‘डिएगो, हामीलाई हात देऊ’: अर्जेन्टिना र इङ्गल्याण्डबीचको खेलले ब्युँतायो ऐतिहासिक तनाव

डिसी नेपाल
३१ असार २०८३ १५:५३

काठमाडौं । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली स्विट्जरल्याण्डलाई ३-१ ले पराजित गर्दै ड्रेसिङ रुममा प्रवेश गरेपछि उनीहरूले देशको अनौपचारिक विश्वकप गान ‘द फोर्थ स्टार’ गाएर जितको उत्सव मनाए। लियोनेल मेस्सी र उनका सहकर्मीहरूले ‘माल्भिनासका लागि, डिएगोका लागि’ भन्दै चर्को नारा लगाए, जसमा फकल्याण्ड टापु (जसलाई अर्जेन्टिनामा ‘इस्लास माल्भिनास’ भनिन्छ) र आफ्ना फुटबल लिजेन्ड डिएगो म्याराडोना दुवैलाई स्मरण गरिएको थियो।

यस प्रतियोगिताभरि अर्जेन्टिनामा यो गीत निकै लोकप्रिय भइसकेको थियो, तर बुधबार हुने विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्याण्ड आमनेसामने हुने निश्चित भएपछि यसले थप नयाँ र गम्भीर महत्त्व पाएको छ। सन् १९८२ को फकल्याण्ड युद्धपछि, म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ र उत्कृष्ट सोलो गोलको मद्दतले अर्जेन्टिनाले जित हासिल गरेको फुटबल इतिहासकै सबैभन्दा बढी राजनीतिक रूपमा चर्चित सन् १९८६ को खेलको करिब चार दशकपछि, बुधबारको सेमिफाइनल खेललाई अर्जेन्टिना र बेलायत दुवैतर्फ केवल एक खेल मात्र नभई त्योभन्दा बढी अर्थमा हेरिएको छ।

बेलायती अखबार द गार्डियनका अनुसार उक्त गीतका रचनाकार ३० वर्षीय सङ्गीतकार पाब्लो ‘पाल्मितो’ क्विन्टानाले गीतमा ‘माल्भिनास’ शब्द समावेश गर्नुको कारण खुलाउँदै अर्जेन्टिनी टोलीको पछाडि अझै पनि विगतको पीडा बोकेका र आफ्नो इतिहास बिर्सन नचाहने मानिसहरू रहेकाले उनीहरू फुटबल मैदानमै भए पनि जित्न चाहन्छन् भन्ने स्पष्ट पारे।

फकल्याण्ड युद्धका दिग्गज सैनिक एवं पेरोनिस्ट कङ्ग्रेसका सदस्य आल्डो लेइभाका अनुसार सन् १९८६ को त्यो खेल युद्धको पीडा भोगेकाहरूका लागि एउटा ठूलो मलम जस्तै थियो। युद्धमा नियम र रेफ्री नहुने भए पनि फुटबलमा ती सबै हुने उल्लेख गर्दै लेइभाले धेरै अर्जेन्टिनीहरूले उक्त जित र ‘ह्यान्ड अफ गड’ लाई एक प्रकारको न्यायका रूपमा लिएको बताए ।

बेलायतले तोकिएको क्षेत्र बाहिर अर्जेन्टिनी युद्धपोत ‘जेनेरल बेलग्रानो’ लाई डुबाएर नियम विपरीत काम गरेको उनीहरूको मान्यता थियो, जसमा ३२३ जना चालक दलका सदस्यको मृत्यु भएको थियो।

सन् १९८६ को खेलको जीवन्त टिप्पणी (कमेन्ट्री) मार्फत अर्जेन्टिनी लोककथाको हिस्सा बनेका उरुग्वेली पत्रकार भिक्टर ह्युगो मोरालेसले पनि उक्त खेलका सम्झनाहरू पुनः ताजा भइरहेको बताएका छन्। उनका अनुसार तत्कालीन समयमा म्याराडोनाले पनि खेलअघि यो केवल एउटा फुटबल खेल मात्र भएको दाबी गरे तापनि भित्री रूपमा सबैको मनमा माल्भिनास युद्धको भावना जीवितै थियो।

