उपत्यकामा चौबिस घण्टामा दुई हजार बढी सवारीचालक कारबाहीमा

डिसी नेपाल
८ असार २०८३ ११:१०

काठमाडाैं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकहरूमाथिको कारबाहीलाई प्रहरीले थप तीव्रता दिएको छ। पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकाका विभिन्न स्थानमा सवारी नियम पालना नगर्ने दुई हजार ७६ जना सवारीचालक कारबाहीमा परेका छन्।

यसरी नियम उल्लंघन गर्नेहरूबाट राज्यकोषमा कुल १० लाख ५३ हजार ५१० रुपैयाँ राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यस अवधिमा तीव्र गतिमा सवारीसाधन हुइँक्याउने चालकहरू सबैभन्दा धेरै कारबाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार तीव्र गतिका २२८ जना, संकेत बत्ती (ट्राफिक लाइट) उल्लंघन गर्ने ११७ जना र लेन अनुशासन पालना नगर्ने १२९ जना चालकलाई कारबाही गरिएको छ।

त्यसैगरी, नियम विपरीत ‘राइड सेयरिङ’ गर्ने ९३ जना, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९० जना, मादक पदार्थ सेवन (मापेसे) गरेर सवारी चलाउने ८८ जना र एकतर्फी (वान वे) कायम गरिएको सडकमा सवारी गुडाउने ८८ जना चालक पनि कारबाहीको दायरामा आएका छन्।

प्रवक्ता सुवेदीका अनुसार निषेधित क्षेत्रमा हर्न बजाउने ५७ जना र अन्य विभिन्न प्रकृतिका सवारी नियम पालना नगर्ने एक हजार १८६ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

उपत्यकाको यातायात प्रणालीलाई व्यवस्थित, सुरक्षित र बुझिने बनाउनका लागि ट्राफिक प्रहरीले नियमित तथा आकस्मिक चेकिङमार्फत कारबाही अभियानलाई निरन्तरता दिँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *