कुलतको सुरुङ र चेतनाको उज्यालो
मानिसको सबैभन्दा ठूलो युद्ध आफ्नै मनसँग हुन्छ। जब मानिसले आफ्नो विवेक गुमाउँछ, तब ऊ बाहिरी शत्रुभन्दा आफ्नै अनियन्त्रित इच्छाको कैदी बन्छ। लागुऔषध त्यही मानसिक कैदको अर्को नाम हो।
यो केवल एउटा रासायनिक पदार्थ मात्र होइन, बरु मानवीय चेतनामाथिको गम्भीर आक्रमण हो; आत्मामाथि मडारिएको धुमिल बादल हो र विवेकलाई विस्तारै मार्ने मौन विष हो। यसले मानिसको शरीरलाई मात्र होइन, उसको सोच, संस्कार, परिवार र समग्र भविष्यलाई समेत ध्वस्त पार्ने अदृश्य शत्रुको काम गर्छ।
त्यसैले लागुऔषधलाई केवल एउटा स्वास्थ्य समस्या वा कानुनी अपराधका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। यो मानवीय चेतना, नैतिकता, आध्यात्मिकता र सभ्यतामाथिकै एउटा गम्भीर चुनौती हो।
पूर्वीय दर्शनले मानिसलाई आफ्ना इन्द्रियहरूको स्वामी बन्न सिकाउँछ। श्रीमद्भगवद्गीताले मनलाई जित्न सक्ने मानिसलाई नै सच्चा विजेता मानेको छ। कठोपनिषद्ले शरीरलाई रथ, इन्द्रियलाई घोडा, मनलाई लगाम र बुद्धिलाई सारथीको रूपमा सुन्दर चित्रण गरेको छ।
यदि लगाम कमजोर भयो भने घोडा अनियन्त्रित हुन्छ र बुद्धि निष्क्रिय भयो भने जीवन दुर्घटनामा परिणत हुन्छ। लागुऔषधले जीवनको यही लगाम काटिदिन्छ, विवेकलाई कमजोर बनाउँछ, आत्मसंयमलाई नष्ट गर्छ र निर्णय गर्ने क्षमता नै समाप्त पारिदिन्छ।
त्यसपछि मानिस बाहिरबाट स्वतन्त्र देखिए पनि वास्तवमा भित्रबाट दास बनिसकेको हुन्छ। बाहिरी रूपमा ऊ हिँडिरहेको त देखिन्छ, तर आन्तरिक रूपमा ऊ कुलतको साङ्लोमा बाँधिएको हुन्छ।
आज विश्व अभूतपूर्व वैज्ञानिक प्रगतितर्फ अघि बढिरहेको छ। कृत्रिम बुद्धिमत्ताको तीव्र विकास भइरहेको छ, अन्तरिक्ष अनुसन्धानले नयाँ उचाइ लिँदै छ र चिकित्सा विज्ञानले असम्भवजस्ता रोगहरूको उपचार खोजिरहेको छ।
तर, यही उज्यालो समयको समानान्तरमा अर्को एउटा भयानक अन्धकार पनि फैलिरहेको छ, जुन लागुऔषधको अवैध संसार हो। संयुक्त राष्ट्रसंघको ‘विश्व लागुऔषध प्रतिवेदन २०२५’ ले विश्वभर लागुऔषध प्रयोगकर्ताको संख्या निरन्तर बढिरहेको डरलाग्दो तथ्य प्रस्तुत गरेको छ।
यो बढ्दो संख्या केवल तथ्यांक मात्र होइन; यो त करोडौँ परिवारको आँसु, लाखौँ युवाको हराएको भविष्य र हजारौँ आमाबुबाको मौन पीडा हो। तथ्यांकले त केवल संख्या देखाउँछ, तर त्यसभित्र लुकेको टुटेको परिवार, उजाडिएको घर, रोइरहेकी आमा र बिस्तारै मर्दै गएको चेतनाको क्रन्दनलाई देखाउन सक्दैन।
लागुऔषधको सबैभन्दा ठूलो क्षति शरीरमा मात्र हुँदैन। शरीरको रोग त उपचारबाट निको हुन सक्छ, तर चेतनाको उपचार निकै कठिन हुन्छ। एकपटक मानिसको विवेकमा अन्धकार छाएपछि उसले सही र गलतको सीमा छुट्याउन सक्दैन।
उसको आत्मसम्मान हराउँछ, नैतिकता कमजोर हुन्छ र आपसी विश्वास टुट्छ। परिणामस्वरुप, मानिस आफ्नो परिवारबाट टाढिन्छ, समाजबाट अलगिन्छ र बिस्तारै आफ्नै अस्तित्वबाट पनि विच्छेद हुन पुग्छ। यही कारणले लागुऔषधले मानिसको सम्पूर्ण सुखद सम्बन्धहरूलाई जरैदेखि नष्ट गरिदिन्छ।
आध्यात्मिक दृष्टिले हेर्ने हो भने लागुऔषधले मानिसलाई वर्तमान क्षणको जीवन्तताबाट अलग गराइदिन्छ। जीवनको वास्तविक आनन्द त आत्मज्ञान, सेवा, प्रेम, परिश्रम र सन्तोषमा निहित हुन्छ। तर, लागुऔषधले कृत्रिम आनन्दको एउटा झुटो भ्रम सिर्जना गर्छ।
केही क्षणको नशाले वास्तविक पीडालाई लुकाउन त सक्ला, तर पीडाको मूल कारणलाई हटाउन सक्दैन; बरु त्यसलाई अझ गहिरो र दर्दनाक बनाउँछ। यो मरुभूमिमा देखिने मृगतृष्णाजस्तै हो, जहाँ टाढाबाट पानी देखिए पनि नजिक पुग्दा केवल तातो बालुवा मात्र भेटिन्छ। लागुऔषध पनि सुखको भ्रम बेच्ने एउटा आत्मघाती व्यापार हो, जसको अन्त्य सधैँ महादुःखमा हुन्छ।
लागुऔषधको संसारमा प्रवेश गर्ने अधिकांश युवाको उद्देश्य सुरुमै अपराधी बन्नु हुँदैन। धेरैजसोले केवल कौतुहलता र जिज्ञासाका कारण यसको सुरुवात गर्छन्। कतिपयले साथीभाइको दबाबमा पहिलो चुरोट तान्छन्, कतिपयले मानसिक तनावबाट भाग्न खोज्छन्, कतिले असफलताको पीडा बिर्सन यसको सहारा लिन्छन् त कतिपयले आधुनिकताको गलत अर्थ बुझेर यसको दलदलमा खुट्टा हाल्छन्।
तर, एउटा सानो प्रयोग विस्तारै बानी बन्छ, बानी लतमा परिणत हुन्छ र अन्ततः त्यो लतले मानिसको चरित्रमाथि नै कब्जा जमाउँछ। त्यसपछि मानिसले लागुऔषध प्रयोग गरिरहेको हुँदैन, बल्कि लागुऔषधले मानिसलाई कठपुतली झैँ प्रयोग गर्न थाल्छ।
आजको भौतिकवादी समाजमा बाहिरी उपलब्धिलाई मात्र सफलताको मापन मान्न थालिएको छ, जसले गर्दा मानिसको भित्री शान्ति हराउँदै गएको छ। परिवारभित्र आत्मिय संवाद घट्दै गएको छ, विद्यालयहरूमा नैतिक शिक्षाभन्दा तीव्र प्रतिस्पर्धाले प्राथमिकता पाएको छ र सामाजिक सञ्जालले मानिसहरूमाझ एकापसमा तुलना गर्ने प्रवृत्ति बढाएको छ। यसले गर्दा समाजमा एक्लोपन र मानसिक तनाव बढेको छ।
यिनै मानवीय कमजोरीहरूलाई लागुऔषधको अवैध सञ्जालले आफ्नो व्यवसाय बढाउने अवसरका रूपमा उपयोग गरिरहेको छ। जहाँ जीवनप्रतिको आशा कमजोर हुन्छ, त्यहाँ कुलतले छिटो जरा गाड्छ। जहाँ परिवार विखण्डित हुन्छ, त्यहाँ नशाले छिट्टै आफ्नो घर बनाउँछ र जहाँ प्रेमको अभाव हुन्छ, त्यहाँ विषले सजिलै स्थान पाउँछ।
यसैले, लागुऔषधविरुद्धको यो लडाइँ केवल सुरक्षा निकाय वा प्रहरीको मात्र जिम्मेवारी होइन। यो त परिवार, विद्यालय र समग्र समाजको साझा दायित्व हो। धर्म, दर्शन, शिक्षा, स्वास्थ्य र राज्य सबैको सामूहिक उत्तरदायित्व यसमा जोडिएको छ; किनकि लागुऔषधले एउटा व्यक्तिलाई मात्र मार्दैन, यसले त सिङ्गो पुस्ताको चेतनालाई नै अपाङ्ग बनाउँछ।
चेतना कमजोर भएको समाज कहिल्यै पनि समृद्ध र सभ्य बन्न सक्दैन। त्यसैले, लागुऔषधविरुद्धको यो अभियान केवल अपराध नियन्त्रणको प्रशासनिक कार्य मात्र होइन, यो त मानवता र सभ्यता बचाउने महान् अभियान हो।
लागुऔषधले शरीरमा प्रवेश गर्नुभन्दा पहिले मानिसको सोच र विचारमा प्रवेश गर्छ। कुनै पनि युवा जन्मँदै कुलतमा फसेको हुँदैन। जन्मँदा प्रत्येक बालक शुद्ध, निर्मल मन र उज्याला सपनाहरू बोकेर आएको हुन्छ।
तर विस्तारै वातावरण बदलिन्छ; परिवारमा आत्मीय संवाद हराउँछ, समाजमा आपसी विश्वास कमजोर बन्छ, विद्यालयमा चरित्र निर्माणभन्दा अंक ल्याउने प्रतिस्पर्धा बढ्छ र साथीभाइको गलत सङ्गत हाबी हुन थाल्छ।
सामाजिक सञ्जालले देखाउने कृत्रिम जीवनशैलीले युवाहरूलाई झन् आकर्षित पारिदिन्छ। त्यसपछि मानिसले वास्तविक जीवनको संघर्षभन्दा सजिलो र कृत्रिम आनन्द खोज्न थाल्छ। यही कमजोरीको बीचमा लागुऔषधले आफ्नो महाजाल फैलाउँछ। त्यसैले लागुऔषध कुनै सामान्य पदार्थको व्यापार मात्र होइन, यो त भ्रमको महाव्यापार हो; आशा र ऊर्जा हराएका मानिसहरूलाई झुटो सुख बेचेर बर्बाद पार्ने अँध्यारो संसार हो।
मानिसको जीवन विवेक र वासना जस्ता दुई विपरीत शक्तिहरू बीचको निरन्तर संघर्ष हो। विवेकले मानिसलाई आत्मसंयमतर्फ डोर्याउँछ भने वासनाले नियन्त्रणहीन इच्छाहरूको खाडलतर्फ धकेल्छ।
जब विवेक बलियो हुन्छ, मानिसले कठिन परिस्थितिमा पनि सही र दूरगामी निर्णय लिन सक्छ। तर जब वासना हाबी हुन्छ, मानिस क्षणिक आनन्दका लागि आफ्नो दीर्घकालीन जीवन नष्ट गर्न पनि तयार हुन्छ।
लागुऔषधले मानिसको यही मानसिक कमजोरीको फाइदा उठाउँछ। यसले मस्तिष्कलाई केही समयका लागि आनन्दको झुटो महसुस गराउँछ र बिस्तारै शरीरले सधैँ त्यसैको माग गर्न थाल्छ। अन्ततः मानिस आफ्नो इच्छाको मालिक रहँदैन, ऊ आफ्नै घातक लतको दास बन्न पुग्छ। यही मानसिक दासता नै आधुनिक युगको सबैभन्दा ठूलो र भयानक गुलामी हो।
हाम्रा दूरदर्शी ऋषिमुनिहरूले आत्मसंयमी हुनुलाई नै संसारको सबैभन्दा ठूलो विजय मानेका थिए। श्रीमद्भगवद्गीतामा भगवान् कृष्णले भन्नुभएको छ– जसले आफ्नो मनलाई जितेको छ, मन उसको सच्चा मित्र हो र जो मनसँग हारेको छ, मन नै उसको सबैभन्दा ठूलो शत्रु हो।
