सर्लाहीमा ६० केजी गाँजासहित दुई जना पक्राउ
सर्लाही। सर्लाही प्रहरीले ६० किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार अपराह्न जिल्लाको ब्रह्मपुरी गाउँपालिका-२ धर्मपुरटोलस्थित कठिपुल नजिक प्रहरी चौकी ब्रह्मपुरीबाट खटिएको प्रहरी टोलीले हरिवनबाट नारायणतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ह ४५१७ नम्बरको अटो शंकाको आधारमा रोकी जाँच गरेको थियो।
जाँचका क्रममा अटोको डिक्की र सिटमुनि रातो प्लास्टिकले बेरिएका १२ वटा पोकामा लुकाइराखिएको ६० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा अटो चालक सर्लाहीको बागमती नगरपालिका-११ सखुवनी निवासी ३५ वर्षीय थिरविक्रम रायमाझी र अटोमा सवार सोहि ठाउँ निवासी ३५ वर्षीय प्रदीप मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला अदालत सर्लाहीबाट ६ दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए।






डिसी नेपाल





Facebook Comment