य विदेशी देशहरूमा शरण लिन पुगे भने कतिपयलाई त आफ्नै मुलुकभित्र नजरबन्दमा राख्ने सम्मका कार्यहरू भएका छन्।
किनभने राज्यको सर्वोच्च सत्ता र शासन सञ्चालन गर्ने स्थानमा पुगेपछि जस्तोसुकै सुझबुझ भएको व्यक्तिलाई पनि अलिकति भए पनि घमण्ड, अहंकार र शक्तिको मात लाग्ने गरेको तीतो यथार्थ सबैतिर छताछुल्ल रूपमा देखिएको छ।
यही शक्तिको मातका कारण एउटा शक्तिशाली राष्ट्रले अर्को कमजोर तथा निमुखा राष्ट्रमाथि अनुचित दबाब र प्रभाव सिर्जना गरी आफ्नो अधीनमा राख्ने प्रयास गर्छन् र त्यस्तै अनुकूल मौका मिलेको खण्डमा त अर्को सार्वभौम राष्ट्रलाई नै आफ्नो भूभागमा जबर्जस्ती मिलाउने जस्ता कठोर एवं घातक कदमहरू कतिपयले विगतमा गरे भने कतिपयले आजको आधुनिक भनिने युगमा पनि निरन्तर गरिरहेको प्रस्ट देखिन्छ।
यसकै दुष्परिणामस्वरूप आज संसारमा जताततै हत्या, हिंसा, विनाशकारी युद्ध, संत्रास र डरको वातावरण तीव्र रूपमा फैलिरहेको अवस्था छ। मानवीय समाजमा आवश्यक पर्ने आपसी सामञ्जस्यता, भ्रातृत्व र मिलिजुली बस्ने खालको उच्च आचरण र त्यसको व्यवहारिक अनुसरण कसैले पनि राम्रोसँग आत्मसात् गर्न सकेका छैनन्।
विचार र विधाकै सम्बन्धमा अझ गहिरिएर भन्ने हो भने संसारका ठूला-ठूला राजनीतिज्ञहरूले जे-जस्ता महान् सिद्धान्तहरूको प्रतिपादन गरे, अनि लोककल्याणका लागि भिन्न व्यवस्था र नयाँ शासन प्रणालीको सूत्रपात गरे तापनि ती सुन्दर सिद्धान्त र व्यवस्थालाई आफ्नै व्यवहारमा उतार्न र लागू गर्न भने कोही पनि समर्थ रहेको देखिँदैन।















Facebook Comment