बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंह नियुक्त
काठमाडौं। सरकारले चितवनस्थित प्रतिष्ठित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ।
नवनियुक्त अध्यक्ष डा. सिंहले आजै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बीच मन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
अस्पतालको बोर्ड अध्यक्ष चयनका लागि गठित सिफारिस समितिले खुला आवेदनहरूमध्येबाट डा. योगेन्द्रप्रसाद सिंह, डा. अजयकुमार झा र डा. विजयचन्द्र आचार्यको नाम अन्तिम सिफारिस (शर्टलिस्ट) का रूपमा मन्त्रालयमा पठाएको थियो।
सोही सिफारिसका आधारमा सरकारले डा. सिंहलाई अध्यक्ष पदको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो।
नवनियुक्त अध्यक्ष डा. सिंह स्वास्थ्य क्षेत्रका अनुभवी वरिष्ठ चिकित्सक हुन्। उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयू टीचिङ हस्पिटल) मा ४६ वर्ष लामो सेवा पूरा गरी हालै मात्र अवकाश पाएका थिए।
मन्त्री मेहताबाट शपथ ग्रहण गरेसँगै डा. सिंहले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षको रूपमा आफ्नो औपचारिक कार्यभार सम्हालेका छन्।






डिसी नेपाल





Facebook Comment