जापानस्थित नेपाली दूतावासमा नागरिक सहायता कक्ष स्थापना, सेवा प्रवाह थप सहज हुने अपेक्षा

ज्याक खड्का
१० असार २०८३ १०:०५

टोकियो, जापान। जापानमा रहेका नेपाली नागरिकहरूलाई दूतावासीय सेवा अझ छिटो, सहज र प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले टोकियोस्थित नेपाली राजदूतावासमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सहकार्यमा स्थापना गरिएको यस सहायता कक्षको हालै एक विशेष कार्यक्रमका बीच उद्घाटन तथा शुभारम्भ गरिएको हो।

उद्घाटन कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाली राजदूतावासका कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, एनआरएनए जापानका पूर्वअध्यक्ष नविन न्यौरे, प्रवक्ता सचिन आचार्य, जनजाति महासंघ जापानका कार्यवाहक अध्यक्ष बुद्धि गौचन, मगर संघ जापानका अध्यक्ष भिक्टर थाडा मगर लगायत दूतावासका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले जापानभर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले दूतावासीय सेवा लिँदा भोग्नुपर्ने विभिन्न कठिनाइलाई कम गर्न यो पहल गरिएको बताए।

एनआरएनए जापानले आफ्नै कर्मचारी दूतावासमा खटाएर सेवा प्रदान गर्ने व्यवस्था मिलाएको जानकारी दिँदै उहाँले यो प्रयास जापानमा रहेका हरेक नेपालीको समस्या, जिज्ञासा र आवश्यकतामा हातेमालो गर्ने संघको प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम भएको उल्लेख गरे। आगामी दिनमा पनि नेपाली समुदायको हितका लागि यस्ता कार्यलाई निरन्तरता दिने उनको भनाइ थियो।

यसैगरी, कार्यक्रममा कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले एनआरएनए जापानको यस सक्रियताको मुक्तकण्ठले प्रशंसा गरे।

विदेशमा रहेका नेपाली नागरिकको सेवा र सुविधाका लागि सरकारी निकाय र सामुदायिक संस्थाबीचको सहकार्य अपरिहार्य हुने उल्लेख गर्दै उनले नागरिकको सेवामा केन्द्रित भएर गरिएको यो कार्य अत्यन्तै सराहनीय रहेको बताए। कार्यवाहक राजदूत पौडेलले दूतावास र एनआरएनए जापानबीचको यो सहकार्य आगामी दिनमा अझ मजबुत, सुदृढ र परिणाममुखी बन्ने विश्वास समेत व्यक्त गरे।

नवनिर्मित नागरिक सहायता कक्षमार्फत दूतावास पुग्ने सेवाग्राही नेपालीहरूले आवश्यक जानकारी, कागजी प्रक्रियासम्बन्धी सहजीकरण तथा विभिन्न दूतावासीय सेवासम्बन्धी मार्गदर्शन सहजै प्राप्त गर्न सक्नेछन्।

सरकारी निकाय र सामाजिक संस्थाको यो संयुक्त पहलले जापानमा रहेका नेपाली समुदायलाई थप सहज, व्यवस्थित र नागरिकमैत्री सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *