राजनीतिक तटस्थता उल्लंघनको आरोप: फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध आईओसीमा उजुरी
काठमाडौं। फिफा अध्यक्ष जियानी इन्फान्टिनोविरुद्ध राजनीतिक तटस्थताको सिद्धान्त गम्भीर रूपमा उल्लंघन गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) मा उजुरी दर्ता भएको छ।
समाचार संस्था रोयटर्सका अनुसार मानवअधिकारवादी संस्था फेयरस्क्वायरले दायर गरेको उजुरीमा इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित विभिन्न राजनीतिक गतिविधिमार्फत आईओसीको आचारसंहिताको धज्जी उडाएको आरोप लगाइएको हो।
सन् २०२० देखि आईओसी सदस्यसमेत रहेका इन्फान्टिनोले ओलम्पिक चार्टरअनुसार राजनीतिक रूपमा पूर्ण तटस्थ रहनुपर्नेमा ट्रम्पको व्यावसायिक र राजनीतिक फाइदाका लागि काम गरेको दाबी उजुरीमा गरिएको छ।
यस विवादको मुख्य कडी जारी फिफा विश्वकप २०२६ को एउटा विवादास्पद निर्णयसँग जोडिएको छ। विश्वकपको राउन्ड अफ ३२ को खेलमा बोस्निया एन्ड हर्जेगोभिनाविरुद्ध सिधै रातो कार्ड पाएका अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनको स्वचालित निलम्बनलाई फिफाले अन्तिम समयमा आएर स्थगित गरिदिएको थियो।
नियमअनुसार एक खेलको प्रतिबन्ध भोग्नुपर्ने बालोगुनको निलम्बनलाई फिफाले अचानक एक वर्षको परीक्षण अवधिका लागि स्थगित गरेपछि उनले बेल्जियमविरुद्धको अन्तिम १६ को खेल खेल्न पाएका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमा उक्त रातो कार्डको निर्णय पुनरावलोकन गर्न आग्रह गरेलगत्तै फिफाले यस्तो निर्णय गरेको थियो। इन्फान्टिनोले ट्रम्पबाट फोन आएको स्वीकार गरे पनि त्यसले फिफाको निर्णयमा कुनै प्रभाव नपारेको दाबी गरेका छन्।
उता ट्रम्पले भने आफूले केवल निर्णयको पुनरावलोकन गर्न आग्रह गरेको र त्यो फाउल नै नभएकाले फिफाले सही निर्णय गरेको भन्दै रेफ्रीको आलोचना गरेका थिए। बालोगुन सहभागी भए पनि उक्त खेलमा अमेरिका बेल्जियमसँग ४-१ ले पराजित हुँदै विश्वकपबाट बाहिरिइसकेको छ।
विवादका बीच अध्यक्ष इन्फान्टिनोले फिफाका न्यायिक निकायहरू पूर्ण रूपमा स्वतन्त्र रहने र उनीहरूको स्वायत्तता फुटबलको विश्वसनीयताका लागि अत्यावश्यक रहेको भन्दै आफ्नो बचाउ गरेका छन्।
तर, फेयरस्क्वायरले भने इन्फान्टिनोले ट्रम्पको राजनीतिक स्वार्थका लागि स्पष्ट रूपमा पाँच वटा गतिविधि गरेको आरोप लगाएको छ। उजुरीमा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि समर्थन गरेको, ट्रम्पको शपथग्रहण समारोहसँग सम्बन्धित कार्यक्रममा सहभागिता जनाएको, ट्रम्पलाई फिफाको पहिलो ‘पीस प्राइज’ प्रदान गरेको तथा ट्रम्पको डाटा संकलन अभियानसँग जोडिएको भनिएको फिफा विश्वकप फ्यान प्लेटफर्मको प्रचार गरेको जस्ता गम्भीर विषयहरू समावेश छन्।
फेयरस्क्वायरले यसअघि गत डिसेम्बरमा फिफाकै आचारसंहिता समितिमा पनि इन्फान्टिनोविरुद्ध उजुरी दर्ता गरेको थियो, जसलाई नर्वेजियन फुटबल महासंघ तथा युरोपेली संसद्का ५० जना सदस्यले समेत समर्थन गरेका थिए।
फुटबलको सर्वोच्च निकायका प्रमुखमाथि अमेरिकी राष्ट्रपतिको प्रभावमा परेर खेलको नियम नै बदलिदिएको जस्तो गम्भीर आरोप लागेपछि खेल जगतमा नयाँ तरंग पैदा भएको छ। यद्यपि, यो उजुरी र विवादको विषयमा आईओसी र फिफाले हालसम्म कुनै आधिकारिक वा सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।






डिसी नेपाल





Facebook Comment