कडा प्रतिबन्ध र राजनीतिक तनावका बीच इरान विश्वकपबाट बाहिर, कप्तान र प्रशिक्षकद्वारा आयोजकको तीव्र आलोचना
काठमाडौँ । राजनीतिक तनाव र कडा अमेरिकी प्रतिबन्धहरूको सामना गरिरहेको इरानी फुटबल टोली फिफा विश्वकप २०२६ को समूह चरणबाटै दुर्भाग्यपूर्ण रूपमा बाहिरिएको छ।
मैदान भित्र र बाहिर दुवैतर्फ चरम उथलपुथलका बीच खेलिरहेको इरान अन्तिम ३२ (राउन्ड अफ ३२) मा पुग्नबाट मात्र एक स्थानले चुकेको हो। समूह ‘जी’ मा रहेको इरानले बेल्जियम, न्युजिल्यान्ड र इजिप्टविरुद्धका खेलहरू बराबरी (ड्र) खेल्दै कुल तीन अङ्क जोडेर तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो।
शनिबार राति अल्जेरियाले स्टपेज टाइममा सानदार गोल गर्दै अस्ट्रियाविरुद्ध ३-२ को अग्रता बनाएपछि इरान टाइब्रेकरका आधारमा अर्को चरणमा पुग्ने बलियो सम्भावना देखिएको थियो। तर, खेलको अन्तिम क्षणमा अस्ट्रियाले बराबरी गोल फर्काएपछि खेल ड्र भयो र यसैसँग इरानको विश्वकप यात्रामा पूर्णविराम लाग्यो।
इरानी टोली यस्तो समयमा विश्वकप खेलिरहेको थियो, जब यसै वर्ष सुरु भएको युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने उद्देश्यका साथ अमेरिकासँग सम्झौताका लागि वार्ता भइरहेको छ। शनिबार इरानले अमेरिकी नौसेनाको पाँचौँ बेडा तैनाथ रहेको बहराइनलाई निशाना बनाएर ड्रोन आक्रमण गरेपछि राजनीतिक तनाव थप चुलिएको थियो, जसलाई अमेरिकाले रातभर गरेको हवाई आक्रमणको जवाफका रूपमा हेरिएको थियो।
त्यसको केही घण्टापछि अमेरिकाले होर्मुज स्ट्रेट नजिकै एउटा जहाजलाई निशाना बनाएको आरोप लगाउँदै इरानका कयौँ सैन्य ठेगानाहरूमा आक्रमण गरेको दाबी गरेको थियो। ‘न्यूयोर्क टाइम्स’ को रिपोर्ट अनुसार राजनीतिक लडाइँ र युद्धका कारण लागेका पाबन्दीहरू इरानी खेलाडी र स्टाफका लागि ठूलो बोझ बनेका थिए।
इरानले प्रतियोगिता अघि अभ्यास खेलका लागि कुनै टोली पाउन सकेन भने अमेरिकी भिसाका लागि महिनौँ कुर्नुपरेको थियो, जसमा दर्जनौँ स्टाफको भिसा अस्वीकृत भयो। वास्तवमा, अमेरिका र इजरायलले गत २८ फेब्रुअरीमा इरानमाथि आक्रमण गरेर युद्धको सुरुवात गरेका थिए, जसको जवाफमा इरानले अरब देशहरूमा आक्रमण गर्दै होर्मुजमा आफ्नो नियन्त्रण बलियो बनाउने प्रयास गरेको थियो।
मार्च महिनामा इरानले आफ्ना खेलहरू कूटनीतिक सम्बन्ध रहेको मेक्सिकोमा गराउन माग गरेको थियो। टोलीको बेस क्याम्प एरिजोनाको टक्सनबाट परिवर्तन गरी मेक्सिकोको टिजुआना गर्ने अनुरोध टोली पुग्नु दुई हप्ता अघि मात्र स्वीकृत भएको थियो। शनिबार बाहिरिएपछि इरानी टोलीले मेक्सिकोप्रति आभार व्यक्त गर्दै बयान जारी गरेको छ।
इरानका कप्तान मेहदी तारेमीले सन् २०२६ को फिफा विश्वकपमा आफ्नो टोलीसँग गरिएको व्यवहारलाई “अनुचित” भन्दै तीव्र आलोचना गरेका छन् र यसलाई “सबैभन्दा खराब विश्वकप” को संज्ञा दिएका छन्। तारेमीले भने, “यहाँ हरेक समस्याको समाधान गरिनु पर्दथ्यो, तर दुर्भाग्यवश सुरुदेखि नै उनीहरूले समस्या सुल्झाउन सकेनन्।”
उनले अन्य टोलीहरूलाई पूर्ण लजिस्टिक सहायता उपलब्ध गराउँदा इरानका धेरै सहयोगी स्टाफलाई अमेरिकी भिसा नदिइएको र सिएटल तथा टिजुआनाबीचको लगातारको यात्राले खेलाडीहरूलाई ‘रिकभरी’ को समय नै नदिएको भन्दै आक्रोश व्यक्त गरे।
यसैगरी, लस एन्जलस नजिक खेलिएका पहिलो दुई खेलका लागि टोलीलाई खेलको अघिल्लो दिनसम्म यात्रा गर्ने अनुमति थिएन र हरेक खेल लगत्तै मेक्सिको फर्किनु पर्ने बाध्यता थियो। पछि अमेरिकाले केही प्रतिबन्ध खुकुलो पार्दै इजिप्टविरुद्धको खेलका लागि दुई दिन अघि सिएटल जाने अनुमति दिएको थियो।
पहिलो खेलका क्रममा सयौँ इरानी-अमेरिकीहरूले स्टेडियम बाहिर तेहरानमा परिवर्तनको माग गर्दै प्रदर्शन गरेका थिए भने स्टेडियम भित्र राष्ट्रगानका समयमा तालि र हूटिङ दुवै सुनिएको थियो। यदि इरान अर्को चरणमा पुगेको भए उसको आगामी खेल ब्रिटिश कोलम्बियाको भ्यानकुभरमा हुने थियो।
इजिप्टविरुद्धको खेल बराबरीमा सकिएपछि इरानका मुख्य प्रशिक्षक अमीर गालेनोईले आयोजकले उनीहरूसँग निकै नराम्रो व्यवहार गरेको बताए। उनले भने, “यी युवा इरानी खेलाडीहरूले जे गरे, त्यो इतिहासमा दर्ता हुनुपर्छ। किनभने आयोजकले हाम्रो साथमा सबैभन्दा खराब सम्भावित व्यवहार गर्यो।”
गालेनोईले प्रतियोगिताका अन्य ४७ जना प्रशिक्षकहरूलाई मैदान बाहिरका चुनौतीहरूबारे एउटा प्रश्न सोधेको तर कसैले पनि जवाफ नदिएको र कतैबाट समर्थन नपाएको गुनासो गरे। यद्यपि, बेल्जियमका प्रशिक्षक रूडी गर्सियाले आफ्नो प्रेस कन्फरेन्समा “हामी यहाँ फुटबलका लागि हौँ, राजनीतिको लागि होइन” भनेको कुरा उनले उल्लेख गरे।
गालेनोईले उनीहरूको गुनासो राजनीतिको नभई विश्वकप आयोजकको व्यवहारको विरुद्धमा रहेको स्पष्ट पारे। उनले शुक्रबार फिफाले आफूलाई फोन गरेर सोही दिन साँझ अमेरिकाका लागि उडान (फ्लाइट) को व्यवस्था मिलाइदिए तयार हुने कि नहुने भनी सोधेको तर साँझ ७ बजेसम्म पर्खिँदा पनि त्यो योजना पूरा हुन नसकेको र फिफाले माफी मागेको खुलासा समेत गरे। अमेरिकी अधिकारीहरूले भने प्रतियोगिता सुरु हुनु अघि नै सबै प्रतिबन्धहरूको बारेमा जानकारी गराइसकिएको दाबी गरेका छन्।






डिसी नेपाल





Facebook Comment