२० वर्षपछि विश्वकपमा फ्रान्स र स्पेन आमने-सामने: फाइनल प्रवेशका लागि डलासमा भिड्दै

डिसी नेपाल
३० असार २०८३ १३:५८

काठमाडौँ । विश्व फुटबलका दुई महारथी फ्रान्स र स्पेन २० वर्षपछि फिफा विश्वकपमा एकअर्काविरुद्ध मैदान उत्रने भएका छन्। जारी सन् २०२६ को विश्वकपको पहिलो सेमिफाइनल खेलमा यी दुई टोलीबीच बुधबार राति १२:४५ बजे अमेरिकाको डलास स्टेडियममा प्रतिस्पर्धा हुन लागेको हो।

विश्वकपको इतिहासमा यी दुई टोलीबीच यसअघि सन् २००६ को जर्मनी विश्वकपमा भेट भएको थियो, जहाँ फ्रान्सले अन्तिम १६ (राउन्ड अफ १६) को खेलमा स्पेनलाई ३-१ ले पराजित गरेको थियो। समग्र इतिहासलाई हेर्दा हालसम्म यी दुई देशबीच कुल ३८ खेलहरू भएका छन्, जसमा स्पेनले १८ र फ्रान्सले १३ खेल जितेका छन् भने बाँकी ७ खेल बराबरीमा सकिएका छन्।

यस खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पे उत्कृष्ट लयमा मैदान उत्रनेछन्। उनी जारी विश्वकपमा हालसम्म सबैभन्दा बढी ८ गोल गर्दै ‘गोल्डेन बुट’ को दौडमा सबैभन्दा अगाडि रहेका छन्। अर्कातर्फ, स्पेनको मुख्य आशा भने उनका १९ वर्षीय युवा स्टार लामिन यमालमाथि टिकेको छ।

यमालले समग्र प्रतियोगिताभरि गोलका थुप्रै उत्कृष्ट अवसरहरू सिर्जना गरेका छन्, यद्यपि हालसम्म उनको नाममा केवल एक गोल मात्र रहेको छ। यी दुई टोली पछिल्लो पटक सन् २०२५ को नेसन्स लिगको सेमिफाइनलमा भिडेका थिए, जहाँ स्पेनले ५-४ को अन्तरले रोमान्चक जित दर्ता गरेको थियो। उक्त खेलमा यमालले दुई गोल गरेका थिए।

यदि फ्रान्सले यो खेल जितेमा उसले लगातार तेस्रो पटक विश्वकपको फाइनलमा पुग्ने ऐतिहासिक अवसर प्राप्त गर्नेछ। यसअघि फ्रान्सले सन् २०१८ को विश्वकप उपाधि जितेको थियो भने सन् २०२२ को कतार विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो।

अर्कोतर्फ, स्पेन भने यस प्रतियोगितामा हालसम्म अपराजित रहँदै उच्च मनोबलका साथ मैदान उत्रनेछ। स्पेनले खेलेका ६ खेलमध्ये ५ खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको छ।

समूह चरणमा साउदी अरबलाई ४-० र उरुग्वेलाई १-० ले पराजित गरेको स्पेनले केप भर्डेसँग भने ०-० को बराबरी खेलेको थियो। त्यसपछि नकआउट चरणको यात्रा तय गर्दै स्पेनले राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३-०, राउन्ड अफ १६ मा पोर्चुगललाई १-० र क्वार्टरफाइनलमा बेल्जियमलाई २-१ ले पाखा लगाएको थियो।

यदि स्पेनले यो खेल जितेमा सन् २०१० मा पहिलोपटक विश्वकपको उपाधि जितेयता टोली पहिलो पटक फाइनलमा प्रवेश गर्नेछ। स्पेनले सन् २०१० को फाइनलमा नेदरल्याण्ड्सलाई १-० ले पराजित गर्दै उपाधि जितेको थियो।

फ्रान्ससँग एम्बाप्पे र उस्मान डेम्बेले जस्तो खतरनाक आक्रामक जोडी रहेको छ, जहाँ एम्बाप्पेबाहेक डेम्बेलेले पनि यस प्रतियोगितामा ५ गोल गरिसकेका छन्। उनीहरूको सामना स्पेनको मजबुत रक्षापङ्क्तिसँग हुनेछ, जसले यस प्रतियोगिताभरि हालसम्म केवल एक गोल मात्र खाएको छ।

स्पेनको आक्रमणको कमान लामिन यमाल र मिकेल मेरिनोले सम्हाल्नेछन्, जसमा मेरिनोले टोलीका तर्फबाट सबैभन्दा बढी २ गोल गरिसकेका छन्। दुवै टोली बलिया भएकाले यस सेमिफाइनल भिडन्तलाई विश्वभरका फुटबल प्रेमीहरूले निकै चासोका साथ पर्खिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *