कोरोनामाथि प्रेमको जीतः ८४ वर्षे हजुरआमाले बिरामी पतिलाई ५५ दिनमा ४५ प्रेमपत्र लेखिन्

डिसी नेपाल
१८ चैत २०७६ १४:२७

काठमाडौं। जतिसुकै कठिन समस्या किन नआओस् साँचो प्रेमलाई कसैले हराउन सक्दैन । एक वृद्ध दम्पतीको साँचो प्रेमलाई कोरोनाभाइरसले पनि पराजित गर्न सकेन । यो प्रेमकथा चीनमा वृद्ध दम्पतीको हो ।

पति श्वास प्रश्वासको समस्याले अस्पतालको आइसीयूमा थिए । यही बीचमा कोरोनाभाइरसको महामारी फैलियो । उनकी पत्नीले उनीसँग भेट्न पाइनन् किनकि पूरै शहरमा लकडाउन भयो र अस्पतालले पनि कडाइ गर्यो । तर, यस क्रममा उनले आफ्ना पतिलाई लगातार प्रेमपत्र लेखिरहिन् ।

डेलीमेलको रिपोर्ट अनुसार चीनको हाँगझोउ शहरकी ८४ वर्षकी हुआंग गुओकीका ९० वर्षका पति मिस्टर सन विगत १ वर्षदेखि सास फेर्न समस्या र डिमेन्सिया रोगका कारण हांगझोउको अस्पतालमा भर्ना भएका छन् । हुआंग पतिलाई भेट्न हरेक दिन अस्पतालको आइसीयूमा जान्थिन् । उनी आफ्ना बिरामी पतिको सेवा गर्थिन् ।

तर, यही बीचमा कोरोनाभाइरसको प्रकोपका कारण पूरै शहरमा लकडाउन भयो । मानिसहरुलाई घरबाट निस्किन प्रतिबन्ध लगाइयो । अस्पतालले पनि आइसीयूमा भेट्न जान प्रतिबन्ध लगायो ।

अस्पतालमा सबैले यो जोडीलाई हजुरआमा हुआंग र हजुरबुवा सनको नामले चिन्थे । हजुरआमा हुआंग आफैं पनि श्वास प्रश्वास सम्बन्धी बिरामी थिइन् । तर उनको अवस्था गम्भीर नभएकोले अस्पतालले उनलाई साधारण वार्डमा राखेको थियो । हजुरबुवा सनको अवस्था भने गम्भीर भएकोले उनलाई आइसीयूमा राखिएको थियो । अस्पतालले कगाइ गरेपछि हुआंग पनि समस्यामा परिन् । उनलाई आफ्ना पतिलाई आइसीयूमा भेट्न जान प्रतिबन्ध लगाइयो ।

हजुरआमा हुआंग पहिले हरेक दिन दिउँसो २ बजे आइसीयु पुग्थिन् । उनको साथमा हजुरबुवा सनलाई मन पर्ने किवी फल हुन्थ्यो । तर, १ फेब्रुअरीदेखि लकडाउन भएपछि यो क्रम रोकियो । हुआंग लकडाउनपछि पनि प्रत्येक दिन अस्पतालको आइसीयूको ढोकासम्म पुग्थिन् । उनलाई कसैले रोक्दैनथ्यो किनकि उनीहरुको प्रेमकथाबारे पूरै अस्पताल परिचित थियो । उनी हरेक दिन आफ्नो साथमा किवी फल र एउटा चिठी ल्याउँथिन् । उनले फल र चिठी आइसीयुको ढोकामा कुनै नर्सलाई दिएर जान्थिन् ।

हुआंगले यी चिठीमा आफ्ना पतिलाई बलियो बन्न प्ररित गरेकी हुन्थिन् । उनले आफ्ना छोराछोरी, नातीनातिनीहरु सबै ठिक भएको बताउँथिन् । हुआंगले आफ्नो प्रेम दर्शाउनको लागि सबैभन्दा प्रभावकारी पुरानो तरिका अपनाएकी थियन् । सन पनि उनका पत्र हरेक दिन पढ्थे र सम्हालेर राख्थे । गएको बिहीबार लकडाउन हटेपछि हजुरआमा हुआंगले हजुरबुवा सनसँग भेट्न पाइन् । उनले प्रेमपूर्वक किवी फल खुवाइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *