कविताः जरा र मुहान
१. जरा र मुहान
हाँगा र पातमा रमाउनेहरूले
रूख र जराको अर्थ कसरी बुझुन्!
बोतलको पानी पिउनेहरूले
मुहान र नदीको महत्त्व कसरी जानून्!
फेरि पनि जराले नै उभ्याउँछ
विशाल रूख!
खोचमा उम्रिएको मुहानले नै बगाउँछ
अन्त्यहीन नदी!
आजसम्म
न मुहानले सम्मान खोजेको देखेको छु
न त जराले नै!
२. सम्बन्धका नाममा
छालाजस्तो टाँसिएको सम्बन्धले
जब जिन्दगी दुखाउन थाल्छ
तब मानिसलाई
कुनै पनि सम्बन्धको विश्वास लाग्दैन।
सम्बन्धलाई सम्झौतामा बाँध्न परे पछि
जीवनमा हाँसो होइन
आँसुले राज गर्दोरहेछ।
सम्बन्धका नाममा
जब मानिसले आफू मात्रै खोज्छ
अनि मान्छेको मन होइन
सम्बन्धकै मन दुख्छ!
सम्बन्धको आनन्द खोज्नेले
सम्बन्धितको मन पनि छ
भन्ने ख्याल गर्नुपर्छ।
सम्बन्ध एकपक्षीय बनेर
कहिल्यै बाँच्न सक्दैन।
३. चिया बगान पुगेपछि
चिया बगान पुगेपछि
सोध्न मन लाग्यो-
लाखौँको सङ्ख्यामा
अँगालो हालेर बसेका
चियाका यी बोटहरू
एक-आपसमा झगडा गर्छन् कि गर्दैनन्?
बाँच्नकै लागि मानिसले झैँ
एक-अर्कालाई दुःख दिएर
लखेटी-लखेटी मार्छन् कि मार्दैनन्!
(लामा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख हुन्)
No ads found for this position



Facebook Comment