यो शाश्वत शिक्षा आजको आधुनिक युगमा झन् बढी सान्दर्भिक बनेको छ। लागुऔषधले मानिसलाई बाहिरी शत्रुसँग होइन, आफ्नै मनसँग हार्न बाध्य बनाउँछ। जब व्यक्ति मनसँग हार्छ, तब बिस्तारै उसको परिवार हार्छ, समाज हार्छ र अन्ततः सिङ्गो राष्ट्र नै कमजोर बन्न पुग्छ।
आज संसारमा गाँजा, अफिम, हेरोइन, कोकिन, मेथाम्फेटामिन, फेन्टानिल, एलएसडी र सयौँ प्रकारका सिन्थेटिक लागुऔषधहरू महामारीका रूपमा फैलिएका छन्।
प्रत्येक पदार्थको रासायनिक संरचना र नाम फरक-फरक हुन सक्छ, तर तिनको अन्तिम परिणाम एउटै हुन्छ- चेतनाको विनाश, आत्मविश्वासको पतन, नैतिकताको क्षय, सम्बन्धहरूको विघटन र जीवनप्रतिको सम्मानको समूल अन्त्य। सुरुमा मानिसले रहरले लागुऔषध प्रयोग गरे पनि केही समयपछि लागुऔषधले मानिसलाई आफ्नो इसारामा नचाउन थाल्छ र अन्ततः मानिसले आफ्नो मानवीय पहिचान नै गुमाउन पुग्छ।
लागुऔषधले सबैभन्दा पहिले व्यक्तिको जग अर्थात् परिवारमाथि प्रहार गर्छ। कुनै पनि घर अचानक भत्किँदैन; पहिले आपसी विश्वास टुट्छ, त्यसपछि संवाद हराउँछ, शंका-उपशंका जन्मिन्छ र अन्ततः सुन्दर सम्बन्धहरू विखण्डित हुन्छन्।
एउटी आमा रातभरि ढोकामा आँखा गाडेर छोराको प्रतीक्षामा बसिरहन्छिन्, एउटा बुबा आफ्नो असहायपन र भित्री रोदन लुकाएर समाजका अगाडि कृत्रिम रूपमा मुस्कुराउने प्रयास गर्छन्, दाजुभाइबीच दूरी बढ्छ र श्रीमान्श्री-मतीबीचको पवित्र विश्वास धराशायी हुन्छ। बालबालिकाहरूले आफ्नो सुरक्षित र सुन्दर बाल्यकाल गुमाउँछन्।
लागुऔषधले एउटा व्यक्तिलाई मात्र होइन, उसको सम्पूर्ण परिवारलाई नै मानसिक कैदी बनाइदिन्छ। यसरी एउटाको कुलत सिंगाे परिवारको आजीवन पीडा बन्न पुग्छ।
समाजमा यसको नकारात्मक प्रभाव अझ बढी गहिरो र भयानक हुन्छ। जहाँ लागुऔषधको सङ्क्रमण फैलिन्छ, त्यहाँ चोरी, डकैती, हिंसा, घरेलु कलह र यौनजन्य अपराधहरू तीव्र रूपमा बढ्छन्। मानव बेचबिखनको जोखिम बढ्छ र संगठित अपराधका सञ्जालहरू बलिया हुँदै जान्छन्।
अवैध धनको कारोबारसँगै भ्रष्टाचार मौलाउँछ र कानुनप्रतिको सम्मान शून्य बन्न पुग्छ। फलस्वरूप, समाजमा भय र अविश्वासको वातावरण निर्माण हुन्छ। त्यसपछि राज्यका सामु विकासका योजनाहरू अघि बढाउनुभन्दा सुरक्षा चुनौतीको सामना गर्नु ठूलो समस्या बन्न थाल्छ। अस्पतालहरू कुलतका बिरामीले भरिन्छन्, कारागारहरू अपराधीले भरिन्छन् र अदालतमा मुद्दाहरूको चाङ् लाग्छ।
राज्यको ठूलो बजेट र स्रोतसाधन सिधै विकासमा खर्च हुनुको साटो कुलतको उपचार, अनुसन्धान र नियन्त्रण जस्ता अनुत्पादक क्षेत्रमा खर्चिनुपर्ने बाध्यता आउँछ। यसरी लागुऔषधले केवल जनस्वास्थ्यलाई मात्र होइन, देशको अर्थतन्त्रलाई समेत धराशायी बनाउँछ।
नेपालका लागि त यो चुनौती अझ बढी संवेदनशील र जोखिमपूर्ण छ। खुला सिमाना, बढ्दो अनियन्त्रित सहरीकरण, वैदेशिक रोजगारीका जटिलता, बेरोजगारी, तीव्र सामाजिक परिवर्तन, मानसिक तनाव र अन्तर्राष्ट्रिय तस्करी सञ्जालका कारण नेपाल यसको उच्च जोखिमपूर्ण अवस्थातर्फ धकेलिँदै छ।
सीमावर्ती क्षेत्रहरूबाट अवैध लागुऔषध ओसारपसार हुने क्रम दिनानुदिन बढ्दो छ। अझ दुःखको कुरा, कतिपय युवाहरू सामान्य प्रयोगकर्ताबाट सुरु गरेर बिस्तारै यसको अवैध बिक्रेता (तस्कर) सम्म बन्ने गरेका छन्।
विद्यालय र कलेज उमेरका कलिला विद्यार्थीहरूसमेत यसको चपेटामा पर्नुले भविष्यको कर्णाधार पुस्ता नै संकटमा परेको संकेत गर्छ। यो अवस्था केवल प्रहरी र प्रशासनको मात्र चिन्ताको विषय होइन, यो त सम्पूर्ण समाजले गम्भीरतापूर्वक सोच्नुपर्ने साझा चुनौती हो।
लागुऔषधको अवैध व्यापार त्यहाँ बढी फस्टाउँछ जहाँ जीवनमा आशाभन्दा निराशा बढी हुन्छ; जहाँ गुणस्तरीय शिक्षाभन्दा अज्ञानता हाबी हुन्छ; जहाँ प्रेम र सद्भावभन्दा उपेक्षा र एक्लोपन बढी हुन्छ; जहाँ रोजगारभन्दा बेरोजगारीको पीडा धेरै हुन्छ र जहाँ संस्कारभन्दा उपभोक्तावादी संस्कृति बलियो हुन्छ।
त्यसैले, लागुऔषधविरुद्धको सबैभन्दा अकाट्य र प्रभावकारी हतियार केवल कडा कानुन मात्र होइन; बरु व्यापक जनसचेतना, चरित्र निर्माण, नैतिक शिक्षा, आत्मसंयम, परिवारको अगाध माया र समाजको अपनत्व हो।
जब कुनै पनि युवाले आफ्नो जीवनको एउटा सकारात्मक उद्देश्य र लक्ष्य भेट्छ, तब उसले कहिल्यै पनि नशाको आत्मघाती बाटो रोज्दैन। उद्देश्यविहीन र रित्तो मन नै वास्तवमा कुलतको सबैभन्दा सजिलो र पहिलो शिकार बन्ने गर्छ।
अतः लागुऔषधविरुद्धको यो महाअभियान वास्तवमा मानव चेतना र सभ्यता बचाउने अभियान हो। शरीर बचाउनु अवश्य पनि महत्त्वपूर्ण छ, तर त्योभन्दा कैयौँ गुणा बढी महत्त्वपूर्ण चेतना बचाउनु हो। यदि चेतना बाँच्यो भने कुलतमा फसेको मानिस पनि पुनः नयाँ जीवन पाएर उठ्न सक्छ, टुटिसकेको परिवार फेरि जोडिन सक्छ, समाज पुनः समृद्ध बन्न सक्छ र राष्ट्र आफ्नो उज्यालो भविष्यतर्फ अघि बढ्न सक्छ।
तर, यदि चेतना नै कुलतको कालो सुरुङभित्र सदाका लागि हरायो भने, संसारको कुनै पनि भौतिक विकास, अत्याधुनिक प्रविधि वा अथाह सम्पत्तिले पनि त्यो मानवीय क्षतिको पूर्ति कहिल्यै गर्न सक्दैन।












Facebook Comment