अर्जेन्टिनी सञ्चारमाध्यमहरूले पनि यस खेललाई राष्ट्रिय प्रतीकका रूपमा प्रस्तुत गरिरहेका छन्। ‘क्रोनिका’ टेलिभिजन च्यानलले यस खेललाई “अर्जेन्टिना विरुद्ध बेलायती ‘समुद्री डाकु’ (पाइरेट्स)”, “मेस्सीको ‘एम’ भनेको माल्भिनास” र “डिएगो, हामीलाई हात देऊ” जस्ता शीर्षकहरूका साथ प्रचार गरिरहेको छ।

खेलकुद दैनिक ‘ओले’ ले अर्जेन्टिनाले सन् १९८६ मा जस्तै यस पटक पनि निलो जर्सी लगाएर इङ्गल्याण्डको सामना गर्ने कुरालाई शुभ संकेतका रूपमा व्याख्या गरेको छ। यसका साथै गोदोई क्रुज फुटबल क्लबले सन् २०१४ को विश्वकपमा इङ्गल्याण्डका समर्थकहरूबाट खोसिएका ब्यानरहरू रंगशालामा झुण्ड्याएर उत्तेजना फैलाउने प्रयास गरेको समाचार पनि सार्वजनिक भएका छन्।

यो प्रतिद्वन्द्विता अर्जेन्टिनाका कट्टर दक्षिणपन्थी राष्ट्रपति हाभियर मिलेइले सन् १९८२ को युद्धका बेला अर्जेन्टिनाका मुख्य शत्रु मानिएकी बेलायती पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरको बारम्बार प्रशंसा गरिरहेको राजनीतिक पृष्ठभूमिमा पनि विकसित भइरहेको छ। पत्रकार मोरालेसका अनुसार धेरै अर्जेन्टिनीहरूले इङ्गल्याण्डको पराजयलाई राष्ट्रपति मिलेइप्रतिको राजनीतिक असन्तुष्टिका रूपमा समेत हेर्नेछन्।

अर्जेन्टिनाका पूर्व विदेश मामिला सचिव ड्यानियल फिल्मुसका अनुसार टापुमाथिको दाबी अर्जेन्टिनी राष्ट्रिय पहिचानसँग जोडिएको छ र भूभाग गुमाएको झण्डै २०० वर्ष बितिसक्दा पनि अर्जेन्टिनाले यस दाबीलाई जीवितै राखेको छ। बेलायतमा यो द्वन्द्व राष्ट्रिय स्मृतिमा कम रहे पनि बुधबारको खेलका कारण बेलायती सञ्चारमाध्यमहरूमा पनि फकल्याण्ड युद्ध फेरि मुख्य समाचार बनेको छ।

‘द टेलिग्राफ’ ले अर्जेन्टिनाका विदेशमन्त्री पाब्लो किर्नोको टिप्पणीलाई उद्धृत गर्दै वार्ताको माग गरेको छ। यसैबीच, इङ्गल्याण्डका पूर्व फुटबलर ग्यारी लिनेकरले आफ्नो पोडकास्टमा टापुको अंग्रेजी नामसँगै अर्जेन्टिनी नाम ‘माल्भिनास’ पनि प्रयोग गरेपछि बेलायती सञ्चारमाध्यममा उनको आलोचना भएको छ।

अर्कोतर्फ, ‘द सन’ अखबारले अर्जेन्टिनी खेलाडीहरू राजनीतिभन्दा बाहिर रहेर खेलमा मात्र ध्यान केन्द्रित गर्न प्रयासरत रहेको उल्लेख गर्दै मिडफिल्डर लेआन्द्रो पारेडेसको भनाइ उद्धृत गरेको छ, जसमा उनले देशका लागि यस खेलको महत्त्व बुझेरै यसलाई खेलकै रूपमा उत्कृष्ट ढङ्गले खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *