ब्रोड पिक हिमपहिरो: निर्मल पुर्जासँगै बेपत्ता छन् पर्वतारोहण क्षेत्रका अन्य ठूला नामहरू

डिसी नेपाल
१५ साउन २०८३ १३:३५

काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा गएको विनाशकारी हिमपहिरोमा परी बेपत्ता भएका १० जना आरोहीहरूमा विश्व प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (‘निम्सदाई’) का साथै पर्वतारोहण क्षेत्रका अन्य ठूला नामहरू पनि रहेका छन्। बेपत्ता हुने चर्चित नेपाली पर्वतारोहीहरूमा पुरबहादुर गुरुङ (‘युक्ता’) र किली पेम्बा शेर्पा समेत रहेका छन्।

इन्टरनेसनल फेडेरेसन अफ माउन्टेन गाइड एसोसिएसनबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय गाइड पुरबहादुर गुरुङ (‘युक्ता’) विश्वका सबै १४ वटा अग्ला (८,००० मिटरभन्दा अग्ला) हिमाल आरोहण गर्ने अभियानको अन्तिम चरणमा थिए।

गत वसन्त ऋतुमा मात्रै युक्ताले नेपालका तीन वटा आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण गरेका थिए। सो यामसम्ममा उनले १० पटक सगरमाथा र १२ वटा आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण गरिसकेका थिए।

यसका साथै सन् १९२४ मा सगरमाथा आरोहणका क्रममा जर्ज मेलोरीसँगै बेपत्ता भएका बेलायती आरोही एन्ड्रयु ‘स्यान्डी’ इरभिनको सय वर्ष पुरानो जुत्ता फेला पार्ने ऐतिहासिक टोलीमा पनि युक्ता सहभागी थिए।

ब्रोड पिकमा बेपत्ता भएका अर्का अनुभवी आरोही किली पेम्बा शेर्पाले हालसम्म १५ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन्।

सन् २०२१ मा निर्मल पुर्जासहितका नेपाली आरोहीहरूले जाडो याममा पहिलो पटक विश्वको दोस्रो अग्लो हिमाल ‘के-टु’ को सफल आरोहण गरेर विश्वकीर्तिमान रचेका थिए। किली पेम्बा सो ऐतिहासिक हिउँदे आरोहण टोलीका महत्त्वपूर्ण सदस्य थिए।

यसैगरी, सन् २०१८ मा दुवै खुट्टा गुमाएका चिनियाँ आरोही सिया बोयुलाई सगरमाथाको चुचुरोमा पुर्‍याएर इतिहास रच्ने मुख्य गाइड पनि किली पेम्बा नै थिए। दशौँ वर्षअघि सगरमाथा आरोहणका क्रममा दुवै खुट्टा गुमाएका बोयुलाई किली पेम्बाको नेतृत्वमै सफलता मिलेको थियो।

हाल उद्धार टोलीहरूले ड्रोन, हेलिकप्टर र स्थलगत टोलीमार्फत उनीहरू सवार क्षेत्रमा खोजी कार्य जारी राखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *